Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

सैनिक परिवारको सहयोगमा विद्यालय

शुक्रबार, १२ कार्तिक २०७३

काठमाडौं १२ कात्तिक / भूकम्पले भवन भत्काएपछि एउटै कोठामा पढ्दै आएका विद्यार्थी अब छुट्टाछुट्टै कक्षामा पढ्न पाउने भएका छन् ।

भारते २ बेलघारीको ५ कक्षासम्म पढाइ हुने रत्न प्राविका विद्यार्थी झन्डै डेढ वर्षदेखि एउटै कोठामा पढ्दै आएका थिए । बालविकाससहित ४० जना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँदै आएकोमा भूकम्प प्रतिरोधात्मक क्षमताको नयाँ विद्यालय भवनमा उनीहरूलाई पढाउन थालिएको छ । सैनिक श्रीमती संघको स्रोत र साधनमा विद्यालयको ६ कोठे २ तले नयाँ भवन निर्माण भएको छ । विद्यालयका प्रअ सरस्वती पण्डितका अनुसार नयाँ भवनको तल्लो तलामा १ देखि ३ कक्षाका विद्यार्थी राखिएको छ । माथिल्लो तलामा कार्यालय, कम्प्युटर कक्षा र तालिम हल राखिएको छ । ‘भूकम्पले क्षति पुर्‍याएपछि भत्किएका ३ वटा कक्षालाई मर्मत गरेर तत्कालका लागि सञ्चालनमा ल्याएका थियौं,’ प्रअ पण्डितले भनिन्, ‘नयाँ भवन बनेपछि सबैलाई सजिलो भएको छ ।’
सैनिक श्रीमती संघको स्रोत र साधन साथै नेपाली सेनाको लमजुङ उदिपुरस्थित पशुपतिप्रसाद गणको प्राविधिक सहयोगमा निर्मित विद्यालय भवनको बिहीबार प्रधान सेनापति राजेन्द्र क्षत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रीता क्षत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । औपचारिक कार्यक्रमलाई सम्बोधन नगरेका प्रधान सेनापति क्षत्रीले भवन निरीक्षणको क्रममा नयाँ बनेको भवनले विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिमा नयाँ जोस र जाँगर थपिने विश्वास व्यक्त गरे ।
अध्यक्ष क्षत्रीले सामाजिक एवं कल्याणकारी कार्यक्रम गर्दै आएकोमा भूकम्पपीडित बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले भवन निर्माणमा सहयोग गरेको बताइन् । ‘हाम्रो सानो सहयोगले बालबालिकाको भविष्य बन्छ भन्ने ठानेर सहयोग गर्‍यौं,’ उनले भनिन्, ‘हामीले धरहरा निर्माणका लागि २५ लाख र धुर्मुस–सुन्तली फाउन्डेसनलाई १४ लाख सहयोग गरेका छौं ।’
पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शुभाङ्त कटवालले सैनिक–नागरिक सम्बन्ध सुदृढीकरण कार्यक्रमअन्तर्गत नेपाली सेनाले विद्यालय भवन निर्माणमा सहयोग गरेको बताए । त्यस अवसरमा विद्यालयलाई जग्गा प्रदान गर्ने जंगबहादुर थापा र विद्यालयमा सबैभन्दा धेरै चन्दा दिने चमेली श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सहायक जिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराईले सरकारी तवरबाट विद्यालय भवन पुनर्निर्माण हुन नसकेपछि सैनिक परिवारले बनाइदिएकोमा खुसी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टीकामान श्रेष्ठले विद्यालयको भौतिक संरचना राम्रो भएपछि शैक्षिक गुणस्तर पनि सुध्रिने विश्वास व्यक्त गरे ।

आश गुरुङले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया