काठमाडौं - सिन्धुली र रामेछापका थप दुई विद्यालय छनौटको निर्णय भएपनि भूकम्पबाट अति प्रभावित १४ जिल्लामा बनाउने भनिएको नमूना विद्यालय छनौटको काम अझै पुरा हुन सकेन । शुक्रबार शिक्षा मन्त्री धनिराम पौडेलले सिन्धुलीको भनुयायी स्थित कमला उच्च मावि र रामेछापको ठोसे स्थित शारदा उच्च माविलाई नमूना विद्यालय बनाउने निर्णय गरेका छन् ।
भूकम्पको १८ महिना पछि पनि ललितपुरको विद्यालय भने छनौट हुन नसकेको हो । यस अघि गत साउनमै अरु ११ जिल्लाका विद्यालय छनौट भईसकेको थियो । विद्यालयहरुको दवाव चर्को भएका कारण दुई चरणमा निर्णय गर्दा पनि ललितपुरको छनौट गर्न नसकेको मन्त्रालय श्रोतले जनाएको छ ।
'ललितपुरमा राणाकालमा बनेका देखि देशकै उत्कृष्ट विद्यालय समेत छन्' मन्त्रालय श्रोतले भन्यो, 'अहिले नमूनामा छनौट नहुने हो भने यस अघि किन उत्कृष्ट भनेको त ? भन्ने देखि ईतिहास देखाउँदै दावी पेश गर्ने सम्म छन् । '
यही दावीका कारण जिल्ला शिक्षा कार्यालयलाई निर्णय गर्न गाह्रो भएकोले शुक्रबार पनि ललितपुरका बारेमा निर्णय हुन नसकेको उक्त श्रोतको दावी छ । ग्रामिण भेगको विद्यालय छनौट गर्नु पर्ने शिक्षा मन्त्री पौडेलको धारणा भएपनि शहरी भेगका त्यस्ता विद्यालयहरुले मन्त्रालयका उच्च कर्मचारी मार्फत् दवाव दिईरहेका उक्त श्रोतको दावी छ ।
दातृ निकायको सहयोगमा बन्ने नमूना विद्यालयहरु अत्याधुनिक प्रविधि जडित आवासीय हुने छन् । यस्ता नमूना विद्यालयको कक्षा कोठा देखि सभा हल सम्म अत्याधिुनिक बनाईने छ । प्रयोगशाला, पुस्तकालय, देखि प्राथमिक उपचार कक्ष र छात्र छात्राको फरक फरक शौचालय निर्माण गरिने छ । ब्यवस्थित खेल मैदान, इन्टरनेट सहित कम्प्यूटर र फोटोकपी लगायत अन्य समाग्रहीहरु समेत त्यस्ता विद्यालयमा हुने छन् । नमूना विद्यालय निर्माणको ढाँचा अट्ने आफ्नै जग्गा भएका विद्यालयहरुलाई छनौट गरिएको छ ।
यस अघि छनौट भएका ११ वटा नमूना विद्यालयमा दोलखाको हनुमन्तेश्वर मावि काब्रे, काभ्रेको प्रभा मावि कात्तिके देउराली, नुवाकोटको त्रिभुवन त्रिशुली मावि बिदुर, सिन्धुपाल्चोकको बाघ भैरव मावि ठोकर्पा, रसुवाको कालिका हिमालयन मावि धैबुङ, मकवानपुरको जनप्रिय मावि हेटौडा, धादिङको निलकण्ठ मावि धादिङबेसी छन् । त्यस्तै गोरखाको महेन्द्र मावि गोरखा, काठमाडौंको जनसेवा मावि पाँगा र भक्तपुरको श्रीपद्म मावि दरबार स्क्वायर र ओखलढुङगाको रुम्जाटार मावि छनौट भईसकेका छन् ।
एडीबीको सहयोगमा बन्ने थप ५ विद्यालय छनौट
यसैबिच एसियाली विकास बैंक (एडीबी) लाई थप पाँच जिल्लाका पाँच विद्यालय बनाउन दिने निर्णय भएको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट काभ्रेको धलिखेल स्थित सञ्जिवनी उमावि, सिन्धुली छाप स्थित कपिलाकोट उमावि, सिन्धुपाल्चोकको चौतारा स्थित कृष्णरत्न उमावि, रामेछापको लखनपुर स्थित कालिका उमावि र ओखलढुङ्गाको रामपुर स्थित वरुणेश्वर उमावि एडीबीलाई बनाउन दिने निर्णय भएको हो ।
भत्किएका विद्यालय बनाउन प्रतिवद्धता जनाएको एडीबीले भूकम्पको १७ महिना पछि गत असोज १८ गते काभ्रेको महादेवस्थान ७ नौविसे स्थित कालीदेवि आधारभूत विद्यालयबाट निर्माणको काम शुरु गरेको छ ।
भूकम्प प्रभावित १४ जिल्ला मध्ये एडीवीले ८ जिल्लाका ७ सय वटा विद्यालय बनाउने प्रतिबद्धता जनाएको थियो । काभ्रे सहित उपत्यकाका काठमाडौं तथा भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीका विद्यालय बनाउने एडीवीको प्रतिबद्धता छ । यसका लागि एडीवीले ९ अर्ब १६ करोड रुपैंया छुट्याएको छ ।
विद्यालय भवन निर्माणका लागि एडीबी र जापानीज सहयोग नियोग जाइकाले तीन वर्षमा एक हजार पाँच सय विद्यालय निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया