Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

तीन महिनापछि मनिपाल सहज

विहीबार, ०२ मंसिर २०७३

काठमाडौं २ मंसिर / झन्डै तीन महिनादेखि एमबीबीएसको पढाइ ठप्प बनेको मनिपाल मेडिकल कलेजमा बिहीबारदेखि पढाइ सुचारु हुने भएको छ ।

अभिभावकको पहलमा आन्दोलनरत पक्ष र कलेज प्रशासन बीच बिहीबार भएको छलफलले विभिन्न ४ बुँदे सहमतिसाथ पढाइ निरन्तरताको निर्णय गरेको हो । तलब वृद्धि लगायत माग राखेर प्राध्यापक, शिक्षकले गत भदौ ६ गतेदेखि पढाइ ठप्प पारेका थिए । यसबाट करिब ३ सय विद्यार्थी क्लिनिक प्रयोगात्मक र सैद्धान्तिक पढाइबाट वञ्चित थिए । उनीहरूमा सेमेस्टरै गुम्ने त्रास थियो ।
समयसापेक्षरूपमा तलब वृद्धि गर्न कलेज व्यवस्थापन सहमत भएको छ । साथै करार शिक्षकको स्थायीका लागि प्रचलित कानुन, शिक्षा मन्त्रालय, काठमाडांै विश्वविद्यालय र श्रम विभागसँग राय सुझाव लिएर २ महिनाभित्र अघि बढ्ने, सट्टा बिदाको हकमा विश्वविद्यालय र श्रम विभागको सुझाव संलग्नतामा टुंगोमा पुर्‍याउने निर्णय भएको छ । त्यस्तै प्राध्यापकका मागलाई वैज्ञानिक ढंगले सम्बोधन गर्न कलेज व्यवस्थापनको बाध्यतासमेत अध्ययन गरी समस्याको समाधान गर्न सबै पक्ष सहमत भएका छन् । सहमतिपछि बिहीबारदेखि कक्षाहरू सञ्चालन गर्ने निर्णय भएको हो ।
‘हाम्रो अनुरोधलाई स्वीकार्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले समस्या समाधानमा तदारुकता देखाए,’ अभिभावक मुकुन्द आचार्यले भने । प्राध्यापक र प्रशासनबीच उत्पन्न मनमुटावले समस्या आएको भन्दै उनले यसप्रति शिक्षा मन्त्रालय र विश्वविद्यालयले चासो देखाएर आवश्यक पहल गर्नुपर्ने बताए । सहमतिपछि विद्यार्थी खुसी भएका छन् ।
लामो समयदेखि आन्दोलनरत र कलेज व्यवस्थापन पक्षबीच समस्या समाधानका लागि वार्तासमेत हुन सकेको थिएन । यसबाट सातौं र नवौं सेमेस्टरका (तेस्रो र चौथो वर्षका) ३ सय विद्यार्थी प्रत्यक्ष मारमा परेका थिए । कलेजमा नेपालीसँगै भारत, श्रीलंका र मालदिभ्सका विद्यार्थी पढ्छन् । प्रजिअ मैनालीले सबै पक्षबीच छलफल गराएर सहमति भएको बताए । ‘अभिभावक र विद्यार्थी प्रशासनमा आएका थिए,’ उनले भने, ‘विद्यार्थीको भविष्यप्रति चासो दिँदै आवश्यक पहल गरेका हौं ।’
डेढ सय शिक्षकमध्ये ५५ जना आन्दोलनमा उत्रिएका थिए । कलेजले आन्दोलन गर्ने निश्चित समूहसँग मात्र वार्ता नगरी सबै शिक्षकसँग सामूहिक वार्ता गर्ने भनेको तर आन्दोलित पक्षले आफूहरूसँग मात्रै वार्ता गर्नुपर्ने अडान लिएकाले वार्ता हुन सकेको थिएन । बिहीबारको छलफलमा आन्दोलनरत पक्षबाट नेतृत्वकर्ता डा. दीपक कोइराला, कृष्णचन्द्र रिजाल, कृष्ण सापकोटा र दीपेश कार्की सहभागी थिए । यसैगरी मनिपाल व्यवस्थापनबाट डिन बीएम नागपाल लगायत सहभागी थिए ।
लालप्रसाद शर्माले कान्तिपुरमा लेखेको खबर ।

 

प्रतिक्रिया