Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

कक्षा ८, ९ र १० का विद्यार्थी मिलेर बनाए १३ उपयोगी उपकरण

शनिबार, ०४ मंसिर २०७३

काठमाडौं ४ मंसिर / सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न उपयोगी उपकरणहरू बनाएका छन् । लेलेस्थित बुद्ध माविका कक्षा ८, ९ र १० का विद्यार्थी मिलेर विभिन्न १३ उपयोगी उपकरण बनाएका हुन् ।

उनीहरूले दुई दिन लगाएर लोडसेडिङमा उपयोग हुने जेनेरेटर, चार्जर, टर्च लाइटदेखि लिएर प्रोजेक्टर, पंखा, भ्याकुम क्लिनरजस्ता उपकरण बनाएका हुन् । विद्यार्थीले शिक्षकहरूको सहयोगमा यी सामग्री बनाएका हुन् । विज्ञानका मात्र नभई गणितका ‘थ्योरी’ को पनि प्रयोगात्मक परीक्षण गरेका छन् । उनीहरूले पुल, घडी, पिरामिड, राष्ट्रिय झन्डालगायत कागजका वस्तुसमेत बनाएका छन् । विद्यालयका शिक्षकहरूका अनुसार सुरुमा विद्यार्थीहरूले यतिको गर्लान् भन्ने लागेको थिएन । गणितका शिक्षक सुशम राजभण्डारीले भने, ‘विद्यार्थीको ज्ञान, सीप विकास गर्ने योजनाअन्तर्गत सानो कार्यक्रम मात्र आयोजना गरेका थियौं । तर, विद्यार्थीहरूले गहिरो चासो दिए । दिनरात लागे । खेर गएका सामग्री प्रयोग गरी विभिन्न उपयोगी उपकरण बनाएका हुन् ।’ उनका अनुसार विद्यार्थीले बनाएका कागजका मयूर, राज हाँस, ड्रागन, पोस्टकार्ड, कलात्मक भाँडो, विभिन्न प्रजातिका फूल बिक्रीबाट ९ हजार रुपैयाँ आम्दानीसमेत भएको छ ।
कक्षा ९ र १० का विद्यार्थीले परफयुमको बट्टाको टुप्पो काटेर पंखा बनाएका छन् । पंखामा आधा काटिएको पेप्सीको खाली बोत्तल, स्विच र ब्याट्रीको मोटर प्रयोग गरिएको छ । विद्यार्थीहरूले नमुना भ्याकुम क्लिनर पनि बनाएका छन् । ‘क्लिनर बनाउन मोटरको ८० रुपैयाँ, स्विचको ३० र ब्याट्रीको ५० रुपैयाँ खर्च गरे पुग्छ,’ कक्षा १० का उद्धव नगरकोटीले बताए । विद्यालयका शिक्षिका अस्मिता भुसालले विद्यार्थीहरूलाई विज्ञानप्रति रुचि भएको बताइन् ।
विद्यार्थीको अर्को समूहले जनेरेटर बनाएको विज्ञानका शिक्षक अरुण महतले बताए । अर्को समूहले साँचोमा तामाको जलप लगाएर देखाएका छन् । सुनको जलप पनि यसरी नै लगाउने सकिने कक्षा ९ की सरस्वती नगरकोटीले बताइन् । कक्षा ८ का विद्यार्थीले भने कागजको बक्सका विभिन्न सामग्री बनाएका छन् । कसैले आइग्लास प्रयोग गरी प्रोजेक्टर बनाएको कार्यक्रम व्यवस्थापक उमेश आचार्यले बताए ।

प्रशान्त मालीले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया