Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

चार महिनालाई डीन, केसी अनसन बस्ने

आइतबार, २८ कार्तिक २०७३

काठमाठौं - त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम को डीनमा केशब प्रसाद सिंहलाई नियुक्त गरेपनि उक्त निर्णय प्रति आफू सहमत नभएको भन्दै डा. गोविन्द केसीले आफ्नो अनसन जारी रहने बताएका छन् । एडुखबरसँग कुरा गर्दै डा. केसीले विश्वविद्यालयले झन् भद्रगोल बनाएको आरोप लगाउँदै आईओएमलाई ध्वस्त बनाउन फेरी अर्को चाल चालिएको बताए ।

'वरिष्ठ चिकित्सक मध्येबाट डीन नियुक्त गर्नु पर्छ भन्दै कराएको करायै छु सुन्दै सुन्दैनन्' उनले भने 'बेलुका ४ बजे अनसन शुरु गर्छु तपाई पनि आउनुस् ।'

त्रिविले आईतबार मात्रै सिंहलाई नियुक्त गरेको थियो । उनी फागुनमा रिटायर्ड हुँदै छन् । यति छोटो अवधिका लागि डीन बनाएर विश्वविद्यालयका पदाधिकारीले चिकित्सा शिक्षाको चलखेललाई निरन्तरता दिन लागेको केसी पक्षको आरोप छ ।

'एक त बरिष्ठलाई बनाउ भन्दा पनि वास्ता नगर्ने त्यसमाथि छोटो अवधिका लागि मात्रै डीन बनाउँदा चलखेल जारी राख्न सकिन्छ भन्ने त्रिविका पदाधिकारीको मनशाय प्रष्ट भयो' केसी निकट जीवन क्षेत्रीले भने, 'अव सहायक डीन आफू अनूकूलको बनाउन र आईओएममा भद्रगोल कायमै राख्ने उनीहरुको चाल हो ।'

डा. भगवान कोइराला भन्दा अघि त्रिवि शिक्षण अस्पतालका डाईरेक्टर रहेका सिंह विवादीत ब्यक्ति रहेको उनको भनाई छ ।

एमआरआई खरिद देखि अन्य कार्यमा अनियमितता भएको शंकामा अख्तियारमा सिंहको मुद्धा जारी रहेको उनले बताए ।

डा. केसीको समर्थन भने जगदिश अग्रवालका लागि थियो । अख्तियारको मुद्धाका कारण उनलाई बनाउन नसकिएकोे त्रिवि पदाधिकारीको तर्क छ ।

तर केसी पक्ष उनको मुद्धा अख्तियारबाट अन्तरिम आदेश भईसकेकोले त्रिविका पदाधिकारीको चाल मात्रै भएको तर्क गर्छ ।

'हो अग्रवाल डाक्टर साप अख्तियारको छानवीनमा पर्नु भएको थियो तर अदालतले स्टे अर्डर गरिसकेको छ' क्षेत्रीले भने 'त्रिविले सिंहलाई चोख्याएर अग्रवाललाई असक्षम बनाउनु भनेकै हास्पास्पद कुरा हो ।'

तर, विविकी रेक्टर प्रा.डा.सुधा त्रिपाठीले सर्च कमिटीले दिएको राय र सुझाव कै आधारमा निर्णय गरेको बताउँदै सिंहको नियुक्ति पछि विस्तारै अन्य समस्या समाधान हुने अपेक्षा गरेको बताईन् ।

नौ महिना देखि रिक्त डीन नियुक्तिका लागि सिफारिस गर्न त्रिविले पुष्कर बज्राचार्यको संयोजकत्वमा सर्च कमिटि गठन गरेको थियो । उक्त कमिटिले गरेको सिफारिसका आधारमा आईतबार मात्रै सिंहको नियुक्तिको निर्णय भएको हो ।

पढ्नुहोस् : आईओएम डीनमा सिंह

उक्त कमिटिले जगदिश अग्रवाल, ज्योती शर्मा र सिंहको नाम सिफारिस गरेको थियो ।

विश्वविद्यालयका अन्य संकायमा पनि डीन नियुक्ति नभएर भद्रगोल भएको छ ।

पढ्नुहोस् : त्रिभुवन विश्वविद्यालयमा भद्रगोल, संगिनी सुईको विम्ब !

प्रतिक्रिया