Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

सिटीइभिटीका पदाधिकारी ३ घण्टा थुनिए, सम्बन्धन नदिने सहमती

विहीबार, ०२ मंसिर २०७३

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) ले तत्कालै कुनै पनि कलेजलाई नयाँ कार्यक्रमको सम्बन्धन नदिने भएको छ ।

शिक्षामन्त्री धनिराम पौडेलेको दबाबमा शैक्षिक सत्रको बिचमै विभिन्न कलेजहरुलाई सम्बन्धन दिने तयारी गरेको भन्दै विरोधमा उत्रिएको विद्यार्थी संगठनसँग सहमति भएपछि तत्कालै सम्बन्धन नदिने तय भएको हो । स्रोतका अनुसार विभिन्न कलेज तथा संस्थाहरुलाई स्वास्थ्यतर्फको एचए, फिजियोथेरापी, ल्याब, फार्मेसी, रेडियोग्राफी, डेण्टललगायतका विषयको सम्बन्धन दिने तयारी थियो ।  सोही सम्बन्धनको विरुद्धमा गत कात्तिक ३० गते तालाबन्दी गरी आन्दोलनमा उत्रिएको नेकपा एमाले निकट विद्यार्थी संगठन सिटीइभिटी राष्ट्रिय कमिटीसँग सहमति भएको हो ।

विद्यार्थी संगठन र सिटीइभिटीको स्तरनिर्धारण महाशाखाका निर्देशक रामसिँह धामी तथा स्तर अधिकृत ठाकुर पराजुलीको टोली र विद्यार्थीविच पाँचवुंदे सहमति भएको छ ।

यो शैक्षिक सत्र र पुनः प्रवेश परीक्षा नलिने सर्तमा सम्बन्धनको प्रक्रिया अगाडि बढाउने, सदस्य सचिव नियुक्तीका लागि शिक्षा मन्त्रालय समझ प्रक्रिया अघि बढाउन अनुरोध गर्ने, कलेजहरुको गुणस्तर कायम राख्न मनिटरिङ गर्दा सम्बन्धित कलेजका विद्यार्थीसँग छलफल गर्ने, सरकारी विद्यालयको नाममा स्वीकृति लिएका विद्यालयहरुले सिटीइभिटीको आंगिक कलेजहरुमा रहेको शुल्कमा अध्ययन गराउनको लागि पहल गर्ने सहमति भएको छ ।

सहमति पत्रमा अनेरास्ववियु सिटीइभिटी राष्ट्रिय कमिटीका अध्यक्ष आकाश घर्तीमगर र सिटीइभिटीका तर्फबाट निर्देशक रामसिहँ धामीले हस्ताक्षर गरेका छन् ।

यसैबीच विद्यार्थीसँग वार्ता चलिरहेको बेला सीटीईभीटीका कर्मचारी संघ संगठनले उपाध्यक्ष, निमित्त सदस्य सचिव सहित केही  निर्देशकहरुलाई कोठामा थुनेका थिए । कांग्रेस, एमाले र माओवादी निकट कर्मचारी सघसंगठनले अपरान्ह प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई)को  बैठक कक्षमा राखिएको बैठकमै सीटीईभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, निमित्त सदस्य सचिव रमेश बखती, निर्देशकहरु विनय मिश्र, पुष्प वाग्ले, दिपक पौडेल, टेकबहादुर मल्ल लगायतलाई थुनेका हुन् ।

मन्त्रालयमा राखिएको बैठकमा जान नदिनका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म कर्मचारीहरुले तिनीहरुलाई थुनेको बताएका छन् ।

प्रतिक्रिया