Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

प्राविधिक शिक्षा पढेका आधा विद्यार्थी बेरोजगार

आइतबार, २८ कार्तिक २०७३

भक्तपुर - बेरोजगार हुनुपर्ने समस्याबाट बच्ने आशामा प्राविधिक शिक्षा लिएका विद्यार्थी नै बेरोजगार भएको एक अध्ययनले देखाएको छ । हातमा सीप, साथमा दक्ष जनशक्तिको प्रमाणपत्र भएर पनि उक्त विषय पढेका मध्ये आधा जनशक्ति भने अझै पनि बेरोजगारै बस्न बाध्य भएको उक्त अध्ययनको निचोड छ ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटीइभिटीले सञ्चालन गरेको प्राविधिक शिक्षा, व्यावसायिक तालिमबाट उत्पादन भएका जनशक्तिमध्ये कति रोजगारमा छन् ? भन्ने विषयमा भएको अध्ययनले उक्त तथ्य देखाएको हो । उक्त अध्ययन अन्य कुनै निकायले नभएर स्वयम् सिटीइभिटी आफैले गरेको हो ।

उक्त अध्ययनले टीएसएलसी सञ्चालन भएका आठवटा विषय र डिप्लोमा सञ्चालन भएका आठ विषयका गरी कूल १६ विषयबाट उत्पादित जनशक्तिहरुमध्ये नमूनाका रुपमा कूल २ हजार ९ जना विद्यार्थीको नमूना सर्वेक्षण गरेको थियो ।

सर्वेक्षण अन्तर्गत डिप्लोमा तर्फ सिभिल इञ्जिनियरिङ, कम्प्युटर, इलेक्ट्रिकल, जनरल मेडिसिन, फार्मेसी, बाली विज्ञान, मेडिकल ल्याब तथा टिएसएलसीतर्फ सिएमए, एएनएम, ल्याब टेक्नोलोजी, भेटेरिनरी, सिभिल इञ्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे इञ्जिनियरिङ र कम्प्युटर इञ्जिनियरिङ विषय समावेश गरिएको सिटीइभिटीको सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक एवं प्रवक्ता शिवशंकर घिमिरले जानकारी दिए ।

उक्त अध्ययनले डिम्प्लोमा र टीएसएलसीबाट उत्पादन भएका जनशक्तिमध्ये ४८ दशमलब ९ प्रतिशत रोजगारमा, ४६ दशमलव २ प्रतिशत बेरोगार र ४ दशमलब ९ प्रतिशत भने स्वयम्सेवकको रुपमा रहेको देखाएको छ ।

डिप्लोमा तह उत्तीर्ण भएका कूल १ हजार १ सय १० मा गरिएको अध्ययनले  ५ सय ६० अर्थात् ५० दशमलब ५ प्रतिशत रोजगारीमा, ४ सय ८७ अर्थात् ४३ दशमलब ९ प्रतिशत बेरोजगार र ६३ अर्थात् ५ दशमलब ७ प्रतिशत भने स्वयम्सेवा संलग्न भएको देखाएको छ भने टीएसएलसीतर्फका कूल ८ सय ९९ जनामा गरिएको अध्ययनले भने धेरै संख्यामा जनशक्तिहरु बेरोजगार बस्नुपरेको देखाएको छ ।

अध्ययनले ४ सय ४१ अर्थात् ४९ प्रतिशत बेरोजगार रहनुपरेको, ४ सय २२ अर्थात् ४६ दशमलब ९ प्रतिशतमात्र रोजगार भएको र ४ प्रतिशत अर्थात् ३६ जना भने स्वयम्सेवामा लागेको देखाएको छ ।

सिटीइभिटीबाट उत्पादन भएका उक्त जनशक्तिको ठूलो हिस्सा रोजगारमा नहुनुले सिटीइभिटीको गुणस्तरीयतामा प्रश्न चिह्न लागेको सरोकारवालाहरुको ठहर छ ।

अध्ययनले इञ्जिनियरिङ तर्फबाट उत्पादित जनशक्रि अझ बढी बेरोजगार हुनुपरेको देखाएको छ । इञ्जिनियरिङतर्फका जम्मा ३८ दशमलब ५ प्रतिशतमात्र रोजगारीमा र ६० दशमलव ९ प्रतिशत भने बेरोजगार रहेको अध्ययनले देखाएको छ । बाँकी ० दशमलब ६ प्रतिशत भने स्वयम्सेवकको रुपमा रहेको अध्ययनले देखाएको छ ।

अध्ययनले कृषिबाट उत्पादित जनशक्तिको ६० दशमलब ९ प्रतिशत भने रोजगारीमा संलग्न रहेको, ३६ दशमलब ९ प्रतिशत भने बेरोजगारै रहेको र बाँकी २ दशमलब २ प्रतिशत भने स्वयम्सेवामा लागेको पनि देखाएको छ ।

यस्तो खालको अवस्था हुनुमा स्वयम् सिटीइभिटी नै जिम्मेवार रहेको सिटीइभिटीबाट सम्बन्धन  र सहयोग लिएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका विद्यालयका शिक्षक, प्रशिक्षक एवं प्रअहरुको भनाइ छ ।
वागीश्वरी माविका प्रशिक्षक दिनेश प्रधान सिटीइभिटीले सम्बन्धन दिने तर त्यसअनुसारको भौतिक सुविधा विस्तारका लागि सहयोग नगर्दा ठूलो संख्यामा विद्यार्थी बेरोजगारै रहन विवस रहेको बताए ।

उनले प्रयोगात्मक अभ्यास गरी पढ्नुपर्ने प्राविधिक शिक्षा ह्वाइटबोर्डमा प्रयोग गरेका भरमा गर्नुपर्ने अवस्थाका कारण सिटीइभिटीबाट ठूलो संख्यामा जनशक्ति तयार भए पनि दक्ष जनशक्ति तयार नहुँदाको परिणाम बेरोजगारीको समस्या देखिएको बताए ।

यस सम्बन्धमा सिटीइभिटीका प्रवक्ता घिमिरेले ठूलो संख्या मान्न नहुने तर्क गर्दै त्यो संख्यामा गृहणी बनेका महिला विद्यार्थी रहको अनुमान गरेका छन् ।

प्रतिक्रिया