स्याङ्जा - दरौंस्थित दरौं माध्यामिक विद्यालयका प्रधानाध्यापकले सोही विद्यालयका एक प्राथमिक तहका शिक्षकलाई हातपात गरेका छन् । प्रअ गुरुप्रसाद पौडेलले प्रावि शिक्षक महेन्द्रप्रसाद लामिछानेलाई आईतबार दिउँसो विद्यालयमै हातपात गरेका हुन् । प्रअ पौडेलले विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनीधिका रुपमा रहेका लामिछानेमाथि हातपात गरेको प्रत्यक्षदर्शी शिक्षकहरुले बताएका छन् ।
दरौं शिक्षा मन्त्री धनिराम पौडेलको पुर्ख्यौली गाउँ हो । उनी त्यही जन्मेका हुन् । पौडेलको परिवार दरौंबाट चितवनको माडीमा बसाईसराई गरेको थियो । उनी माडीबाटै समानुपातिक कोटामा सांसद भएका हुन् ।
विद्यालयमा भएको उक्त घटनाका प्रत्यक्षदर्शी शिक्षकहरुका अनुसार शिक्षकको एक टोली प्रअलाई भेट्न गएको बेलामा शिक्षकमाथि आक्रमण गरेका थिए । स्रोतका अनुसार शिक्षक लामिछानेले सो विद्यालयमा कार्यरत अस्थायी, करार र निजी शिक्षकहरुलाई पनि पोशाक भत्ता दिनुपर्ने विषयमा छलफल गर्न जाँदा उक्त घटना भएको हो ।
‘विद्यालयमा कार्यरत शिक्षकहरुलाई पोशाक भत्ता दिनुपर्छ भनेर विद्यालय ब्यवस्थापन समितिको बैठकमा कुरा राख्दा हेडसर बाहेक सबै पदाधिकारी सहमत भएका थिए, ’ शिक्षक लामिछानेले भने,‘ उक्त कुरा विद्यालयका अन्य शिक्षकले थाहा पाएपछि उनीहरुसँगै गएको बेला एकाएक हेडसरले पिट्नु भो ।’
शिक्षक लामिछानेका अनुसार प्रअ पौडेलले उनलाई शिक्षकहरुबीच गुटबन्दी गर्ने ? राजनीति गर्ने ? भन्दै थप्पड लगाएका थिए । प्रअले कुट्दा आफ्नो कानमा असर पुगेको पीडित शिक्षक लामिछानेले बताए । ‘हेड सरले मलाई कुट्दा मेरो कान सुन्निएको छ, अहिले भतभती पोलिरहेको छ ।’ आईतबार साँझ शिक्षक लामिछानेले एडुखबरसँग व्यथा पोखे ।
घटनाका प्रत्यक्षदर्शी एवं पीडित शिक्षकले उक्त कुरा बताए पनि प्रअ पौडेलले भने हात हालाहाल नभएर भनाभनमात्र भएको जिकिर गरेका छन् । सामान्य घटनालाई लम्बेतान गरिएको उनको आरोप छ ।
‘स्कुलका एकजना शिक्षकले अस्थायी शिक्षकलाई पनि पोशाक भत्ता दिनुपर्छ भनेर समितिमा कुरा राखेका थिए, उनको कुरा अस्वीकृत भयो, कुरा अस्वीकृत भएपछि शिक्षकहरुको प्यानलाइज्ड गरेर, लिनुपर्ने कक्षा नलिइकन मकहाँ आउँदा बादविवाद भएको हो ।’ प्रअले भने ।
उनले हात हालाहाल नभएर भनाभनमात्र भएको दोहो¥याउँदै शिक्षकहरु कक्षामा नगइ कुराकानीमा व्यस्त भएको आफूले थाहापाए पछि भनाभन भएको बताए । ‘भनाभनमात्र भएको हो, हात हालाहाल भएको होइन ।’ उनको भनाइ छ ।
प्रअले भनाभन मात्र भएको बताए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद अर्यालले पनि हातपात भएको आफूले थाहा पाएको बताए । ‘शिक्षकहरुको विषयमा त्यस्तो कुरा आएपछि म गएर बुझ्दा प्रअले मैले मेरो विद्यार्थी भएको नाताले हात लगाएको भनेर भनेका छन् ।’ उनले भने । उनका अनुसार शिक्षक लामिछाने प्रअ पौडेलका विद्यार्थी पनि हुन् ।
प्रअले आफू समक्ष आवेशमा आएर थप्पड हानेको बताएकाले समितिको बैठक राखेर उक्त विवाद सल्टाउन सकिने भन्दै अध्यक्ष अर्यालले पीडित शिक्षकलाई पनि सम्झाएको बताए ।
उनले प्रअ र शिक्षकको उक्त द्वन्द्वले विद्यालयको शैक्षिक वातावरण बिग्रिएको बताउँदै यथार्थ घटनाको छानविन गर्ने पनि जनाए । उनका अनुसार अहिले सो विद्यालयका ४ सय विद्यार्थी अध्ययन गरिरहेका छन् ।
प्रतिक्रिया