Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

सुविधा भन्दा प्रतिष्पर्धा रोज्ने अस्थायी शिक्षक धेरै

शुक्रबार, २६ कार्तिक २०७३

काठमाडौं - शिक्षा ऐनले गरेको ब्यवस्था अनुसार सुविधा लिएर वाहिरिने अस्थायी शिक्षकको तुलनामा प्रतिष्पर्धामै जान चाहनेको संख्या धेरै देखिएको छ । एडुखबरले अस्थायी शिक्षक धेरै भएका मध्ये पाँच जिल्लामा गरेको नमूना सर्वेक्षणले यस्तो देखाएको हो ।

सुविधा लिनेकी प्रतिष्पर्धामा जाने भन्ने विकल्प रोज्न दिईएको समयमा फारम भरेका अस्थायी शिक्षक मध्ये धेरैले प्रतिस्पर्धा रोजेका हुन् । उनीहरुको तथ्याङ्क संकलन गर्न शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई दिएको समय भित्र फारम भरेका अस्थायी शिक्षक मध्ये धेरैको रोजाई प्रतिष्पर्धा नै छ ।

ऐनमा भएको व्यवस्थाले आफूहरुलाई ‘अयोग्य’ को बिल्ला भिराइदिन लागेको ठहर सहित आफू प्रतिष्पर्धामै जान ईच्छुक भएको मकवानपुरका शिक्षक चेतनाथ खतिवडा बताउँछन् ।

‘लामो समय सम्म पढाइसकेको हिसाबबाट समाजमा प्रतिष्ठित भएर हिँड्नुपर्ने बेलामा आएको शिक्षा ऐनका कारण घर परिवार देखि विद्यार्थी, समाज र सरकारका अघि अयोग्य हुन विवस बनाईएको छ' उनले भने, ‘कुनै सोर्सफोर्स नलगाइकन, कसैको चाकरी नगरीकन शिक्षण पेशामा प्रवेश गरेको हुँ, तोकिएका परीक्षा सबै पास गरेकै हुँ, प्रतिष्पर्धाबाट किन डराउनु ?'

खतिवडा प्रतिनिधि पात्र हुन् । सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरु मार्फत् संकलन गरिएको तथ्याङ्कले अधिकाँश अस्थायी शिक्षकहरु प्रतिष्पर्धामा जाने निर्णयमा पुगेका छन् ।  ललितपुर, भक्तपुर, उदयपुर, ताप्लेजुङ र तनहुँका अस्थायी शिक्षक मध्ये सुविधा लिने भन्दा प्रतिष्पर्धामा जानेको संख्या धेरै पाहिएको छ ।

जसअनुुसार ताप्लेजुङमा गोल्डेन ह्याण्डसेकको सुविधा भन्दा प्रतिष्पर्धामै जाने अस्थायी शिक्षकको संख्या बढी देखिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार कूल तीनसय ७८ अस्थायी शिक्षकमध्ये दुईसय तीन जना प्रतिष्पर्धामा सामेल हुन चाहेको र एक सय ७५ जना शिक्षकमात्र गोल्डेन ह्याण्डसेकमा जान चाहेका छन् ।

जसमा प्राथमिक तहमा कार्यरत दुई सय ६५ शिक्षकमध्ये एकसय ४६ जनाले प्रतिष्पर्धा, एकसय १९ शिक्षकले गोल्डेन ह्याण्डसेक, निमाविमा कार्यरत ७३ जना अस्थायी शिक्षकमध्ये ३७ जनाले प्रतिष्पर्धा गर्ने र ३६ जना गोल्डेन ह्याण्डसेकमा जाने देखिएको छ । तर मावि तहमा कार्यरत ३० मध्ये २० जना गोल्डेन ह्याण्डसेकका लागि इच्छुक र १० जना मात्र प्रतिष्पर्धामा जान इच्छुक देखिएको जिल्ला शिक्षा अधिकारी चैतन्य निरौलाले बताए ।

उदयपुरमा रहेका १ सय ९९ जना प्रावि अस्थायी शिक्षकमध्ये ९७ जनाले सेवा सुविधा लिने, ८४ जना भने प्रतिष्पर्धामा सहभागी हुने र १८ जनाले फारम नभरेको शिक्षा कार्यालयले जनाएको छ ।

त्यस्तै निमावितर्फका कूल ४१ जना अस्थायी शिक्षकमध्ये १७ ले गोल्डेन ह्यान्डसेक लिने, २१ जना प्रतिष्पर्धामा जाने र ३ जनाले भने फाराम नभरेको र मावितर्फका ३० अस्थायी शिक्षकमध्ये ९ जनाले गोल्डेन ह्याण्डसेक, १४ जना प्रतिष्पर्धामा जाने र ७ जनाले फाराम नभरेको जिल्ला शिक्षा अधिकारी हरिहर धितालको भनाइ छ ।

उनका अनुसार समग्रमा उदयपुरका कूल २ सय ७० अस्थायी शिक्षकमध्ये २ सय ४२ ले फाराम भरेकोमा १ सय १९ जना प्रतिष्पर्धामा जान चाहेको, १ सय २३ जनाले गोल्डेन ह्याण्डसेक लिन चाहेको र कूल २८ जनाले भने फारम नै नभरेको देखिएको शिक्षा अधिकारी धितालले बताए । उनले फाराम नभरेका शिक्षकहरुको मनसाय पनि प्रतिष्पर्धा नै रहेको पनि जानकारी दिए ।

तनहुँमा रहेका कूल १ हजार २ सय २५ जना अस्थायी शिक्षकमध्ये प्रतिष्पर्धामा जान चाहनेमा प्राविमा २ सय ४५, निमाविमा  ५२, माविमा ५४ जना रहेका छन् । त्यस्तै गोल्डेन ह्याण्डसेक लिन चाहने शिक्षकहरुमा प्राविमा २ सय ८४,  निमाविमा ४५ र माविमा ३१ गरी जम्मा ३ सय ६० जना रहेका छन् ।

फारम भर्न तोकिएको समयमा शिक्षकका पेशागत संगठनहरुको विरोधका कारण फाराम नभर्नेहरुको संख्या प्राविमा ३२, निमाविमा ६ र माविमा ५ गरी ६३ जना रहेको जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले बताए ।

यस्तै भक्तपुृरमा १ सय ३१ अस्थायी शिक्षक प्रतिष्पधार्नमा सामेल हुन चाहेको र ९२ जनाले सुविधा लिन चाहेको जिशिकाले जनाएको छ । कार्यालयका अनुसार परीक्षामा सामेल हुन चाहनेहरुमा प्राविमा ५७, निमाविमा ४६ र माविमा २६ रहेका छन् भने सुविधा लिनेमा प्रावितर्फ ७५, निमाविमा १२ र माविमा ५ जना रहेका छन् ।

यसैगरी ललितपुरका अस्थायी शिक्षकमध्ये १ सय ७३ जना प्रतिष्पर्धामा जान चाहेको, १ सय ४४ जनाले सुविधा लिन चाहेको र ५८ जनाले भने फारम नै नभरेको जिशिअ दिलनाथ पुरीले बताए ।

समग्रमा मात्र प्रतिष्पर्धामा जाने, सुविधा लिने छुट्टिएको तर तहगत रुपमा भने नछुट्टिएको उनले जानकारी दिए ।

‘यहाँ माविका ६१ अस्थायी शिक्षकमध्ये ५२ जनाले फारम भरेको, निमाविका ८३ जनामध्ये ६८ ले भरेको र प्राविका २ सय ४१ मध्ये १ सय ९७ जनाले मात्र फाराम भरेका छन्,’ उनले भने, ‘डाटा कलेक्सनको क्रममा रहेको हुनाले प्रावि,निमावि र माविको विवरण आउन बाँकी नै छ ।’

अस्थायी शिक्षकहरुको तथ्यांक र उनीहरुकको रोजाइका बारे विवरण संकलन गर्न शिक्षा विभागले निर्देशन दिएपछि विरोधमा उत्रिएका शिक्षक संघ संगठनहरुको डरका कारण अधिकांश जिल्लाले उक्त तथ्याङ्क गोप्य राखेका छन् ।  त्यही कारण केही जिल्लाहरुले तथ्यांक सार्वजनिक गर्न माानेनन् । तर ती मध्ये अधिकाँश जिल्लामा पनि प्रतिस्पर्धामै जाने शिक्षकहरुको संख्या धेरै रहेको बताईएको छ ।

राजधानीकै काठमाडौं जिल्ला शिक्षा कार्यालयले समेत अहिलेसम्म कतिले प्रतिष्पर्धा रोजे, कतिले गोल्डेन ह्याण्डसेक र कतिले फाराम भरेनन् भन्ने छुट्याउन नसकेको जनाएको छ ।

‘हामीकहाँको विवरण तयार छ तर कतिले के रोजे भन्ने भन्न सकिने अवस्था छैन' जिल्ला शिक्षा अधिकारी जयाप्रसाद आचार्यले भने ।

जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह र दोलखाका जिशिअ नाराण काशिछ्वाले पनि तथ्याङ्क दिन मानेनन् । कतिले के–के रोजे भन्ने भन्न सकिने अवस्था नआएको उनीहरुको भनाई छ ।

‘त्यो विवरण तयार नहुनुमा अस्थायी शिक्षकहरु नै जिम्मेवार छन्, उनीहरुले फारम भर्ने काममा अवरोध गर्दा यस्तो भएको हो ।’ जिशिअ सिंहले भने ।

शिक्षा ऐन विभेदकारी भएको र अस्थायी शिक्षकका समस्यालाई समाधान गर्नका लागि सरकारले उपयुक्त विकल्प नदिएको भन्दै उक्त समयमा शिक्षकका पेशागत संघसंगठन र अस्थायी शिक्षक संघर्ष समितिले फारम भर्न अवरोध गरेका थिए । अस्थायी शिक्षकलाई पहिले प्रतिस्पर्धामा सामेल गराउनु पर्ने र पास नभए पनि ऐनले तोकेको सुविधा भने दिनु  पर्ने उनीहरुको माग छ ।

शिक्षा ऐनको आठौं संशोधनमा अस्थायी शिक्षकलाई एक पटकका लागि गोल्डेन ह्याण्डसेक लिने की प्रतिस्पर्धामा गएर स्थायी हुने भन्ने विकल्प राखिएको छ । अधिकांश अस्थायी शिक्षकको रोजाइ गोल्डेन ह्याण्डसेक नै हुने आंकलन गरेर उनीहरुको ब्यवस्थापनमा धेरै रकम खर्च हुने भयले अस्थायी शिक्षकको समस्या समाधानको मुद्धा पचिलो बनेको छ । शिक्षा नियमावली निर्माणमा भईरहेको ढिलाईको मुख्य कारण यही विषय बनेको छ ।

‘हामी विना सोर्सफोर्स लिखित, प्रयोगात्मक र अन्तर्वार्ता पास गररै शिक्षक भएका हौं, यसैले हाम्रो रोजाइ प्रतिष्पर्धा नै हो ।’ अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष शिवराम बोहजुले भने । उनले गोल्डेन ह्याण्डसेकको व्यवस्था गरेर शिक्षकहरुलाई अयोग्य बनाउन खोजेको आरोप समेत लगाए ।

प्रतिक्रिया