Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

दुई वर्षदेखि पाएका छैनन् छात्रवृत्ति

बुधबार, ०८ मंसिर २०७३

काठमाडौं ८ मंसिर/ सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकलाई उत्प्रेरित गर्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।जिल्लामा रहेका सामुदायिक विद्यालयले पनि छात्रवृत्ति वितरण गर्दै आए पनि जिल्लाको पश्चिमी भेगमा रहेको एक सामुदायिक विद्यालयले भने गएको दुई वर्षयता छात्रवृत्ति वितरण गरेको छैन ।घाँजरीपीपल गाविस–७, संग्रहीमा रहेको कृष्ण माध्यमिक विद्यालयले दुई वर्षयता विद्यार्थीलाई छात्रवृत्ति दिएको छैन । विद्यालय प्रशासनको लापर्बाहीका कारण दुई वर्षदेखि आफूहरूले छात्रवृत्ति पाउन नसकेको विद्यार्थीले बताएका छन् ।

विद्यालय प्रशासन र स्रोत व्यक्तिको लापर्बाहीका कारण जेहेनदार तथा गरिब विद्यार्थीहरू राज्यले दिएको सेवा र सुविधाबाट वञ्चित भएको सो विद्यालयका छात्रा बिमला पुरीले बताइन् । विद्यालय प्रशासनले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ को छात्रवृत्ति वितरण नगरेको विद्यालयका लेखापाल कमल खड्काले स्वीकार गरे । ‘आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ गरी दुई आर्थिक वर्षको छात्रवृत्ति वितरण गर्नुपर्ने समय बितिसकेको छ,’ उनले भने,

‘ढिलै भए पनि छात्रवृत्ति वितरण गर्ने भनेर स्थानीय राजनीतिक दल, विद्यार्थी संगठन, शिक्षक संगठन, गाविस प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको संयुक्त बैठक बोलायौं, तर विद्यालयका प्रधानाध्यापक र स्रोत व्यक्ति विद्यालयमा नै आउनुभएन ।’

छात्रवृत्ति वितरण गर्नका लागि सम्पूर्ण कागजपत्र तयार पारेको बताउँदै लेखापाल खड्काले भने, ‘संयुक्त बैठक बोलाएको दिन प्रअ अशोक शाह र स्रोतव्यक्ति नरभूपाल शाह विद्यालयमा नै आउनुभएन ।’ प्रअ र स्रोतव्यक्तिलाई सम्पर्क गर्न खोज्दा मोबाइल पनि ‘अफ’ गर्नुभएको रहेछ, उनले भने, ‘म त लेखापाल हुँ, कागजपत्र तयार पारेको छु, तर प्रअ र स्रोत व्यक्ति नआएसम्म म केही गर्न सक्दिनँ ।’

विद्यालयका प्रअ र स्रोत व्यक्ति दुवैजना अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रअ शाह र स्रोत व्यक्ति शाह मिलेर विद्यार्थीका लागि राज्यले दिएको छात्रवृत्ति आफैंले लिएर खर्च गरेको आरोप अभिभावकहरूले लगाएका छन् । गरिब तथा जेहेनदार विद्यार्थीका लागि भनेर राज्यले दिएको रकममा अनियमितता भएको अभिभावक गोकुल बुढाको गुनासो छ । ‘छात्रवृत्तिको रकम अनियमितता गर्ने प्रधानाध्यापक र स्रोत व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति दिनुहुँदैन,’ अर्का अभिभावक हिरम बस्नेतले बताए । सो विद्यालयमा हाल ५ सय १५ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३ सय विद्यार्थी छात्रवृत्ति पाउन योग्य छन् ।
राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया