Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षक अभावले विद्यालयको अवस्था नाजुक

शुक्रबार, ०३ मंसिर २०७३

काठमाडौं ३ मंसिर / गाविसकै एक्लो मावि । सबै कक्षामा विद्यार्थी संख्या पनि उल्लेखनीय छ । तर, शिक्षक अभावले विद्यालयको अवस्था नाजुक बनेको छ ।

न्वाली गाविसको न्वाली मावि दोलीमा दरबन्दीअनुसार शिक्षक नहुँदा विद्यालय सञ्चालनमा समस्या परेको हो । ५ दरबन्दीका भरमा मावि सञ्चालन हुँदै आएको छ । प्राथमिक तहमा ३ जना दरबन्दीका शिक्षक छन् । निमाविमा २ राहत शिक्षक छन् । माविमा ३ जना निजी स्रोतका शिक्षक छन् ।
दरबन्दी, राहत र निजीका ८ शिक्षकले मावि धानिएको छ । २ जना बालविकास केन्द्रका सहजकर्ताले १० कक्षा धानेका छन् । उनीहरूमध्ये एक जना अनुपस्थित भए कक्षा सञ्चालन गर्न समस्या हुँदै आएको छ ।
विद्यालयको आम्दानीको स्रोत नहुँदा माध्यमिक तहका ३ निजी स्रोतका शिक्षकको खर्च धान्न मुस्किल भएको छ । उनीहरूलाई तलब खुवाउन समस्या हुँदै आएको छ । वैकल्पिक स्रोत नजुटदा निजी शिक्षकलाई वर्ष दिनको तलब दिन नसकेको विद्यालयले जनाएको छ । ‘हरेक महिना निजी शिक्षकलाई तलब कहाँबाट दिने चिन्ता हुन्छ,’ विद्यालयका प्रअ देवसिंह बिष्टले भने, ‘सरकारी मापदण्डअनुसार कहिल्यै सुविधा दिन सकेका छैनौं ।’
शिक्षा कार्यालयबाट आउने प्रतिविद्यार्थी अनुदान (पीसीएफ) ले मुस्किलले एक जना शिक्षकको तलब धानिँदै आएको छ । गाविसको सहयोग र विद्यालयको भौतिक निर्माणका कामबाट बजेट जोगाएर तलब भुक्तानी गर्ने बाध्यता रहेको बिष्टले बताए । गविसले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको थियो । गत वर्ष गाउँमा स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय हुँदा सहयोग नआएको स्थानीयले बताए ।
विद्यालय र अभिभावकहरूको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयमा खानेपानी, शौचालय र खेलमैदानको अवस्थासमेत नाजुक छ । ४ वटा शौचालय भए पनि प्रयोगमा छैनन् । खानेपानीको व्यवस्था नहुँदा शौचालय प्रयोग हुन नसकेको हो । अधिकांश अभिभावक आर्थिक अवस्था कमजोर भएका र दलित समुदायका छन् । चन्दा र सहयोग गर्न सक्ने अभिभावकको अवस्था नहुँदा झन् समस्या भएको व्यवस्थापन समिति अध्यक्ष दौतलसिंह कार्कीले बताए ।
छिमेकी गाउँको श्रीकेदार मावि जान टाढा हुँदा छोराछोरीले निमाविपछि विद्यालय छाड्न थालेपछि गाउँमै विद्यालय सञ्चालन गरेका हुन् । शिक्षा कार्यालयमा हरेक वर्ष शिक्षक माग गर्दै आए पनि केही नभएको अभिभावकहरूको गुनासो छ ।

खगेन्द्र अवस्थीले बैतडीबाट विद्यालयमा दरबन्दी न्यून शिर्षकमा कान्तिपुरमा लेखेको खबर ।

 

 

 

प्रतिक्रिया