काठमाडौं १५ कात्तिक /छिमेकीले खसी ढालेर दसैं मान्दा खिम्ती ४ बसेरीकी १२ वर्षीया सपना खड्काले कुखुराको एक किलो मासु किनिन् । उनलाई पनि खसी ढाल्ने रहर नभएको त होइन । बाबुआमा नै बोल्न नसक्ने भएपछि उनको दसैं एक किलो मासुमै सकिएको छ । भन्छिन्, ‘पैसा छैन ।’ सम्पत्तिको नाममा ३ मुरी धान आउने खेत छ । त्यो पनि अर्काले खेती लगाइदिनुपर्छ । परिवारमा अरू कोही छैनन् । छिमेकीले खेतीपातिमा सघाइदिन्छन् । त्यसकै भरमा चलेको छ ।
‘बाआमा कमाउन सक्नु हुन्न, मैले कताबाट ल्याएर धेरै मासु किन्नु ?’ सपना थप्छिन्, ‘यो साल त भूकम्पको पैसाले दसैं मानियो ।’ उनले खिम्ती बजार गएर एउटा घाँगर किनिन् । सपना गाउँकै स्कुलमा ४ कक्षामा पढ्छिन् । उनलाई पढाइ कहाँ पुगेर रोकिने हो भन्ने चिन्ता छ । बाबुआमासँग इसाराले कुरा गर्ने सपना अहिलेसम्म बनिबुतो गरेर भए पनि बाबुले कापीकलम किनिदिएको बताउँछिन् ।
बुबा लाटो खड्का (नागरिकताको नाम) को कहिलेकाहीँ स्वर निस्कन्छ तर बुझिने होइन । उनी ४५ वर्षका भए । उनकी पत्नीको त वर्ष पनि थाहा छैन । गाउँलेले ‘लाटी खड्किनी’ भनेर बोलाउँछन् । उनीसँग नागरिकता छैन । बनाउने सुरसार पनि छैन । १५ वर्षअघि खिम्ती बजारमा भेटिएकी उनलाई खड्काले ल्याए । विवाहको कुनै औपचारिक कार्यक्रम भएन । पत्नी बनाएर ल्याएपछि गाउँलेले उनीहरूको घरजम गराउन सहयोग गरे । सपना जन्मिएपछि गाउँलेले खड्किनीलाई स्तनपान गराउन सिकाइदिए । त्यसको ३ वर्षपछि जन्मेकी अर्की छोरीको एक वर्षमै मृत्यु भयो । उनी के रोगले बितिन् पत्तो छैन ।
स्थानीय यामबहादुर थापाका अनुसार उनको परिवारमा अरू कोही छैन । गाउँमा ठूलाबाबुका छोरा एक जना छन् । उनैले सहयोग गर्छन् । यो वर्ष खेती लागेन । बाँदरले नोक्सानी गर्न थालेपछि पाखो बारीमा धेरैले खेती गर्नै छाडे । घर सिागार्न गाउँभरिका घरमा खड्काले नै माटो बोकेर पुर्याए । कसैले ३ सय दिए, कसैले खान मात्र दिए । ज्यालाको पैसा तेल, मसला किन्दै सकियो । श्रीमती खड्का कतै हिँड्दिनन् । बिहान–बेलुका खाना बनाउन र एउटा गाईलाई घाँस काट्दैमा दिन बित्ने गरेको छ । भूकम्पले बास भत्काएपछि उनको परिवार टहरामा बस्दै आएको छ । ‘अब घर बनाउने सुरसार छ,’ उनले हातले घरको आकार दिए । सपनाले बाबुले भनेको कुरा अरूलाई बताइदिइन् । बाआमा दुवै सानले कुरा गर्दा उनी हातको इसारा सबैलाई बुझाउँछिन् । केही दिनअघि मन्थली आएका खड्का र उनकी पत्नीले छोरीलाई पढाइदिन आग्रह गरे ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया