Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

कक्षा १ र २ का पुस्तक रंगीन

आइतबार, २१ कार्तिक २०७३

काठमाडौं २१ कात्तिक / सरकारले यस वर्षदेखि सामुदायिक विद्यालयमा पढ्ने कक्षा १ र २ का विद्यार्थीलाई रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ । शिक्षामन्त्रीस्तरीय बैठकले शुक्रबार कक्षा १ र २ को पाठ्यपुस्तक रंगीन छाप्ने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए । सामुदायिक विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तकलाई स्तरीय बनाई विद्यार्थीको पढाइलाई बालमैत्री र रुचिकर बनाउन सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि कक्षा १ देखि ३ सम्मको किताब दुई रङमा उपलब्ध थियो । पाठ्यपुस्तक रंगीन भए पनि त्यसमा रहने विषयवस्तु पुरानै हुनेछ ।
‘यसअघिको पुस्तकमा स्याउ, सुन्तला, केरा पनि कालो र नीलो भएको तस्बिर हुन्थ्यो,’ काप्रीले भने, ‘केरा लाम्चो हुन्छ । त्यसको नीलो र कालो हुने विद्यार्थीको बुझाइ हुन्थ्यो । अब रंगीन भएपछि वास्तविक थाहा पाउनेछन् ।’ रंगीन पुस्तक विद्यार्थीले पाएपछि सिकाइ उपलब्धि बढ्ने अनुमान गरिएको छ । शिक्षा विभागका अनुसार वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा कक्षा १ र २ मा गरी १६ लाख विद्यार्थीले रंगीन पुस्तक पाउनेछन् । शिक्षा विभागका शैक्षिक सामग्री व्यवस्थापन शाखाका उपनिर्देशक देवीराम अर्यालका अनुसार कक्षा १ मा ८ लाख ७१ हजार ३ सय २८ र कक्षा २ मा ७ लाख २८ हजार ४ सय ९४ विद्यार्थी हुने अनुमान छ । यो तथ्यांक ०७३ को फलास रिपोर्ट १ प्रारम्भिक हो ।
‘बालमैत्री सामग्रीको पक्षमा सरकारी र गैरसरकारी स्तरमा वकालत हुँदै आएको थियो,’ उनले भने, ‘अब कार्यान्वयनमा आउनेछ ।’ रंगीन हुनेबित्तिकै कागजको गुणस्तर पनि बढ्नेछ । रंगीन पुस्तकमा कस्तो कागज प्रयोग गर्ने भन्ने पनि मापदण्ड बनाइसकिएको छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रले छपाइ गर्ने भएको छ । ‘रंगीन छापिने पुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयारी अवस्थामा छ,’ काप्रीले भने ।
जनक शिक्षाले ६ देखि १० कक्षासम्मको पुस्तक छाप्ने निर्णय भएको काप्रीले बताए । यस वर्ष कक्षा १, २ र १० को पुस्तकको मूल्य पनि समायोजन हुने भएको छ । कक्षा १० को मूल्य १७ वर्षपछि समायोजन हुन लागेको हो ।
रत्नराज्य माविकी प्राचार्य गीता खरेलले तल्लो कक्षामा रंगीन पाठ्यपुस्तकको व्यवस्थाले सिकाइ उपलब्धिमा सुधार हुने बताइन् । ‘रंगीन पुस्तकले विद्यार्थीलाई पढाइप्रति आकर्षण बढाउनेछ । पढाइमा लगाव बढनेछ,’ उनले भनिन्, ‘बच्चाहरूले चित्र हेर्दै खेल्दै सिक्छन् । रंगीन चित्रले ध्यान पढाइमा केन्द्रित गर्नेछ ।’
बालकुमारी मावि ललितपुरका प्राध्यानाध्यापक सूर्यकुमार राईले रंगीन पुस्तक भएपछि विद्यार्थीको पढाइप्रतिको चासो बढ्ने बताए । सरकारले नै रंगीन पुस्तक छपाइ गरेर सकारात्मक कामको सुरुवात गरेको उनले बताए ।
अघिल्लो शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ०७४ देखि कक्षा ५ सम्म रंगीन पाठ्यपुस्तक छपाइ गरी वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । उनीपछि माओवादी केन्द्रबाट शिक्षामन्त्री भएका धनीराम पौडेलले १ महिनाअघि १९ बुँदे प्रतिबद्धता जारी गर्दै कक्षा कक्षा १ र २ को पाठ्यपुस्तक मात्रै रंगीन बनाउने घोषणा गरेका थिए । प्रतिबद्धताअनुसार रंगीन पुस्तक छपाइको निर्णय भएको हो ।
कान्तिपुरमा मकर श्रेष्ठले लेखेको खबर ।

प्रतिक्रिया