काठमाडौं १४ कात्तिक / पाँचदेखि १२ वर्षका सात लाख ७० हजार २८८ बालबालिका अझै विद्यालयबाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सो उमेर समूहका ५३ लाख ७४ हजार २६३ बालबालिका छन् र सो सङ्ख्याको १४.३ प्रतिशत विद्यालयबाहिर छन् ।
शिक्षा मन्त्रालय, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को)ले तयार गरेको विद्यालयबाहिर रहेका बालबालिकासम्बन्धी नेपाल अध्ययन प्रतिवेदनले त्यस्तो तथ्य सार्वजनिक गरेको हो ।
प्राथमिक शिक्षा उमेर समूह (पाँचदेखि नौ वर्ष उमेर)का पाँच लाख ७४ हजार ४४७ बालबालिका अझै विद्यालयको पहुँचबाहिर रहेको प्रतिवेदनले औँल्याएको छ । त्यस्तै निम्न माध्यमिक उमेर समूह अर्थात् १० देखि १२ वर्ष उमेर समूहका एक लाख ९५ हजार ८४१ बालबालिका विद्यालयबाहिर छन् ।
प्रतिवेदनले प्राथमिक उमेर समूहका दुई लाख ८० हजार ३६६ बालक तथा दुई लाख ९४ हजार ८१ बालिका र निम्न माध्यमिक उमेर समूहका ८५ हजार ९०६ बालक तथा एक लाख नौ हजार ९३५ बालिका विद्यालयबाहिर रहेको देखाएको छ । यसबाट विद्यालयबाहिर रहेका बालकभन्दा बालिकाको सङ्ख्या बढी रहेको प्रस्ट हुन्छ ।
मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले गरिबी, विद्यालय अनुकूल हुन नसक्दा, सामाजिक परिस्थिति, अपाङ्गता लगायतका कारण ती बालबालिका विद्यालयबाहिर रहन पुगेको बताउँदै भन्नुभयो, “संविधान र शिक्षा ऐनमा अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था भएकाले अब विद्यालयबाहिर रहेका सबैलाई भित्र्याउनैपर्छ । ”
प्रतिवेदन अनुसार विद्यालयबाहिर मुस्लिम समुदायका बालबालिका सबैभन्दा बढी एक लाख १० हजार १२८ विद्यालयबाहिर छन् ।
त्यस्तै जातीयताका आधारमा क्षेत्रीका बालबालिका विद्यालयभन्दा बाहिर सबैभन्दा बढी छन् । नेपाल अध्ययन प्रतिवेदनले क्षेत्रीका ७५ हजार २१७ बालबालिका अझै विद्यालयबाहिर रहेको देखाएको छ । विद्यालयबाहिर कामीका ३४ हजार ४४९, मगरका ३४ हजार ३२१, मुसहरका २९ हजार ७६४, तामाङका ३८ हजार ४२०, यादवका ५५ हजार ३७९, थारूका २९ हजार आठ सय, दुसाधका १७ हजार ८३५, चमारका २६ हजार ११७, ब्राह्मण (पहाडी)का २४ हजार ३७२ बालबालिका छन् ।
विद्यालयबाहिर कुसुन्डाका पाँच, नुरङका पाँच, लोहारुङका १२, साङ्पाङका २८, किसानका २२, ल्होपाका ३९, ल्होमीका ५७, कलारका ५२, जिरेलका ४८, अन्य जनजातिका ३५, राउटेका ५६, थकालीका ८५, वलुङका ३० बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिशतका आधारमा डोमका सबैभन्दा बढी ५८.४ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । डोमका पाँचदेखि १२ वर्ष उमेरका तीन हजार २९९ बालबालिकामध्ये एक हजार ९२५ जना विद्यालयबाहिर छन् । त्यस्तै प्रतिशतका आधारमा सबैभन्दा कम आठपहरिया बालबालिका विद्यालयबाहिर छन् । सो जातिका एक हजार ७० बालबालिका रहेकामा ४६ जनामात्र विद्यालयबाहिर छन् ।
प्रतिवेदनले हरेक पाँचमध्ये एक बालबालिका अझै पूर्वप्राथमिक विद्यालयभन्दा बाहिर रहेको तथ्य पनि उजागर गरेको छ । यो सङ्ख्या पूर्वप्राथमिक उमेरको २२ प्रतिशत हुन आउँछ ।
हिमाली क्षेत्रमा चार वर्ष उमेर नाघेका २४.३ प्रतिशत बालबालिका पूर्वप्राथमिक वा प्राथमिक तहमा अझै भर्ना भएका छैनन् । नेपालमा पाँचदेखि १२ वर्ष उमेर समूहका ५२ लाख बालबालिका प्राथमिक र निम्न माध्यमिक तहमा अध्ययनरत छन् । तीमध्ये ५१.३ प्रतिशत छात्र र ४८.७ प्रतिशत छात्रा छन् । २०६८ सालको राष्ट्रिय जनगणनाले सात लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको देखाएको थियो । तीमध्ये पाँच लाख ७० हजार प्राथमिक उमेर समूहका र दुई लाख निम्न माध्यमिक उमेर समूहका थिए ।
कक्षा १ मा भर्ना हुने गरेकामध्ये ४० प्रतिशत बालबालिकाले पहिलोपटक विद्यालयमा प्रवेश पाएका हुन् । उनीहरूसँग पूर्वप्राथमिक तहको अनुभव हुने गरेको छैन । कक्षा १ मा दोहो¥याउने दर घट्न नसकेको पनि प्रतिवेदनले औँल्याएको छ ।
प्रतिवेदन अनुसार प्राथमिक तहमा भर्ना भएकामध्ये ८६.८ प्रतिशत मात्र कक्षा ५ मा पुग्ने गरेका छन् र तीन चौथाइ अर्थात् ७४.६ प्रतिशतमात्र कक्षा ८ सम्म पुग्ने गरेका छन् ।
प्रकृति अधिकारीले गोरखापत्रमा लेखेको खबर ।
प्रतिक्रिया