Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी

विहीबार, २५ कार्तिक २०७३

काठमाडौं - देशको आर्थिक वृद्धिका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित शिक्षा मन्त्रालयले प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको छ । राष्ट्रिय ईञ्जिनीयरिङ् तथा प्रविधि प्रतिष्ठानका नाममा मकवानपुरको चित्लाङमा विश्वविद्यालय स्थापन गर्ने शिक्षामन्त्री धनिराम पौडेलले जानकारी दिए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नविनतम् बस्तु उत्पादन र सेवा प्रदान गर्ने क्षमता विकास गर्न अपरिहार्य भएको बताउँदै यसका लागि नयाँ ज्ञान र प्रविधि सहितको जनशक्ति उत्पादन र विकास गर्न अनुसन्धानमुखी विश्वविद्यालय आवश्यक रहेको ठहर साथ प्रकृया अघि बढाएको बताए ।

'यो प्रतिष्ठानलाई शैक्षिक उपाधि प्रदान गर्न सक्ने उच्च शिक्षाको स्वायत्त निकायका रुपमा  परिकल्पना गरिएको छ' मन्त्री पौडेलले भने, 'यसले अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिने छैन, यस अन्र्तगत सञ्चालन गरिने अध्ययन तथा अनुसन्धान नेपालको आर्थिक बृद्धिका लागि उच्च सम्भावना बोकेका क्षेत्रहरुमा केन्द्रित गरिने छ ।'

विश्वविद्यालय स्थापन पछि नेपालमा बनेको छापलाई गणस्तर चिन्हका रुपमा स्थापित गर्न र आविष्कारमा आधारित नविनतम् बस्तु तथा सेवा बजारमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याई नेपाललाई समृद्ध बनाउन भूमिका खेल्ने अपेक्षा गरेको पौडेलले बताए ।

यसका लागि एसियाली विकास बैंकले सहयोग गर्ने छ । विश्वविद्यालय स्थापन गर्नु अघि आवश्यक पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनका लागि आउँदो मङ्सिर १ गते देखि तीनदिने राष्ट्रिय कार्यशाला आयोजना गर्ने मन्त्रालयको तयारी छ ।

कार्यशालामा सहभागी हुने विदेशी विज्ञसहितको सुझावका आधारमा अघि बढ्ने उनले बताए । प्रतिष्ठानका लागि मकवानपुरको चित्लाङमा करिब २ सय रोपनी जग्गा लिने प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा एडिबीका नेपाल स्थित निर्देशक केनीचि याकोयामाले विश्वविद्यालय स्थापनाका लागि शुरुमा आफूहरुले सहयोग गर्ने र यसमा नेपाल सरकार तथा अन्य सहायता संस्थाहरुले लगानी थप्ने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया