Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

सर मिस चार्डवार्डकै रमझममा, विद्यार्थी जुवा खालमा

सोमबार, २२ कार्तिक २०७३

तिमाल (काभ्रे) - मेच्छे गाउँ विकास समितिको मुक्पा गाउँ नजिकै एउटा विद्यालय छ, कालीदेवी प्रगतिशील प्राथमिक विद्यालय । विद्यालयबाट लगभग दुई मिनेट हिँडेर तल झरेपछि पीपल चौतारीमा पुगिन्छ । त्यो चौतारी हिजो आज त्यहि विद्यालयका विद्यार्थीको तास खेल्ने अखडा बनेको छ ।

अरु बेला हातमा किताव, कापी र कलम च्यापेर स्कुल जाने कक्षा ४ र ५ मा पढ्ने विद्यार्थीको एक झुण्ड हामी त्यो चौतारीमा पुग्दा जुवा खालमा जुटिरहेका थिए !

यसको मुख्य कारण लामो समय विद्यालय नखुल्नु हो ।  त्यसैले विद्यार्थी दिनभर जसो तास खेलेरै बिताउँछन् ।

‘दशैंको घटस्थापनादेखि बन्द रहेका स्कुल तिहार सकिँदासम्म पनि खुलेका छैनन्’ स्थानीय अभिभावक लालबहाहदुर थोकर भन्छन्, ‘केटाहरु यसैगरी तास खेलेर दिन विताईरहेका छन् ।’

मुक्पाको मात्र होइन, मेच्छेपौवामा रहेको कुशेश्वर माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी पनि यस्तै बरालिएरै दिन विताएका छन् ।

स्थानीय अभिभावकहरुका अनुसार लामो विदा हुँदा विद्यार्थी बरालिने जुवा तासमा रमाउने गरेरै दिन विताईरहेका छन् । निमावि र मावि तहका केही विद्यार्थी भने मेला पर्मदेखि दैनिक ज्यालादारीको काममा जुटेको पनि फेला पर्छ ।   

‘बिदा छ, स्कुल कहिले खुल्ने भन्ने थाहा छैन' कुशेश्वर माविको कक्षा १० मा पढ्ने सञ्जय थोकरले भने 'यसैले म त काममा जाने तरखरमा छु ।’

विद्यार्थीले जुवा खेल्नु त नराम्रो काम भै हाल्यो, विद्यालय नखुलेकै कारण मेला पात र घरको काममा ब्यस्त हुनु पनि राम्रो त भएन । यो गाउँका अधिकाँश विद्यार्थीले दशैं विदा भएदेखि अहिलेसम्म किताव नछोएको बताए । दिउँसो काममा लागेपनि बिहान बेलुकी जुवा तास र बरालिएरै वितेको छ यहाँका विद्यार्थीको दैनिकी ।

एक महिना भन्दा बढी समय विद्यालय नखुल्दा यहाँका विद्यार्थीको पठनपपाठन अस्तव्यस्त भएको छ । दशै र तिहारलाई लक्षित गरी जम्मा १२ दिन मात्रै सार्वजनिक बिदा दिनुपर्छ तर एक महिना भन्दा बढी बिदा भइसकेको छ ।

जिल्ला शिक्षा कार्यालय काभ्रेका अनुसार जिल्लामा पाँच सय ९६ सामुदायिक विद्यालय छन् । तिनीहरुमध्ये अधिकांश विद्यालय दशैको घटस्थापनादेखि नै बन्द छन् ।

‘अधिकांश सामुदायिक विद्यालयले महिनादिन देखि स्कुल विदा गर्ने गरेका छन् ।’ तिमाल याङवेलको हिमालय प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर तामाङले भने ।

दशैं सकिएपछिको बीचमा विद्यार्थी नआउने कारण विद्यालयहरुले बिदा गरेको शिक्षकहरु बताउँछन् । शिक्षक तथा प्रधानाध्यापकहरुले दशैँमा लामोे बिदा गरे पनि गर्मी र जाडो बिदामा मिलान गर्ने तर्क गर्छन् ।

यसै सन्दर्भमा काभ्रेका सहायक जिशिअ गोविन्द सेढाइँल दशैंसँगै बिदा भएका विद्यालयहरुमध्ये सदरमुकामका खुलेको तर गाउँका विद्यालयहरु भने बन्द रहेको बताएका छन् ।‘कतिपय खुलेका छन्, कतिपय खुलेका छैनन् ।’

उनले दशैं, तिहार र छठका लागि बिदा लिएर गएका शिक्षकहरु लामो समयसम्म स्कुलमा नआउँदा विद्यालय सञ्चालन गर्न कठिनाइ भएको स्वीकार्दै विदालाई गर्मी र जाडोको समयमा मिलाउन सकिने बताए ।

‘काभ्रेका धेरै स्कुलहरुमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरु चाडवाड मनाउन गएका कारण शिक्षक अभाव हुँदा  विद्यालय चलाउन गा¥हो मान्ने गरेका छन् ।’

अभिभावकहरुका अनुसार दशैं देखि बिदा भएका विद्यालयहरु छठ मनाएर शिक्षक फर्किएपछि मात्रै सञ्चालनमा आउनेछन् । सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएसंगै यो बर्षको छठ त सकिएको छ, तर चार्डबार्डको बहानामा बन्द यहाँका विद्यालयका सर मिसहरु कहिले फर्कने हुन् यसै भन्न कठिन छ ।

प्रतिक्रिया