काठमाडौं २५ कात्तिक / कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।
मन्त्रालयका सहसचिव डा. हरि लम्सालले विद्यार्थीले परीक्षा दिएको विषयको मात्र प्रमाणपत्र पाउनुपर्दछ र यस्तो अभ्यास विश्वमा भएको बताउँदै भन्नुभयो, “यसका बारेमा कानुनमा व्याख्या हुनेछ । ”
विद्यार्थीलाई कुनै विषयमा उत्तीर्ण भएको प्रमाणपत्र चाहिएमा ती विषयको मात्र परीक्षामा सम्मिलित भइ प्राप्ताङ्क उल्लेख भएको प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्नेछ । २०५९ सालमा शिक्षा नियमावली संशोधन गर्दा कक्षा ८ मा विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाइज पास सिस्टम) अवलम्बन गरी जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण भएको हुन्छ त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो । तर यो व्यवस्था लागू भने हुन सकेन । कतिपय मुलुकमा तोकिएका मुख्य विषयमा उत्तीर्ण भए पुग्ने तर अन्य विषयमा अनुत्तीर्ण भए पनि उत्तीर्ण भएको भनी प्रमाणपत्र दिने अभ्यास छ ।
मन्त्रालयका सहसचिव डा. लम्सालले तोकिएका निश्चित विषयमा उत्तीर्ण भएपछि ती तह उत्तीर्ण भएको भनी प्रमाणपत्र दिनका लागि समस्या नहुने बताउँदै थप्नुभयो, “तर यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन त्यति सहज छैन । ”
केही वर्षअघि एसएलसी परीक्षा सुधारसम्बन्धी सुझाव दिन गठित कार्यदलले एसएलसी परीक्षामा अनुत्तीर्ण हुनेको दर घटाउन अनिवार्य पाँच विषयमा उत्तीर्ण भएका विद्यार्थीलाई उत्तीर्ण भएको प्रमाणपत्र दिनुपर्ने सिफारिस गरेको थियो । भारतको उत्तर प्रदेशलगायत बोर्डमा यस्तो प्रचलनमा छ ।
एसएसडीपीले कक्षा ८, १० र १२ मा लेटर ग्रेडिङ पद्धति अनुरूप विद्यार्थीको मूल्याङ्कन गरिने योजना ल्याएको छ । एसएलसी परीक्षामा लेटर ग्रेडिङ लागू गरिसकिएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव सूर्यप्रसाद गौतमले कक्षा ८ र १२ मा लेटर ग्रेडिङ पद्धति लागू गर्न एसएसडीपीले बाटो खुला गरेको बताउँदै भन्नुभयो, “अब पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव ल्याउनुपर्दछ । ” एसएसडीपीले कक्षा ८ मा स्थानीय तहस्तरमा, कक्षा १० मा प्रदेशस्तरमा र कक्षा १२ मा सङ्घस्तरमा अन्तिम परीक्षा हुने प्रस्ट गरेको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया