Edukhabar
आइतबार, ०२ मंसिर २०८१
गतिविधि

मुखर्जीलाई महाविद्यावारिधि : धुलिखेलको दीक्षान्त भद्रकालीमा

विहीबार, १८ कार्तिक २०७३

काठमाडौं - नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौँ विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गरेको छ ।

विश्ववद्यालयका कुलपतिको हैसियतमा प्रधानमन्त्री पुष्पकमल दाहालले मुखर्जीलाई सम्मानार्थ महाविद्यावारिधि प्रदान गरेका हुन् । कार्यक्रममा विश्वविद्यालयका सहकुलपति शिक्षा मन्त्री धनिराम पौडेल, उपकुलपति रामकण्ठ मकाजु लगायतको उपस्थिती थियो ।

यस अघि धुलिखेलमा अवस्थित विश्वविद्यालयमै गर्ने भनिएको दीक्षान्त समारोह त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा गरिएको हो । सुरक्षाका कारण धुलिखेल जान नसक्ने भन्दै कार्यक्रम भद्रकालीमा गरिएको हो ।

नेपाल भ्रमणका बेला मुखर्जीलाई धुलिखेल समेत लैजाने भारतीय दुतावासले तयारी गरेको थियो । उक्त अवसरमा विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने तय भएको थियो । विश्वविद्यालयको विभिन्न कार्यक्रम तथा भौतिक संरचनामा भारतको सहयोग रहँदै आएको छ ।

यस अघि विश्वविद्यालयले संस्कृतीविद् सत्यमोहन जोशी र सबै भन्दा पहिला भारतीय नेता करण सिंहलाई महाविद्यावारिधि प्रदान गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा भारतीय राष्ट्रपति मुखर्जी तीन दिने राजकीय भ्रमणमा बुधबार नेपाल आएका हुन् । भ्रमणका क्रममा मुखर्जी विभिन्न कार्यक्रममा सहभागी हुने छन् । शुक्रबार जनकपुर र पोखरा भ्रमण गरेर उनी भारत फर्कने कार्यक्रम छ ।

तस्विर : ट्विटर / ईण्डिया ईन नेपाल

प्रतिक्रिया