काठमाडौं - समाजका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरु मार्फत् विद्यार्थीको ज्ञानको दायरा फराकिलो बनाउने अभियान शुरु भएको छ । कक्षाकोठामा एक दिन नाम दिईएको उक्त अभियान अन्र्तगत विभिन्न पेशा र क्षेत्रमा कृयाशिल ब्यक्तिहरुले सोमबार र मंगलबार ललितपुरका विभिन्न ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई पढाएका छन् । यसैगरी सिन्धुपाल्चोकका विभिन्न विद्यालयमा बुधबार र विहीबार यस्तै कक्षा सञ्चालन हुदैं छ ।
सामुदायिक शिक्षाको सुधामा कृयाशिल संस्था टिच फर नेपालको संयोजनमा अभियान शुरु भएको हो ।
ग्रामिण भेगका विद्यार्थीमा भएको कम ज्ञानको दायरलाई विभिन्न पेशा र क्षेत्रका ब्यक्तिहरुको अनुभव मार्फत् थप पराकिलो बनाउन अभियान शुरु गरेको टिच फर नेपालका सहसंस्थापक शिशिर खनालले बताए ।
'यस्ता राष्ट्रिय व्यक्तित्वहरुले एक दिन कक्षा कोठामा नै पुगेर विद्यार्थीसँग अन्तरक्रिया गरिदिंदा सीमित दायरामा हुर्किरहेका विद्यार्थीलाई निकै ठूलो प्रेरणा मिल्न सक्छ' उनले भने, 'हाम्रो आधरभूत विश्वास भनेको शिक्षा पाठ्यपुस्तकमा मात्रै सिमित रहनु हुँदैन र एक दिन, एक पल, एक व्यक्ति र एउटा सोचले विद्यार्थीको जिवनमा निकै ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने हो ।'
अभियान अन्र्तगत मंगलबार समाजसेवी अनुराधा कोइराला तथा नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजले ललितपुरका स्कूलमा कक्षा लिए । टेप्लिजले चापागाउँस्थित ज्योतिदय सहकारी विद्यालयमा खुल्ला अनलाइन पाठ्यक्रमबारे कक्षा लिएकी थिईन् । सोही स्कूलमा राजदूतसँगै द्वारिकाज होटलकी संचालक अम्बिका श्रेष्ठले पनि आफ्नोे संघर्ष र सफल हुने सूत्रबारे कक्षा लिईन् ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल, कैलाश विकास बैँकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गिरी र नटराज ट्राभल्स एण्ड टुर्सका निर्देशक शिखर प्रसाइ पनि कक्षामा पुगे । रातो बंगला स्कुलकी निर्देशक शान्ता दीक्षित, र प्रिन्सिपल मिलन दीक्षित, पाइलट विजय लामा तथा पत्रकार कश्मस विश्वकर्माले विभिन्न विद्यालयहरूमा कक्षा लिए ।
ललितपुरका जिल्ला शिक्षा अधिकारी दिल नाथ पुरी पनि उक्त अभियानमा सहभागी थिए । उनीहरु सबैले विद्यार्थीलाई सफल व्यक्ति बन्नका लागि धेरै मेहनत गर्नुपर्ने र आफूमा आत्मविश्वास जगाउन सक्नु पर्ने विषयमा जोड दिएका थिए ।
यसैगरी सोमबार पूर्व सचिव कृष्ण ज्ञवाली, वातावरण ईञ्जिनियर भुषण तुलाधार, पत्रकार युवराज घिमिरे, दिल भुषण पाठक, किरण नेपाल लगायतले दक्षिण ललितपुरका विद्यालयमा कक्षा लिए । उक्त अवसरमा विद्याथीले विभिन्न जिज्ञासा राखेका थिए ।
बुधबार र बिहिबार सिन्धुपाल्चोकका विभिन्न विद्यालयमा यसैगरी कक्षा सञ्चालन हुने छ । सांसदहरु अग्नी सापकोटा तथा शेर ब तामाङ, प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, रिपब्लिका दैनिकका सम्पादक सुबास घिमिरे, एडुखबरका सम्पादक श्रीधर पौडेल, हेलम्बु जिविका उपार्जनका संस्थापक जिमि लामा, मौसम शाक्य, क्लाउ्ड फ्याक्ट्रिका कर्मठ डङगोल, शक्ति समूहकी सुनिता दनुवार, लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरु कक्षा कोठामा पुग्ने छन् ।
कक्षामा पुगेपछि अतिथि र विद्यार्थी बीच अन्तरक्रिया पनि हुन्छ जहाँ अतिथिहरुले विद्यार्थीका विभिन्न जिज्ञासा मेटाउने छन् । यसका साथ साथै टिच फर नेपाल फेलो र विद्यालय परिवारले पनि उनीहरुसँग अन्तरक्रिया गर्ने छन् ।
आफ्नो गाउँ र वरिपरिको परिवेश बाहेक धेरै ज्ञान नहुँदा ग्रामिण भेगका धेरैजसो विद्यार्थीको जीवनको आंकाक्षा पनि सानो परिवेशमा सिमित देखिएको कार्यक्रमका संयोजक नवाङ शेर्पाको अनुभव छ ।
'धेरैले खाडी मुलुकमा काम गर्न जाने, खलासी, ड्राइभर बन्ने सपना देख्छन्' उनले भने, 'नेपालको विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहनु भएका व्यक्तिवहरुलाई आफ्नै आगाडि पाउँदा, विद्यार्थीलाई निकै उत्प्रेरक हुने ठानेर अभियान शुरु गरेका हौं ।'
टिच फर नेपालले ललितपुर, सिन्धुपाल्चोक र धनुषाका गरी ३६ वटा विद्यालयमा आफ्ना स्वयंसेवक मार्फत् पठनपाठन गराउँदै आएको छ । २०७० सालमा ललितपुरका १६ विद्यालयमा ३३ जना प्रज्ञार्थी फेलोबाट उसले र्काक्रम शुरु गरेको हो । अभियानमा अहिले ३ जिल्लामा ९५ जना अध्यापनरत छन् । यसबाट प्रत्यक्ष रूपमा ७ हजार विद्यार्थी लाभांवित भएको टिच फर नेपालले जनाएको छ ।
स्नातक गरेका युवाहरु मध्ये छनौटमा परेका त्यस्ता युवाले विद्यालयमा दुई वर्ष पढाउनु पर्छ । उनीहरु कक्षाकोठामा मात्र सीमित नभएर विद्यालय र समुदाय सशक्तिकरणका काममा पनि सहभागि हुदैं आएका छन् ।
प्रतिक्रिया