भक्तपुर - शिक्षा विभागले अस्थायी शिक्षकको विवरण १५ दिन भित्र पठाउन जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ । यस अघि गत भदौ २९ गते दिएको निर्देशन अनुसार कतिपय जिल्लाबाट विवरण नआएको भन्दै आयोगले फेरी निर्देशन दिएको जनाएको छ ।
नयाँ शिक्षा ऐन जारी भएसँगै अस्थायी शिक्षकको ब्यवस्थापनका लागि उनीहरुको यकिन संख्या उतार्न विभागले यस अघिनै निर्देशन दिएको थियो ।
अस्थायी शिक्षकको प्रारम्भिक विवरण आवश्यक भएकोमा केही जिल्ला शिक्षा कार्यालयरुबाट हाल सम्म पनि उक्त विवरण प्राप्त नभएकोले सो विवरण नपठाउने जिल्ला शिक्षा कार्यालयहरुले मंसिर १५ गते भित्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय मार्फत् निर्धारित ढाँचामा अस्थायी शिक्षक विवरण अनिवार्य रुपले विभागमा उपलब्ध गराउन विभागले भनेको छ ।
अस्थायी शिक्षक समस्या समाधान गर्न ऐनले गरेको ब्यवस्था कार्यान्वयनका लागि विभागले यस अघिनै प्रतिस्पर्धामा जाने की अवकास लिने भन्ने तय गरी फारम भर्न अस्थायी शिक्षकलाई म्याद दिएको थियो । गत असोज १० गते भित्र विवरण भरेर सम्बन्धित श्रोत ब्यक्ति मार्फत् बुझाउन विभागले गरेको निर्देशन विरुद्ध अस्थायी शिक्षक सहित शिक्षकका संघ संगठन उत्रिएपछि विभागको उक्त काम प्रभावित भएको थियो ।
कतिपय जिल्लामा विवरण संकलनमा अवरोध समेत भएको थियो । तै पनि केही जिल्लाले अस्थायी शिक्षकको विवरण संकलन गरिसकेका छन् । शिक्षकहरुकै दवावका कारण केही जिल्लाले भने संकलित विवरण सार्वजनिक गर्न समेत नचाहेको फेला परेको छ ।
बिरोधका बिच पनि विवरण भरेका मध्ये अधिकाँश अस्थायी शिक्षकले प्रतिस्पर्धा नै रोजेको एडुखबरले गरेको सर्वेक्षणले फेला पारेको छ ।
पढ्नुहोस् : सुविधा भन्दा प्रतिष्पर्धा रोज्ने अस्थायी शिक्षक धेरै
प्रतिक्रिया