काठमाडौं २८ कात्तिक / जिल्लाका कतिपय विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्था गर्न सकिएको छैन । तर, सदरमुकाम दिक्तेलकै एक विद्यालयमा भने शिक्षक पर्याप्त छन् तर विद्यार्थी छैनन् ।
उक्त विद्यालय हो, दिक्तेल नगरपालिका ३ स्थित युवा वर्ष प्रावि । त्यहाँ पाँच शिक्षकले आठ विद्यार्थी पढाइरहेका छन् । वरिपरि बालालिका नभएर होइन, विद्यालयको गुणस्तर खस्कँदै गएपछि अभिभावकले नै पठाउन छाडेका हुन् । चार दरबन्दी र एक बालविकास केन्द्रका सहयोगी गरी पाँच शिक्षक छन् ।
विद्यालयको भौतिक अवस्था राम्रो भए पनि व्यवस्थापकीय कमजोरी र गुणस्तरहीन पठनपाठनले विद्यार्थी आउन छाडेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । ‘बाक्लो बस्तीको माझमा विद्यालय छ,’ उनले भने, ‘तर प्रअ नै नियमित नआउने विद्यालयमा विद्यार्थी कसरी आउँछन् ?’
विद्यालयको अवस्था बुझ्न गरिएको अनुगमन क्रममा प्रअ नभेटिएको जिशिअ नेपालले सुनाए । उनका अनुसार भएका आठ विद्यार्थीको शैक्षिक अवस्थासमेत कमजोर पाइएको छ । अभिभावक तथा विद्यालयका सरोकारवाला भने नजिकै धेरै निजी विद्यालय सञ्चालन भएकाले विद्यार्थी कम आएको बताउँछन् ।
शिक्षा कार्यालयले शिक्षकहरूको गैरजिम्मेवारीपन र अध्यापनमा मेहेनत नगर्ने परिपाटीका कारण अभिभावक सन्तानलाई निजी विद्यालय पठाउन बाध्य भएको ठहर गरेको छ । अनुगमनपछि उक्त विद्यालयमा एक महिनाभित्र विद्यार्थी संख्या नबढाए तीन शिक्षक दरबन्दी कटौती गर्ने भनी पत्राचार गरिसकेको छ ।
२०३८ सालमा अन्तर्राष्ट्रिय युवा वर्षको अवसर पारेर स्थापित विद्यालयमा गत आर्थिक वर्ष कार्यालयले उपलब्ध गराएको १४ लाख रुपैयाँ लागतमा भवन निर्माण गरिएको छ । घरदैलो अभियान गरेर भए पनि सरकारको लगानी खेर जान नदिन विद्यालय सञ्चालन गराउनुपर्ने स्थानीय कृष्ण आचार्यले बताए । बृहत् छलफलबाट व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्दै घरदैलो अभियानमार्फत विद्यार्थी संख्या बढाउन सकिने उनको भनाइ छ ।
समान स्तरमा शैक्षिक स्तरोन्नति गरे बच्चालाई निजी विद्यालय पठाउने रहर नभएको अभिभावक बताउँछन् । शिक्षा नियमावलीमा एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने उल्लेख छ ।
नजिकै सञ्चालित पूर्वप्राथमिक तहको निजी विद्यालयमा भने टनाटन विद्यार्थी देखिएको जिशिअ नेपालले सुनाए ।
कान्तिपुरमा डम्बरसिँह राईले लेखेको खबर ।
प्रतिक्रिया