Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

‘आधा रोटी खाऔँ, छोराछोरी पढाऔँ’

बुधबार, २४ कार्तिक २०७३

काठमाडौं २४ कात्तिक / मुस्लिम समुदायलाई लक्षित गरी उर्दू र अरबी भाषामा पढाइ हुने माध्यमिक विद्यालय जिल्लामा एउटै छ । तीन निमावि छन् । बाँकेमा १ सय १८ मदरसा छन् । बाँकी १ सय १४ मा प्राथमिक तहको पढाइ हुन्छ । प्राथमिक तहको मदरसामा मुस्लिम बालबालिकाको संख्या उल्लेख्य छ । एउटैमा तीन/चार सयसम्म अध्ययनरत छन् ।
तर, मावि तह पुग्दा मुस्लिम किशोरकिशोरी घट्छन् । विद्यालय छोड्ने क्रम बढ्न थालेपछि बाँके गनापुर २ भटानपुरका मुस्लिम अभिभावकले आधा रोटी खाएर भए पनि छोराछोरी पठाउने प्रतिबद्वता जनाएका छन् ।
‘सुरुमा मदरसामा भर्ना हुने तर गाउँमै उर्दू पढाइ हुने निमावि र मावि नभएका कारण छाड्ने धेरै बालबालिका छन् । कतिपय गाउँमा प्राथमिक स्तरका मदरसा नभएका कारण त्यहाँका बालबालिका विद्यालय जाँदैनन्,’ भटनपुरमा गठन गरिएको नाउ टोल पढाइ समूह अध्यक्ष निसाबुल साई भन्छन्, ‘हामीले सबै मुस्लिम अभिभावकलाई आधा रोटी खाएर भए पनि बालबालिकालाई पढाउने प्रतिबद्वता गर्न लगाइरहेका छौं ।’
 उक्त समूहमा आवद्व गाउँभरिका अभिभावकले बालबालिकालाई पढ्ने वातावरण मिलाउने प्रतिबद्वता जनाएका छन् । त्यस्तै, बालबालिकाको पढाइ अवस्थाबारे जानकारी लिन अनुगमन समिति गठन गरिएको छ ।
‘हाम्रो समुदाय शिक्षामा कमजोर छ । त्यसैले नयाँ तरिकाले लाग्न जरुरी छ । यसका लागि अभिभावकले छोराछोरीलाई विद्यालय नछोडाउने प्रतिबद्धता गरिरहेका छन्,’ गाउँकै दारुल उलुम गुल्सने इस्ताकीयाका प्राधानाध्यापक मोहम्मद अली नाउ भन्छन्, ‘हाम्रा गाउँका सबै मुस्लिम अभिभावकले छोराछोरी पढाउने प्रतिबद्वता गर्नुभएको छ ।’ ०६८ को जनगणनाअनुसार बाँकेको कुल जनसंख्यामध्ये १८ प्रतिशत मुस्लिम बसोबास छ । ५ लाखमध्ये मुस्लिमको संख्या १ लाख छ ।
साक्षरता प्रतिशत भने निकै न्यून ३० प्रतिशत रहेको जिविसले जनाएको छ । ०६८ कै जनगणनाअनुसार बाँकेको साक्षरता प्रतिशत ६५ प्रतिशत छ । महिला ५९ र पुरुषको साक्षरता ७१ रहेको तथ्यांक छ । शिक्षा अधिकारी भीमबहादुर साउदले प्राथमिक तहमा मुस्लिम बालबालिकाको संख्या अत्यधिक हुने तर माथिल्लो कक्षामा घटदै जाने बताए । ‘उर्दू र फारसी पढाइ हुने निमावि र माविका चार विद्यालय मात्रै भएकाले पनि यस्तो भएको हुन सक्छ । किन भने उक्त समुदाय उर्दू पढ्न चाहन्छ,’ उनले भने, ‘बालबालिकाको पढाइलाई निरन्तरता दिन अभिभावकहरू नै जागरुक हुनु आवश्यक छ ।’
नेपालगन्जस्थित बरकातिया दारुलउलम मदरसामा माध्यमिक तहसम्म पढाइ हुन्छ । त्यस्तै, नेपालगन्जकै आयशालगायतका तीन मदरसा निमावि तहको पढाइ हुने गरेको शिक्षा कार्यालयले जनाएको छ ।

ठाकुरसिँह थारुले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया