Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

शिक्षक दरबन्दी मिलान नीति फेर्ने तयारी

शुक्रबार, १९ कार्तिक २०७३

भक्तपुर - शिक्षा विभागले शिक्षक दरबन्दी मिलान नीतिलाई फेर्ने योजना बनाएको छ । शिक्षकको दरबन्दी मिलान नभएर दरबन्दी समायोजनको विषय समेट्नुपर्ने अवधारणा विभागले अघि सारेको हो । शिक्षा नियमावली निर्माणको प्रकृया जारी रहेको अवस्थामा दरबन्दी मिलान नीतिलाई परिवर्तन गर्ने तयारी गरेको हो ।

अहिलेको प्रावि तहको शिक्षक दरबन्दीलाई आधारभूत तह अर्थात् १–८ मा समायोजन गर्ने र माध्यमिक तहको दरबन्दीलाई विषयगत रुपमा निर्धारण गरेर अघि बढ्न विभागले नियमावली निर्माण कार्यदललाई सुझाव दिएको मन्त्रालय श्रोतले जनाएको छ ।  

साविकको प्रावि तहको शिक्षक दरबन्दीलाई आधारभूत तहको दरबन्दीमा समायोजन गर्ने भन्ने कार्यक्रम सरकारको नीति, बजेट र कार्यक्रममै उल्लेख भएको स्मरण गराउँदै विभागले नियमावलीमै उक्त विषय समेट्न आन्तरिक लविङ् गरिरहेको श्रोतले जनाएको छ ।

शिक्षक दरबन्दी मिलानका विषय जिल्ला शिक्षा कार्यालयदेखि विभाग र मन्त्रालयसम्मको टाउको दुखाइको विषय बन्दै आएको छ । निमावि र मावि तहका विद्यालयमा आवश्यकता अनुसार दरबन्दी नहुँदा उत्पन्न समस्यालाई समाधान गर्न विभागले प्रत्येक वर्ष शिक्षक दरबन्दी मिलान गर्न ७५ वटै जिल्लालाई परिपत्र गर्दै आएको छ । तर, त्यसको सफल कार्यान्वयन नहुँदा समस्या जटिल बनिरहेको छ । उक्त समस्या समाधान गर्ने उद्देश्यसहित शिक्षक दरबन्दी मिलान नीतिलाई परिवर्तन गर्न लागिएको विभागको भनाइ छ ।

‘विभिन्न कारणले शिक्षक दरबन्दीमा अवरोध आउने गरेको छ, सोही कारण कतै शिक्षकको खातैखात छ, कतै पुगेका छैनन्, सोही समस्यालाई समाधान गर्ने गरी विभागले खाका बनाउँदै छ ।’ विभागका निर्देशक एवं प्रवक्ता अणप्रसाद न्यौपानेले भने ।

देशभर शिक्षक दरबन्दी कति ?

यसैविच देशभर १ लाख ७ हजार ८ सय ६७ स्थायी दरबन्दीका शिक्षक रहेको शिक्षा विभागले जनाएको छ ।

७५ वटै जिल्ला शिक्षा कार्यालयबाट संकलन गरेको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी शिक्षक दरबन्दी प्राथमिक तहमा छ । जहाँ ७८ हजार ९ सय ११ जना शिक्षक कार्यरत छन् ।
त्यस्तै निम्न माध्यमिक तहमा १६ हजार २ सय २४ र माध्यमिक तहमा १२ हजार ७ सय ३२ शिक्षक कार्यरत रहेको विभागका उपनिर्देशक एवं शिक्षक व्यवस्थापन शाखाका प्रमुख तेजप्रसाद काफ्लेले जानकारी दिए ।

प्राथमिक तहका शिक्षक दरबन्दीमध्ये सबैभन्दा बढी दरबन्दी झापा र निमावि तथा मावि दरबन्दी भने काठमाडौंमा बढि दरबन्दी रहेको विभागले जनाएको छ । प्रावि दरबन्दी अन्तर्गत झापामा २ हजार ३ सय ११, निमावि र मावि दरबन्दी अन्तर्गत क्रमशः ७ सय ९५ र ७ सय २६ रहेको छ ।

यसैगरी प्रावि, निमावि र मावि गरी तीनै तहमा गरी सबैभन्दा बढी दरबन्दी काठमाडौं जिल्लामै रहेको पनि विभागको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार काठमाडौंमा मात्र ३ हजार ५ सय ३८ दरबन्दी छ ।

प्रतिक्रिया