Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

यसरी पो चलेको रहेछ संस्कृत शिक्षा

शनिबार, ०४ मंसिर २०७३

काठमाडौं ४ मंसिर / यहाँस्थित चार धार्मिक आश्रमले पाँच सयभन्दा बढी विद्यार्थीलाई संस्कृत शिक्षा पढाउँदै आएकामा सरकारी दरबन्दीका शिक्षक र प्राध्यापक नहुँदा समस्या निम्तिएको छ । हालसम्म आश्रमले दान–मुठीकै भरमा पढाइ चलाउँदै आएका छन् ।

महेश, गलेश्वर र हरिहर आश्रमका संस्कृत वेद विद्याश्रम र पाठशालामा संस्कृत शिक्षा पढाइन्छ । महिलाका लागि छुट्टै व्यवस्थापन भएको इन्दिरा सन्यास आश्रम छ । गलेश्वर आश्रममा १ सय ५० बटुकले मावि तहसम्म संस्कृत विषय पढ्छन् । स्नातक तहसम्म सञ्चालित हरिहर आश्रममा दुई सय जना पढ्छन् भने स्नातकोत्तरसम्म पढाइने महेश आश्रममा २ सय ५० विद्यार्थी छन् ।
 आश्रम सञ्चालकले दान–मुठी खोजेर सबैलाई खाने–बस्ने व्यवस्था मिलाएका छन् । गलेश्वर आश्रम शिक्षा विभाग र अन्य दुई आश्रम नेपाल संस्कृत विश्वविद्यालयबाट स्वीकृति प्राप्त हुन् । ‘सरकारी निकायमा पटकपटक दरबन्दी र अन्य व्यवस्थाका लागि माग गरिरहेका छौं तर सहयोग पाइएन,’ प्राचार्य केशवानन्दले भने, ‘खाने–बस्ने व्यवस्था हामीले गरेका छौं, कम्तीमा एक–दुई शिक्षकको दरबन्दी मिलाइदिए हुन्थ्यो ।’ आश्रम सञ्चालक रामानन्द गिरीले संकलन गरेको दान–मुठीबाट अहिले २५ जना प्राध्यापक तथा शिक्षकको व्यवस्थापन भइरहेको छ ।
उत्तरमध्यमामा करिब दुई सय जना विद्यार्थी छन् भने स्नातक सरहको शास्त्रीमा ४५ र स्नातकोत्तर तहको आचार्यमा १० जनाले छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । आश्रमकै अगुवाइमा विद्युतीय पुस्तकालय, प्राचीन ग्रन्थ संरक्षण र सर्वसाधारणको पहुँच विस्तारको काम पनि भइरहेको छ । अग्रिम जानकारी दिएर गएका समूह र एक–दुई जना पुगेका जोसुकैलाई सित्तैमा खाने–बस्ने व्यवस्था गरिएको क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताए । ‘अहिले विश्वविद्यालय अनुदान आयोगले दुई जना सहप्राध्यापक काजमा खटाएको छ । उनीहरूलाई स्थायी रूपमा खटाउन माग गरेका छौं,’ उनले भने, ‘अत्यावश्यक वा स्नातकोत्तर तहका लागि प्राध्यापक पठाइदिए अन्य व्यवस्थापन सहज रूपमा गर्न सक्छौं ।’ धार्मिक विद्यालयको संरक्षण गर्न राज्य उदासीन भएको उनले गुनासो गरे ।
ज्ञानानन्द सरस्वतीको अगुवाइमा सञ्चालित हरिहर आश्रममा पनि यही समस्या छ । ‘भौतिक पूर्वाधार दान–मुठीबाटै बनाएर आस्थाको केन्द्र बनाएका छौं,’ क्याम्पसका पूर्वप्रमुख टंकप्रसाद भुसालले भने, ‘देवघाट क्षेत्र विकास समितिले पहल नगर्दा विद्याश्रम समस्यामा छन् ।’ बृहत् विकासका लागि गठित विकास समिति राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्र भएको आश्रमका अगुवाको आरोप छ । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीको अगुवाइमा संकलित रकमले पढाइ भइरहेको छ ।
संस्कृत शिक्षामार्फत सरकारी तथा निजी क्षेत्रमा काम गर्न सक्ने दक्ष नागरिक उत्पादन भइरहेको भुसालले दाबी गरे । ‘संस्कृत पढेको भन्दैमा अन्यत्र कामै लाग्दैन भन्ने सोचाइ राजनीतिक अगुवामा परेको होला,’ उनले भने, ‘एक पटक आएर यहाँको वस्तुस्थिति बुझेपछि मात्र दरबन्दी दिए पनि हुन्थ्यो ।’ राजनीतिक कार्यक्रम र औपचारिक पूरा गर्ने धार्मिक कार्यमा आए पनि राजनीतिक नेतृत्वले आश्रम सञ्चालन प्रक्रियाबारे बुझ्न नखोजेको उनले बताए ।
प्रकाश बरालले तनहुँबाट कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया