काठमाडौं - शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले कक्षा ११ को परीक्षा विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने सुझाव सहित प्रतिवेदन बुझाएको छ । बोर्डका क्षेत्रीय कार्यालयहरु परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सक्षम नहुँदासम्म कक्षा १० को परीक्षा साविकको परीक्षा नियन्त्रण कार्यालयबाटै सञ्चालन गर्ने प्रतिबेदनको सुझाव छ ।
कक्षा ११ को राष्ट्रिय परीक्षा हाल कार्यान्वयनमा रहेको कक्षा ११ र १२ को पाठ्यक्रम पुनव्र्यवस्थापन नहुँदासम्म मात्र सञ्चालन गर्ने समितिले सुझाव दिएको छ । परिमार्जित पाठ्यक्रम अनुसारको परीक्षा सञ्चालन गर्दा कक्षा ११ विद्यालय तहबाटै र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रुपमा परीक्षा वोर्डले सञ्चालन गर्ने उसले सिफारिस गरेको हो ।
शिक्षा ऐनको आठौं संशोधनले गरेको नयाँ व्यवस्था अनुसार वोर्ड, साविकको परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको संगठन तथा व्यवस्थापन सम्बन्धी प्रतिवेदन तयार गर्न गत भदौ १६ गते उक्त समिति गठन गरिएको थियो । समितिका संयोजक रहेका शिक्षा मन्त्रालयका सहसचिव डा. डिल्लीराम रिमाल नेतृत्वको टोलीले तीन महिना लगाएर तयार पारेको उक्त प्रतिवेदन शुक्रबार शिक्षा मन्त्री धनिराम पौडेललाई बुझाएको हो ।
परीक्षा वोर्डका क्षेत्रीय कार्यालयमा सहसचिवको नेतृत्व
प्रतिवेदनमा सात वटै प्रदेशमा सहसचिब सरहको कर्मचारीको नेतृत्वमा राष्ट्रिय परिक्षा वोर्डका क्षेत्रीय कार्यालयहरु रहने उल्लेख छ । यस अघि उच्च माध्यमिक शिक्षा परिषद्मा एक जना मात्रै सहसचिव रहेकोमा प्रतिवेदन कार्यान्वयन हुने हो भने बाँकी ६ जना सहसचिव आवश्यक पर्ने छ । त्यसका लागि वोर्डले आन्तरिक तथा वाह्य प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने हुने वाटो खुुल्ने छ ।
मन्त्रालयले शिक्षा मन्त्रालयका सहसचिब रिमालको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन गरेर ती तीन निकायका कर्मचारी व्यवस्थापन सहित संगठन तथा व्यवस्थापन सर्भे कार्य सम्पन्न गरेर प्रतिवेदन तयार गरेको हो ।
समितिमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौडेल, शिक्षा विभागका तत्कालिन निर्देशक बैकुण्ठ अर्याल, साविकको परीक्षा नियन्त्रण कार्यालयका तत्कालिन नियन्त्रक कृष्णप्रसाद काप्री, परीक्षा बोर्डका सहसचिब दुर्गा अर्याल सदस्य थिए । शिक्षा विभागका उप सचिब आनन्द पौडेल समितिको सदस्य सचिव तोकिएका थिए ।
प्रतिक्रिया