काठमाडौं ३० कात्तिक / गोविन्द केसीले मुलुक माफियाले चलाइरहेकाले विकृति विसंगतिहरू देखिएको आरोप लगाएका छन् । ९ मागसहित दसौं अनशन सुरु गरेका डा.केसीले आइतबार भने, ‘मुलुकमा अहिले लुटतन्त्र छ, देश माफियाले चलाइरहेको छ, राजनीतिकर्मी उनीहरूका प्यादा मात्र हुन् ।’
नेपाली राजनीतिमा गैरजिम्मेवारीपन अपराध, भ्रष्टाचार, दण्डहीनता संस्थागत भइसकेको आरोपसमेत डा.केसीको छ । नेता, माफिया र राजनीतिक भागबन्डाबाट पद ओगटेकाहरूमा मुलुकप्रति अलिकति पनि माया नभएकाले उनीहरूले संस्थानलाई आफ्नो ‘पुख्र्यौली’, सम्पत्ति ठान्ने गरेको दाबी डा.केसीको छ । ‘उनीहरूले मुलुकका उत्कृष्ट संस्थानहरूलाई आफ्ना कार्यकर्ता, आसेपासेका लागि मागी खाने भाँडो बनाए, अब चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) तिर पनि आँखा लगाएका छन्,’ उनले भने । संस्थानलाई ध्वस्त पार्न नै त्रिवि उपकुलपति तीर्थ खनियाँले वरिष्ठताको आधार मिचेर भविष्यमा नियुक्ति प्रक्रियालाई आफ्ना मालिकहरूको अनुकूल बनाएको आरोप पनि उनले लगाए ।
स्वास्थ्य शिक्षा सेवा मात्र नभई सुशासनको क्षेत्रमा समेत हाल देखिँदै गरिएको विकृति, विसंगति, अपारदर्शिता, अन्योल, माफियाकरणको चक्रव्यूहलाई शक्ति केन्द्रहरू जसरी भए पनि जारी राख्ने प्रयासमा रहेको आरोप उनको छ । ‘काला व्यापारी, मेडिकल माफिया र भ्रष्ट नेताहरूले सरकारलाई चलाउने भएकाले सत्ता र विपक्षमा रहेकाहरू पनि नेपालीको स्वास्थ्यप्रति जिम्मेवार छैनन्,’ उनले भने । बारम्बारका सहमति कार्यान्वयन नहुँदा दशौंपटक अनशन बस्नुपरेको उनको भनाई छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया