काठमाडौं १९ कात्तिक /स्थापनाको डेढ दशक भइसक्दा पनि बौद्धिक अपांगता भएका बालबालिकाको स्रोत केन्द्र सञ्चालनमा उस्तै छ । केन्द्रको आफ्नै भवन अहिलेसम्म बन्न सकेको छैन । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले उपलब्ध गराएका दुइटा कोठामा सीमित छ केन्द्र ।
२०५८ देखि सञ्चालित केन्द्रले हालसम्म पनि छात्रवृत्तिको पुरानै स्केलको भरमा बौद्धिक अपांगता भएका बालबालिकालाई पढाउनेदेखि छात्रावासको सुविधासमेत दिएको छ । हाल केन्द्रमा बौद्धिक अपांगता भएका एघार बालक संरक्षित छन् । उनीहरूको सहयोगका लागि एक जना आयाको व्यवस्था गरिएको छ ।
प्रत्येक विद्यार्थीबापत मासिक २ हजार ५ सय रुपैयाँको दरले वर्षका १० महिना सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यही रकमबाट बालकहरूको खानपिन, औषधिमूलो, पोसाक आदि सम्पूर्ण सामग्रीको व्यवस्था गर्नुपरेको स्रोत शिक्षक रामनरेश यादवले बताए । त्यो रकम पनि समयमा निकासा नपाउँदा केन्द्र सञ्चालन गर्न हम्मेहम्मे पर्छ । तीन महिनायताको केन्द्रको रकम अझै निकासा नभएर समस्या भएको उनले गुनासो गरे ।
‘दसैं अघि सबै विद्यालयहरूले तीन महिनाको तलब रकम निकासा पाए, हामीले पाएनौं, किराना पसलबाट रासनपानी सधैं उधारोमा ल्याउने गरेका छौं,’ यादवले भने, ‘तीन महिना कटेपछि साहुले पनि करकर गर्न थाल्छन् । दूधसमेत उधारोमै लिने गरेका छौं ।’ हालकै छात्रवृत्ति रकमले पनि बालकहरूलाई प्रत्येक बिहान चिया, बिस्कुट, दिउँसो नास्ता, दुई छाक खाना र प्रत्येक शुक्रबार मासु दिने गरिएको उनले बताए ।
हालको स्रोत केन्द्र भवनमा एउटै कोठामा छात्रावास र खाना पकाउने कामसमेत गर्नुपरेकाले समस्या भएको आया लक्ष्मीमाया क्षत्रीले बताइन् । साँघुरो कोठामा खाना पकाउने र सुत्ने काम गर्नुपर्दा अप्ठ्यारो हुनुका साथै बालकहरूले ग्यास चुलोको आगो बालेर समयसमयमा जोखिम निम्त्याउने गरेको उनले सुनाइन् ।
बौद्धिक अपांगता भएका बालक भएकाले उनीहरूलाई चौबीसै घण्टा निगरानी गरेर बस्नुपरेको उनले बताइन् । विद्यालयको परिसरमा कम्पाउन्ड वाल नभएकाले बेलाबेलामा बालकहरू अन्जानमै भाग्नेसमेत गरेकाले समस्या हुने गरेको उनले बताइन् । हालकै भवन पनि चुहिने भएकाले वर्षातको समयमा ओछ्यानसमेत भिज्ने गरेको छ ।
छात्रावासका लागि एउटा मात्रै कोठा उपलब्ध भएकाले आफूले चाहेर पनि केन्द्रमा बौद्धिक अपांगता भएका बालिकाहरूलाई राख्न नसकेको स्रोत शिक्षक यादव बताउँछन् । जिल्लामा हाल २ सयभन्दा बढी यस्ता बौद्धिक अपांगता भएका बालबालिका रहेको उनको अनुमान छ । जिल्लामा यस्तै अर्को कक्षा पोखरिया नगरपालिकामा सञ्चालित छ । त्यहाँ हाल आधा दर्जन बालकहरू अध्ययनरत छन् ।
हाल बढेको महँगीअनुसार मासिक छात्रवृत्ति रकम २ हजार ५ सयबाट वृद्धि गरी कम्तीमा ४ हजार रुपैयाँ पुर्याउनुपर्ने यादव बताउँछन् । सामान्य विद्यार्थी जस्तो बौद्धिक अपांगता भएका विद्यार्थीलाई पढाउने पाठ्यक्रम र माध्यम सहज नहुने भएकाले उनीहरूलाई व्यवहार परिवर्तन, सामान चिनाउने र चाडपर्व आदिअनुसार त्यस्ता पर्वमा प्रयोग हुने सामान तथा खाने परिकार आदिबारे शिक्षा दिएर समाज तथा परिवारमा पुन:स्थापनाको प्रयास गरिन्छ ।
यस्ता बालकहरूलाई पढाउन प्रोजेक्टर भए आफूलाई अत्यन्त सहज हुने स्रोत शिक्षक यादवले बताए । पढाइसँगै सामूहिक पशुपालन तथा खेतीपातीमा संलग्न गराउन सके उनीहरूलाई समाजमा पुन:स्थापना हुन सहज हुने भएकाले सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको माग छ ।
छिमेकी लखनपुर गाविसमा दुई बिघा ऐलानी जग्गा रहेको र आफूले उक्त जग्गा स्रोत केन्द्र स्थापना तथा सञ्चालनका लागि लामो समयदेखि प्रयास गरिरहे पनि त्यो सफल हुन नसकेको उनले बताए । ‘यसका लागि मैले जिल्लादेखि केन्द्रसम्म धाएँ,’ उनले भने, ‘तर आश्वासनबाहेक केही पाइनँ । त्यो ऐलानी दुई बिघा जग्गा केन्द्रलाई उपलब्ध गराइए जिल्लाको दुवै केन्द्र त्यहींबाट सञ्चालन हुन्छ । बालिकाहरूलाई पनि केन्द्रमा राख्न सकिन्छ ।तीपाती र पशुपालनमा रमाएर उनीहरू स्वावलम्बी पनि बन्छन् ।’
शंकर आचार्यले कान्तिपुरमा लेखेको खबर ।
प्रतिक्रिया