Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

द्वन्द्वपीडित परिवारको शिक्षा बजेट एकै वर्षमा दोब्बर

बुधबार, २४ कार्तिक २०७३

काठमाडौं २४ कात्तिक / मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक भए पनि सरकारले द्वन्द्वपीडित परिवार शिक्षा कार्यक्रमका लागि विनियोजित बजेट दुई गुणा बनाएको छ ।

चालू आर्थिक वर्षमा शिक्षा मन्त्रालयले प्राथमिकतामा राखेका विभिन्न शैक्षिक कार्यक्रमको बार्षिक बजेट वृद्धिदर सामान्य छ । तर, द्वन्द्वपीडित परिवार शिक्षाका लागि विनियोजित बजेट भने दोब्बर पु¥याइएको छ ।

शिक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा प्राथमिकतामा राखेका ३ दर्जन कार्यक्रममध्ये द्वन्द्वपीडित परिवार शिक्षा शीर्षकको बजेट विगत ४ वर्षको तुलनामा दोब्बर अंकले वृद्धि गरिएको हो ।

सरकारले द्वन्द्वपीडित परिवार शिक्षाका लागि विगत ५ वर्षमा विनियोजन गरेको बजेट यसै वर्ष उल्लेख्य बढाइनुको कारण भने स्पष्ट छैन । राष्ट्रिय योजना आयोगले समेत यो शीर्षकका लागि चालू आवको प्रक्षेपित बजेटमा सामान्य वृद्धि हुने उल्लेख थियो ।

मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले योजना कायक्रमको अध्ययन नगरी बजेट वृद्धि भयो भनेर भन्न नसकिने बताए । “यो कार्यक्रम ०६५ सालदेखि नियमित सञ्चालन भइरहेको हो र नियमित बजेट विनियोजन हुने गरेको छ,” उनले भने ।

सरकारले आव ०६५/०६६ देखि सञ्चालन गरेको यो कार्यक्रम कार्यान्वयनको जिम्मेवारी सहिद प्रतिष्ठान नेपाललाई दिँदै आएको छ ।

सरकारले यो कार्यक्रमको प्रमुख प्रतिफलको रूपमा द्वन्द्वपीडित बालबालिकाहरूलाई सहज वातावरणमा गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने लक्ष्यसहित सञ्चालन गर्दै आएको जनाएको छ ।

शिक्षाविद् विद्यानाथ कोइराला सरकारले आफ्ना कार्यक्रमहरू विकेन्द्रीकरण गर्नुपर्छ भनिरहेका बेला यस्ता कार्यक्रम केन्द्रबाट किन सञ्चालन भइरहेका छन् भन्ने प्रश्नको जवाफ आफूहरूले पाउन नसकेको बताउँछन् ।

चालू आवमा पाँचै विकास क्षेत्रमा गरी जम्मा १ हजार ४ सय १७ द्वन्द्व प्रभावित बालबालिका अध्ययन गरिरहेका छन् । कार्यक्रममार्फत द्वन्द्वपीडित परिवारका बालबालिकाका लागि आवासीय शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजनासमेत छ ।

राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रममा ५ वटै विद्यालयमा आवश्यकताअनुसार भौतिक सुधारका कार्यक्रम सञ्चालन हुने उल्लेख छ । तर, नयाँ भवन निर्माणलगायतका नयाँ र बढी बजेट लाग्ने कार्यक्रम भने उल्लेख गरिएको छैन ।

शिक्षा मन्त्रालयको अघिल्लो आवको तथ्यांकअनुसार हाल सहिद स्मृति आवासीय विद्यालय हाँसपोसा सुनसरीमा ३ सय २८ द्वन्द्वपीडित बालबालिका अध्ययन गरिरहेका छन् ।

यसरी नै सहिद स्मृति आवासीय विद्यालय जिरी दोलखामा २ सय ५, सहिद स्मृति आवासीय विद्यालय पोखरा कास्कीमा २ सय ९८, सहिद स्मृति आवासीय विद्यालय, मानपुर दाङमा ३ सय ८२ र सहिद स्मृति आवासीय विद्यालय, दिपायल सिलगढी नगरपालिका डोटीमा २ सय ४ जना अध्ययनरत छन् ।
गोपाल संग्रौलाले कारोबारमा लेखेको खबर ।

प्रतिक्रिया