काठमाडौं २९ कात्तिक / जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् । झोलामा कापी कलम बोकेर विद्यालय जाने उमेरका यी नाबालकले यसरी जेल जीवन बिताउनुपर्दा उनीहरूको कलिलो बाल मस्तिष्कमा कतिसम्मको प्रतिकूल असर पर्न सक्छ भन्ने विषयमा समयमै बालअधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाको ध्यान जान जरुरी देखिन्छ । अपराधजन्य घटना घटाएका बालबालिकालाई पनि कारागारमा थुनामा नराखेर बाल सुधारगृहमा राख्ने कानुनी व्यवस्था छ । संरक्षण गर्ने अभिभावक नभएका हुँदा उनीहरू आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएका हुन् ।
बन्दी गृहमा छिरेसँगै यी बालबालिकाले पोषणयुक्त खानेकुरा खान त के देख्नसम्म पाएका छैनन् । न त यी बालबालिकासँग कुनै किसिमको खेलौना छ । साँझ बिहानको दुई छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी यिनीहरू हुर्केलान् ? यस विषयमा सरोकारवाला निकाय गम्भीर बन्न जरुरी छ ।
यसरी रोल्पाको कारागारमा जेल जीवन बिताउने नाबालकहरूमा महत–५, रुकुमका साढे तीन वर्षका शक्तिमान पुन, इरिबाङ–३, रोल्पाका तीन वर्षका हुकुम पुन, थबाङ–८, रोल्पाकी साढे तीन वर्षकी आशा नेपाली र रन्मामैकोट रुकुमकी ३ वर्षकी मीरा विक छन् ।
शक्तिमान पुनकी आमा दिलकुमारी पुनले ३ चैत २०७२ मा आफ्ना श्रीमान् र सासूलाई धारिलो हतियार प्रयोग गरी मारेको अभियोगमा १० वर्ष लामो कैद सजाय भोगिरहेकी छन् । पुनका अनुसार घरमा श्रीमान् र सासूको मृत्युपछि बच्चाको स्याहारसुसार गर्ने अन्य जिम्मेवार व्यक्ति कोही नभएको हुँदा उनले बालकलाई बन्दीगृहमा आफूसँगै राख्दैआएकी हुन् । उनका अन्य दुई छोरा पनि गाउँमै अलपत्र अवस्थामा रहेको उनको भनाइ छ ।
यस्तै, हुकुम पुनकी आमा बिमला पुनले श्रीमान् विदेश गएका बेला देवर नाता पर्ने गोविन्द पुन मगरसँग पटकपटक अनैतिक सम्बन्ध राखेको र बिमलाका सौताका छोरा १२ वर्षीय भरत घर्ती मगरले पटकपटक देखेका हुँदा निजले खुलासा गरिदिने डरले बच्चाको घाँटी थिचेर १० साउन, २०७३ मा हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि बिमलालाई थुनामा पठाए र हुकुम पनि आमासँगै कारागार कार्यालयमा बन्दीगृहमा दिन गुजार्न बाध्य भए ।
यस्तै, आशा नेपालीकी आमा जालकुमारी नेपाली ज्यान मार्ने उद्योगमा १२ कात्तिक, २०७३ देखि थुनामा परेसँगै आशा पनि आमासँगै जेलभित्र बस्न बाध्य भएकी छन् । बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आशालाई आफंैसँग राख्दै आएको जालकुमारीले बताइन् ।
यसैगरी, मीरा विककी आमा लगन विकले २० वर्षको कैद जीवन बिताइरहेकी हुँदा उनीसँगै मीरा पनि कारागार कार्यालय रोल्पामा बन्दीगृहमा बस्दै आएकी हुन् । २ फागुन, २०७२ मा आमा स्थानान्तरण भई रोल्पा आएदेखि उनी पनि जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा जेल जीवन बिताउन बाध्य भएकी हुन् । विकका अनुसार घरमा बच्चाको स्याहारसुसार गर्ने कोही छैन । माइतीमा पनि कसैले हेर्ने अवस्था नभएको हुँदा मीरा आपूmसँगै बन्दीगृहमा थुनामा बस्दै आएको विकले बताइन् ।
‘बन्दीगृहमा जेल जीवन बिताइरहेका बालबालिकाको भविष्यतर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान गएको छ,’ समाजसेवी हुकुमा सुवेदीले भने । यता, जिल्ला कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार यी बालबालिकाका लागि कार्यालयले दैनिक १ सय ५० ग्राम चामल र १० रुपैयाँबाहेक अन्य कुनै किसिमको छुट्टै व्यवस्था गर्न सकेको छैन । ‘आमाको इच्छा वा पारिवारिक बाध्यताका कारण उनीहरू पनि आमासँगै भित्र बस्दै आएका हुन् । आमाले दिने मन्जुरी दिएमा वा कुनै सहयोगी निकायले लिएमा यी बालबालिकालाई सहयोग गर्न सकिन्छ, तर आजसम्म यिनीहरूको बारेमा कसैले केही चासो देखाएको छैन,’ रेग्मीले भने ।
यस्तै, जिल्ला बालकल्याण समिति रोल्पाका बालअधिकार अधिकृत गोकर्ण पुनले यस विषयमा आफू र आफ्नो कार्यालय निकै गम्भीर भएको बताउँदै यी बालबालिकालाई आपत्कालीन सहयोग गर्न सकिने जानकारी दिए ।
बत्तीमुनि अँध्यारो भने झै जिल्ला कारागार कार्यालय रोल्पा र तुल्सी आवासीय माध्यमिक विद्यालयको आँगन एउटै हो, केवल बीचमा एउटा पर्खाल छ । करिब सय मिटर टाढा सरकारी विद्यालय बालमन्दिर छ, तर पनि त्यहाँसम्म पुग्न यी बालबालिकाको पहँुच छैन । कसैले पर्खाल कटाउने व्यवस्था मिलाउन सके यी बालबालिका अवश्य पनि शिक्षाको उज्यालो ज्योति पाउनबाट वञ्चित हुने थिएनन् ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया