काठमाडौं २६ कात्तिक / सरकारले प्राय: सबै विद्यालयमा कार्यालय सहयोगी राख्न तलब सुविधा दिएको छ । तर अधिकांश विद्यालयले कार्यालय सहयोगी राख्दैनन् । शिक्षक दरबन्दी कमी हुने हुँदा सोही रकमबाट विद्यार्थीबाटै सरसफाइ गराउने गर्छन् । दरबन्दी कमीका कारण आधारभूत (कक्षा १–३, १–५ र १–८) तहका विद्यालयमा कार्यालय सहयोगी राख्न नसक्ने तर्कसमेत गर्छन् ।
तर हुमिन–४ घ्याङसिङ पोखराको नवकिरण प्राविका विद्यार्थी भने वातावरणीय सरसफाइप्रति सचेत बनेका छन् । उनीहरूले कार्यालय सहयोगी राखेका विद्यालयमा भन्दा नमुना काम गरेर देखाएका छन् । आर्यभन्ज्याङ–रामपुर सडक छेउमै रहेको यस विद्यालयमा विद्यार्थी आफैं कक्षाकोठा र विद्यालय हातामा सफा गर्ने गर्छन् । कक्षाकोठाका डेस्क, बेन्च पनि मिलाएर राखेका छन् । भित्तामा जानकारीमूलक तस्बिर टाँसेका छन् ।
झट्ट हेर्दा विद्यालयका कार्यालय सहयोगीबाट दैनिक कक्षाकोठा र वरपरको वातावरण सफा बनाइएको होला भन्ठान्ने पनि धेरै हुन्छन् । प्रधानाध्यापक हिराराज आचार्यले भने, ‘यहाँका विद्यार्थीहरूले विद्यालयको वातावरण नै सुधारेका छन् ।’
यसरी काम गरेको चार वर्ष भइसकेको कक्षा–५ की छात्रा रेखा दर्लामीले बताइन् । ‘बिहान १० बजे स्कुल आउँछौं, प्रार्थना सकेपछि हामी नित्य काममा लाग्छौं,’ उनले भनिन् ।
कार्यालय सहयोगी कान्तमीरा रानाले समेत विद्यालयमा पढाउनुपर्ने भएकाले विद्यार्थीले कक्षाकोठा सफा गरेर सघाउने गरेको बताइन् । ‘शिक्षकका कमी भएपछि मैले पनि पढाउनुपर्छ,’ उनले भनिन् ।
विद्यालयमा दरबन्दी पूरा नहुँदा कार्यालय सहयोगीले पढाउनुपर्ने रहेको प्रधानाध्यापक आचार्यले बताए । शिक्षा कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदीले अचेल प्रत्येक कार्यालय सहयोगीका लागि रकम पठाउने गरेको बताए ।
माधव अर्यालले काीन्तपुरमा लेखेको खबर ।
प्रतिक्रिया