Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालय अनुगमनमा स्रोत व्यक्ति नै छड्केमा

मंगलबार, ०७ मंसिर २०७३

काठमाडौं ७ मंसिर / जिल्ला शिक्षा कार्यालयले सोमबार सदरमुकाम आसपास गरेको विद्यालय अनुगमनमा दुई स्रोत व्यक्ति, ६ शिक्षक र एक कार्यालय सहयोगी छडकेमा परेका छन् ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललगायत टोलीले गरेको अनुगमनमा विद्योदय उमावि स्रोत केन्द्रका स्रोतव्यक्ति पञ्चकुमार राई, सरस्वती उच्च मावि स्रोत केन्द्रका स्रोत व्यक्ति झनकबहादुर थापा छडकेमा परेका हुन् । उनीहरू स्रोत केन्द्र अन्तर्गतका विद्यालयहरूको निरीक्षणमा नखटिएको पाइएकाले स्पष्टीकरण सोधिएको शिक्षा अधिकारी नेपालले बताए ।
त्यसैगरी सोमबारकै विद्यालय अनुगमनमाा सदरमुकामस्थित हिमालय आधारभूत विद्यालयका ६ शिक्षक र एक कार्यालय सहयोगी छडकेमा परेका छन् । बिहान साढे १० बजे अनुगमन टोली पुग्दा शान्ता थापा, संगीता राई, सीता राई, रत्नबहादुर खत्री, अञ्जना थुलुङ र कार्यालय सहयोगी पूर्णमाया दाहाल नभेटिएपछि स्पष्टीकरण सोधिएको छ । जनता आधारभूत विद्यालयका शिक्षक लक्ष्मीकुमार राई मादक पदार्थ सेवन गरेर विद्यालय आएपछि उनलाई पनि स्पष्टीकरण सोधिएको नेपालले जनाए । ‘चित्त बुझ्दो जवाफ नदिए कारबाहीको प्रक्रिया अघि बढाइन्छ,’ उनले भने, ‘सदरमुकामकै विद्यालय यस्तो भएपछि दुर्गम क्षेत्रमा कस्तो अवस्था होला ?’
शैक्षिक अवस्था कमजोर देखिएको खोटाङमा गुणस्तर सुधारका लागि अभियान सुरु गरिएको हो । जिल्लास्थित शिक्षकका पेसागत संघ–संगठन तथा राजनीतिक दलका जिल्लास्थित शीर्ष नेताहरूसँगको छलफलपछि गुणस्तरीय शिक्षाका लागि विभिन्न प्रतिबद्धता समेत आएका छन् ।
जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूसँग कात्तिक २९ गते बैठक भएको थियो । विद्यालयलाई शान्तिक्षेत्र कार्यान्वयन गर्न विद्यालय र विद्यार्थीहरूलाई राजनीतिक प्रकृतिका बन्द, हडताल, जुलुसजस्ता आन्दोलनहरूमा सहभागी नगराउने प्रतिबद्धता आएको छ । विद्यालयलाई कुनै पनि राजनीतिक आन्दोलनबाट प्रभावित नगर्ने, शिक्षक र विद्यालयहरूलाई दलीय राजनीतिको प्रत्यक्ष प्रभावबाट टाढा राख्ने, शिक्षासम्बन्धी ऐन, नियमावली लगायत सम्पूर्ण कानुनहरू, निर्देशिका र निर्देशनहरूको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता दल लगायतले जनाएका छन् ।
खोटाङबाट डम्बरसिंह राईले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया