Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

विद्यालय पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने

मंगलबार, ०७ मंसिर २०७३

काठमाडौं ७ मंसिर / गत वर्षको विनाशकारी भूकम्पको मुख्य केन्द्रविन्दु गोरखा जिल्लाका क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि झन्डै तीन वर्ष लाग्ने भएको छ ।  भूकम्पबाट भएको क्षतिको तुलनामा विद्यालय पुनःनिर्माण कार्य निकै सुस्त गतिमा अघि बढेकाले तीन वर्षपछि मात्र सबै विद्यार्थी सुरक्षित भवनभित्र बसेर अध्ययन गर्ने अवस्था आउने भएको हो ।

गोरखाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले हालसम्म ६६ वटा विद्यालयको निर्माण कार्य सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिँदै अझै हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा अध्ययन गर्न बाध्य भएको बताउनुभयो ।  
जिल्लामा ४९९ वटा सामुदायिक विद्यालय रहेकोमा अधिकांश विद्यालयलाई भूकम्पले क्षति पु¥याएको थियो ।  क्षतिग्रस्त विद्यालयमध्ये हालसम्म १५० वटा विद्यालय बन्ने सुनिश्ति भएको छ ।  विभिन्न दातृ निकायका साथै सरकारी अनुदानका आधारमा ती विद्यालय बन्ने सुनिश्चतता भएको उल्लेख गर्दै उहाँले ती भवनको निर्माण सम्पन्न गर्न झन्डै एक वर्ष लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।  
जिल्लामा क्षतिग्रस्त २५० वटा सामुदायिक विद्यालय निर्माणका लागि हालसम्म कुनै खाले स्रोतको खोजी हुन सकेको छैन ।  क्षतिग्रस्त सबै विद्यालयको पुनःनिर्माणका लागि डेढ अर्ब रुपियाँ लाग्ने अनुमान छ ।  यस वर्ष ७० करोड रूपियाँसम्म निकासा हुने आशा गरिएको जिशिअ सुवेदीले बताउनुभयो ।  
विद्यालयको भौतिक संरचना निर्माणमा विशेष सावधानी अपनाइएको छ ।  आगामी ५० वर्षका लागि हुने गरी पक्की संरचनाको मोडल तयार पारी त्यसकै आधारमा विद्यालयको निर्माण कार्य प्रारम्भ गरिएको जनाइएको छ ।  तीन कक्षासम्म सञ्चालन भएको विद्यालयमा ६ वटा कोठा, पाँचसम्म सञ्चालित विद्यालयका लागि ८ कोठा, आठ कक्षासम्म सञ्चालन गरिएको विद्यालयमा १६ वटा कोठा र १२ कक्षा सम्म सञ्चालन भएको कोठामा २२ वटासम्म कोठा निर्माण गर्ने खालको मोडल तयार गरिएको छ ।
विद्यार्थीलाई बालमैत्री र प्रविधिमैत्री कक्षा कोठामा राखेर गुणस्तरीय शिक्षा दिनुपर्ने दायित्व रहेको भन्दै उहाँले त्यसलाई पूरा गरिने जनाउनुभयो ।  विद्यालयमा एक पुस्तकालय र सबै कक्षा कोठाभित्र मिनी पुस्तकालयको अवधारणाअनुसार काम अघि बढाउन योजना जिल्लामा अगाडि बढाइएको छ ।  
यसैबीच, जिशिअ सुवेदीले जिल्लाको नामजुङ्–१ रातमाटेमा रहेको कालिका अमरज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्नुहुँदै समयको मागअनुसार पठनपाठन अगाडि बढाउन शिक्षकहरूलाई आग्रह समेत गर्नुभयो ।  
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकले विशेष तयारी गरेर कक्षामा आउनुपर्ने उल्लेख गर्दै उहाँले जिल्लामा सञ्चालित एक शिक्षक एक झोला अभियानले सकारात्मक सन्देश दिएको बताउनुभयो ।  उहाँका अनुसार जिल्लाका सबै शिक्षकलाई विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी झोलाको वितरण गरिएको छ ।  उक्त झोलामा शिक्षकले शिक्षण सामग्री राखेर तयारीका साथ कक्षामा जानु पर्ने आचारसंहिता बनाई त्यसलाई लागू समेत गरिएको छ ।
‘विद्यालयका प्रधानअध्यापकसँग कार्यसम्पादन सम्झौता समेत गरिएको छ यसले गुणस्तरमा केही सुधार पुग्छ भन्नेमा मैले विश्वास लिएको छु’ जिशिअ सुवेदीले बताउनुभयो ।  
१८ लाख रुपियाँको लागतमा पक्की भवन निर्माण गरिएको विद्यालय भवनको निर्माणसँगै दैनिक पठनपाठनका लागि सहज भएको अमरज्योति प्राविका प्रअ तिलकप्रसाद काप्रीले बताउनुभयो ।  विद्यालयमा हाल ६६ जना विद्यार्थी अध्ययनरत रहेको र अधिकांश विद्यार्थी दलित तथा माझी समुदायका रहेको जनाइएको छ ।
शेषकान्त पण्डितले गोरखापत्रमा लेखेको खबर ।

प्रतिक्रिया