Edukhabar
सोमबार, ०३ मंसिर २०८१
गतिविधि

चार शिक्षकलाई दीर्घ सेवा पदक प्रदान

विहीबार, २५ कार्तिक २०७३

भक्तपुर । वागीश्वरी मावि/कलेजले चार शिक्षकलाई दीर्घ सेवा पदक प्रदान गरेको छ । भक्तपुरको च्याम्हसिँहस्थित उक्त माविको ५८ औं र कलेजको नवौं वार्षिकोत्सवको अवसरमा सो विद्यालयमा २५ वर्ष सेवा गरेका चार शिक्षकहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सोही विद्यालयका प्रअ कृष्णप्रसाद धन्छा, सहायक प्रअ ज्ञानसागर प्रजापति र शिक्षकद्वय विश्वराम प्रजापति र दामोदर सुवाल रहेका छन् ।
उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छेंले सम्मान गरेका थिए । कार्यक्रममा अतिथि बिजुक्छेंले विद्यार्थीमा देशप्रेमको भावना र नागरिक भावनामा कमी आएको बताउँदै शिक्षालाई संस्कारसँग जोड्ने काममा शिक्षकले नै भूमिका खेल्नुपर्ने बताए ।

उनले विद्यार्थीहरुलाई किताबी ज्ञानको अलावा राजनीतिक र व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिँदै शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा कक्षागत रुपमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै जिल्ला शिक्षा कार्यालयलबाट प्राप्त विभिन्न छात्रवृत्तिहरु र विद्यालयमा स्थापित छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

सो अवसरमा सभासद् अनुराधा थापामगरले निः शुल्क र अनिवार्य शिक्षा नहुँदाको असर गरिव र कामगरी खाने वर्गका अभिभावकहरुमा परिरहे पनि सरकारले ध्यान पु¥याउन नसकेको बताएकी थिइन् ।

सोही अवसरमा भक्तपुर जिल्लाका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, विद्यालय निरीक्षक विमल निरौला, ख्वप कलेजका प्राचार्य रुपक जोशी, बासु माविका प्रअ अम्बिका न्याइच्याईंलगायतले शिक्षासम्बन्धी चर्चा गर्दै वागीश्वरी मावि÷कलेजको योगदानबारे बोलेका थिए । कार्यक्रम विव्यस अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको थियो ।

 

प्रतिक्रिया