काठमाडौं १८ कात्तिक / सरकारले चालू आर्थिक वर्षमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
शिक्षा मन्त्रालयअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि यो वर्ष २५ प्रतिशत बजेट वृद्धि गरिएको छ । सरकारले सञ्चालन गरेका अन्य प्राविधिक तथा व्यावसायिक क्षेत्रका कार्यक्रमको भने बजेट वृद्धिदर स्थिर छ ।
सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सञ्चालन गरेका अन्य ३ वटा कार्यक्रमको बजेट घटाए प्राविधिक तथा व्यावसायिक शिक्षा (सीटीईभीटी)को भने बढाएको छ ।
सीटीईभीटीका सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशंकर घिमिरेले कार्यक्रम र शिक्षालयको वृद्धिसँगै बजेट पनि वृद्धि भएको बताए । यस वर्ष सीटीईभीटीले लगभग आधादर्जन विभिन्न नयाँ कार्यक्रम थप गरेको जनाएको छ ।
कार्यक्रम थप भएपछि यो वर्ष सरकारले मनमोहन स्मृति पोलिटेक्निक र सीटीईभीटीका लागि गत वर्षको तुलनामा बजेट वृद्धि गरेको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि हाल सरकारले ५ वटा कार्यक्रमका लागि बर्सेनि बजेट छुट्याउँदै आएको छ । अन्य साना परियोजनाको बजेट स्थिर रहे पनि प्राविधिक तथा व्यावसायिक क्षेत्रको समग्र बजेट भने यो वर्ष २८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
सरकारले गत वर्ष विभिन्न व्यावसायिक तथा प्राविधिक शिक्षाका लागि २ अर्ब ४० करोड ९४ लाख २६ हजार छुट्याएको थियो ।
यी कार्यक्रमका लागि यो वर्ष ३ अर्ब ३८ करोड ५९ लाख ६४ हजार विनियोजन गरिएको छ । यो रकम गत आर्थिक वर्षको तुलनामा ९७ करोड ६५ लाख ३८ हजार रुपैयाँले बढी हो ।
मन्त्रालयले हाल (सीटीईभीटी) सहित व्यावसायिक तथा प्राविधिक शिक्षाका लागि पढाइ सीप प्रवद्र्धन कार्यक्रम, सीप विकास परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना र मनमोहन स्मृति पोलिटेक्निकलाई बजेट विनियोजन गर्दै आइरहेको छ ।
शिक्षा मन्त्रालयले गत वर्षको तुलनामा सीटीईभीटीका लागि २५ प्रतिशत अर्थात् ५५ करोड ४१ लाख ३५ रुपैयाँ थप गरेको छ ।
सरकारले अन्य दातृ निकायबाट सञ्चालन हुने बाहेक चालू आवमा शिक्षा मन्त्रालयका लागि छुट्याएको बजेटको १.८७ प्रतिशत बजेट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का लागि विनियोजन गरेको छ ।
शिक्षा मन्त्रालयले गत आर्थिक वर्षमा सीटीईभीटीको विशेष कार्यक्रम सहितका लागि १ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यस वर्ष यो शीर्षकमा २ अर्ब १७ करोड १८ लाख छुट्याएको शिक्षा मन्त्रालयको आव ०७३/७४ को वार्षिक विकास कार्यक्रममा उल्लेख छ ।
सीटीईभीटीपछि सरकारले सीप विकास परियोजनाका लागि धेरै बजेट विनियोजन गरेको छ । यसका लागि चालू आवमा ६४ करोड ७० लाख ९ हजार विनियोजन गरेको छ ।
सीटीईभीटीले यो वर्ष देशभरका हलिया, कमैया, चेपाङ तथा लोपोन्मुख जनतातिका छात्रछात्रा र विपन्न मुसलमान छात्राहरूलगायत ७ जिल्लाका छात्रछात्रालाई प्राविधिक डिप्लोमा ४०० जनालाई छात्रवृत्ति दिने भएको छ ।
यसैगरी ३ सय ८० जनालाई १ वर्षे प्रोफेसनल कोर्स अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने राष्ट्रिय योजना आयोगको वार्षिक कार्यक्रमा उल्लेख छ । यसरी नै बढ्दो विद्यार्थी चापलाई थेग्न देशभर ७ वटा पोलिटेक्निक स्थापना गर्ने भएको छ ।
आवमा सरकारले ३५ हजारको सीप परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । देशभरमा सञ्चालन रहेका अन्य विभिन्न पोलिटेक्निक इन्स्टिच्युटहरूको भवन निर्माण गर्ने र त्यसका लागि आवश्यक उपकरण उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सरकारले हालसम्म ३१ आंगिक, १५ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र निजीस्तरमा ३२२ वटा गरी ३६८ वटा डिप्लोमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
कारोबारमा गोपाल संग्रौलाले लेखेको खबर ।
प्रतिक्रिया