शिक्षा साहित्य श्रृखला अन्तर्गत यो साताको शनिबार विशेषमा एक जना विद्यार्थीको भोगाइ समेटिएको कथा :
सबै गलल्ल हाँसे । भित्तामा ठोक्किएर फर्किएको तरङ्ग पुनः नयाँ हाँसोमा मिसिँदा कक्षाकोठा पुरै गुञ्जायमान भयो ।
म भने मौन थिए ! किन भने, मलाई देख्नु नै हाँसोको कारण थियो ।
मेरोे च्यातिएको झोला, मैलो कमिज, औला निस्किएको जुत्ता र फाटेको पाईण्ट । मेरो यो हुलियानै हाँसोको कारण थियो ।
चुप ! सरको कड्किएको आवाजले हाँसो रोकियो । म पछिल्तिरको वेञ्चमा बसेको मात्र थिएँ, सरको उही कडक आवाज मेरो कानमा ठोक्कियो ‘खोई पाठ देखा’ ।
‘छैन’ को भावले मैले सरको अनुहार हेरेँ ।
कडा र निर्दयी हात मेरो गालामा बजारीयो !
र पनि, म मौन रहेँ । अघिको जस्तै । तर आँखा भने मौन रहन सकेनन् ।
सबैको होमवर्क जाँचे पछि सरले मेरा कानका जरा नै निस्कने गरी तानेर बाहिर निकाले ।
यस्तो दुख्यो मानौं केहीबेरमा सरको हातमा कान मात्रै रहनेछ र मेरो जीउबाट कान बाहिरीनेछ ।
बाहिर पुगेपछि चर्को घाममा मलाई कुखुरा बन्ने सजाँए दिएर आफु कक्षाकोठा भित्र छिरे ।
एकछिन त म अलमलमा परेँ । यिनी सर हुन् कि अरु कोही ? यदि सर भएको भए त जान्नु पर्ने म त मान्छे हुँ । मलाई किन कुखुरा बनाएका छन् ? कस्तो अचम्म ! भगवानले मलाई मानिस बनाएर पठाएका छन् भने सर मलाई कुखुरा बनाउँछन् । एक मनले सोचेँ सर त भगवान भन्दा ठुला रहेछन् ।
अर्को मनले भन्यो होईन यी सर त म भन्दा पनि साना छन्, अज्ञानी छन्, अनपढ छन्, वुद्धिहिन छन् । यिनलाई अलिकति पनि ज्ञान हुनुपर्ने बालबालिकालाई सजायँ दिनुहुदैन भन्ने ।
मान्छेलाई कुखुरा बनाउनु हुँदैन अनि होमवर्कको आधारमा कसैको ज्ञान र विवेकको जाँच गर्नुहुँदैन ।
दुईमनको लडाईमा दोस्रो मनले नै जित्यो ।
हुनत कक्षाका सबैले होमवर्क बुझाए तर मेरो मनमा केही कुरा सलवलाई रहे । के उनीहरु सबैलाई त्यो होमवर्क अहिले पनि गर्न आउला ? त्यो कुरा सरले कहाँ जाँच गरे ?
बाबालाई कापी सकिएको छ ल्याईदिनु भनेको ४ दिन भयो, ल्याईदिनु भएन । कापी नभएको मान्छेले के मा गँरु होमवर्क ? होमवर्क गर्ने कापी नहुँदा सबै कुरालाई दिमागमा लेखेको थिएँ मैले, तर सरलाई दिमागको होमवर्क पनि जाँच गनुपर्छ भन्ने ज्ञान आएन ।
चर्को घाममा कुखुरा बनिरहेको छु । शरीर पुरै तातेको छ, पसिनाको मुल फुटेको छ । सुर्यको तातो प्रकाश मेरो फाटेको पाईण्टबाट छिरेर मेरो पछाडीको भागलाई बेस्सरी सेकिरहेको छ, यसरी अझै एक घण्टा सेकिने हो भने होटलमा बेच्ने सेकुवा बन्ने थियो मेरो शरिर ।
केही बेरमा सर मेरो नजिक आए । एउटा लामो र मोटो बाँसको छडीको साथमा । धेरै बेरदेखी दुःख खेपेको मेरो शरीरले मुत्ति पाउने भयो भन्ने आशा थियो । तर आशा, आशामै सिमित रह्यो । ‘भोलीदेखी होमवर्क गर्छस् कि गर्दैनस् ?’ चर्को स्वरले कराउदै अघीदेखी तातीएको र लगभग नाङ्गो अवस्थामा रहेको मेरो शरिरमा त्यो बाँसको लौरेले यसरी बजारे की मानौ उनको वर्षौ देखीको दुश्मन हुँ म ।
ओहो ! कति निर्दयी हुन सकेका यी सर ? यीनका कुनै सन्तान छ कि छैनन् होला ? के उनले आफ्ना सन्तानलाई पनि यस्तै व्यवहार गर्छन् ? कि यिनको माया गर्ने तरिका नै यस्तै हो ? यस्ता प्रश्न मनमा उब्जिरहेका थिए । उनी कठोर र निर्र्दयी देखिन्थे । लाग्थ्यो कुनै दिन विद्यार्थीलाई कुखुरा बनाएर अण्डा समेत पार्न लगाउनेछन् । मलाई लाग्यो यो विद्यालय हैन कुखुरा फार्म हो । यहाँका सबै विद्यार्थी कुखुरा अनि त्यहाँका शिक्षक कुखुरा उत्पादन गर्ने मालिक ।
भोलीदेखी होमवर्क गरेर आईज, नत्र खुट्टासुट्टा भाँचिदिन्छु भन्दै सर अफिस तिर लागे । म चाँही कक्षाकोठा तिर । कक्षाकोठा तिर यसरी जाँदै थिए कि मानौ कुनै अपराधको ठुलो सजाएँ काटेर आएको अपराधी हुँ म ।
जसै म कक्षाकोठा भित्र पँसे पुनः कक्षाकोठामा हाँसोको मेला लाग्यो, सबै जोड जोडले हाँस्न थाले तर म भने मौन थिएँ उही पहिलेको जस्तै गरी ।
अर्को बिषयको कक्षा सुरु भयो । यसपटक म्याडम थिईन् । उनले पनि सबैको होमवर्क जाँच गरीन पहिलेको सरले जस्तै गरी । सवैले होमवर्क बुझाए पहिले जस्तै । म भने फेरी मौन थिएँ किनकी मेरो होमवर्क थिएन । ‘खोई तेरो हात थाप’ ठुलो स्वरले म्याडम कराईन । मोटो बाँसको लौरोले मेरो कलिलो हातमा बेस्सरी बजारीन् । ‘उल्टे हात थाप’ पुनः कराईन । मैले हातलाई उल्टाईदिएँ । उनले त्यसरी नै जोडसंग बाँसको लौरो बजारीन् ।
म्याडम लगभग मेरी आमाकै उमेरकी छन् । कहिलेकाँही आमाले नयाँ चिजहरु ल्याउदा यसरी नै हात थाप भन्नुहुन्थ्यो त्यही सम्झेर हात थापी दिएँ । तर उनको व्यवहार मेरी आमाको भन्दा विल्कुल फरक । मेरी आमा रिसमा पनि झर्केर बोल्न जान्दिनन् । म्याडम खुसीमा पनि नरम बोल्न जान्दिनन् । मेरी आमाको बोलीमा स्नेह र ममता मिसिएको छ, म्याडमको बोलीमा निर्दयीपन र क्रुरता ।
हातमा पिटाई खाईसके पछि पुनः चर्को घाममा कुखुरा बन्ने सजाँए मिल्यो । म चर्को घाममा यसरी कुखुरा बनिरहेको थिए कि मानौ बर्षौ देखीको कुखुरा बन्ने अनुभव छ मलाई । मानव कुखुरा बन्न पोख्त छु म । नारीहरुमा माया ममता हुन्छ भन्ने सुनेको थिएँ तर, किन यति कठोर बनेकी छिन् हाम्री म्याडम ? कि माया गर्ने तरिका नै यस्तै हो ? यस्ता प्रश्न मनमा उब्जिरहेका थिए ।
आखिर किन यसरी सजाएँ दिन्छन् यि सर, म्याडमहरुले ? किन बुझ्दैनन् हाम्रो मर्म ? एकपटक मलाई हिजोको होमवर्क किन गरीनस् ? भनेरे सोधेको मात्र भए म भन्थे हुँला ‘मेरो कापी सकिएको छ, नयाँ किन्ने पैसा छैन ।
फेरी सबै होमवर्क कापी मै लेख्नुपर्छ भन्ने पनि त छैन नि, मैले सबै होमवर्क दिमागमा लेखेको थिएँ । एकपटक हिजो के के पढियो त्यो सुना भनिदिएको भए मात्र म सरर सुनाई दिन्थे । तर, कापिमै चाहिने होमवर्क ?
दिनभरी कुखुरा बन्ने कडा अभ्यास गरेर घर फर्किरहेको थिएँ । मनमा तर्कना खेलिरहेको थियो यस्तो निर्दयी, कठोर मन भएकाहरुबाट कस्तो ज्ञान मिल्ला ?
बाटोमा मान्छेहरुको भिड र हल्लाले मेरो तर्कना भंग भयो । के रहेछ ? एकैछिन हेर्न मन लाग्यो । कालो कोट लगाएको ठुलो भुँडिवाल मान्छे चर्को स्वरमा कराईरहेको थियो बाल शोषण अन्त्य गर्छु, विद्यालयलाई बाल यातना मुक्त बनाउँछु, बालमैत्री समाजको निर्माण गर्छु ...।
दिनभरीको यातनाले हैरान मलाई चुट्किला सुने झैं लाग्यो ।
म जोड जोडले हाँसे । हाँस्दै हाँस्दै घरतिर लागेँ । मान्छेहरु मलाई ट्वाल्ल परेर हेरिरहे ...
(कँडेल, देवचुली कलेज, रजहर, नवलपरासीका विद्यार्थी हुन् । कला र साहित्यमा रुचि राख्ने उनी स्थानीय रेडियोमा कार्यक्रम समेत सञ्चालन गर्छन् ।)
प्रतिक्रिया