काठमाडौं - एमबीबीएस प्रवेश परीक्षामा फेल भईसकेका भारतीय विद्यार्थीलाई पास गराएरै भएपनि उनीहरुलाई टिकाइराख्ने खेल शुरु भएको छ । काठमाडौं विश्वविद्यालय केयु अन्र्तगतका अधिकाँश मेडिकल कलेजमा शुरुमै एडभान्स दिएर सहज प्रवेशको प्रतिक्षामा रहेका भारतीय विद्यार्थीलाई ‘रिटोटलिङ’ गरेरै भए पनि पास गराउने कोशिस भएको हो ।
भरतपुर मेडिकल कलेजमा भर्ना हुने गरी एडभान्स रकम बुझाएका भारतको गुजरातका एक विद्यार्थी एडुखबरको सम्पर्कमा आएका छन् । आफू परीक्षा उत्तीर्ण हुन नसके पनि कलेजले रिटोटलिङ गरेर भएपनि उत्र्तीर्ण गराएर भर्ना लिने बताएको उनको दावी छ । आफ्ना अन्य साथीहरु पनि विभिन्न कलेजको यस्तै आश्वासनमा कुरेर बसेको उनको भनाई छ ।
केयु अन्तर्गतका नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मण्पिाल मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज लगायतका मेडिकल कलेजमा भारतीय विद्यार्थीको बाहुल्य रहने गरेको विगत छ ।
नेपाल मेडिकल काउन्सिलका अनुसार भारतका मात्रै करिब ४ सय विद्यार्थीले एमवीवीएस प्रवेश परीक्षामा भाग लिएका छन् । अधिकाँश विद्यार्थी प्रवेश परीक्षामा अनुत्तीर्ण भएको स्रोतले जानकारी दिएको छ । भारतीय विद्यार्थीलाई कलेजहरुले ४५ देखि ६० लाख भारुमा मोलमोलाई गरेको उक्त श्रोतको दावी छ । नेपाली विद्यार्थीले ५० लाख नेपाली शुल्क भुक्तानी गर्दा भारतीयले त्यत्ति नै भारुमा भुक्तानी गर्छन् । त्यसले गर्दा कलेजहरुलाई अतिरिक्त आम्दानी हुने गरेको छ ।
कतिपय विद्यार्थीबाट कलेजहरुले परीक्षा अगावै एडभान्स स्वरुप २० लाख भारुसम्म लिईसकेका छन् । कलेज सञ्चालकहरुले त्यस्तो कार्य आफुहरुले नगरेको दाबी गर्दैं आएका छन् । परीक्षा पास हुनेलाई मात्र भर्ना लिएको उनीहरुको दाबी छ ।
मेडिकल कलेज आवद्ध एशोसियनका अध्यक्ष डा. शुरेस कनौडियाले त्यस्तो कार्यबाट पास गराउन सक्ने संभावना नरहेको बताए । उनले भने ‘ विदेशी विद्यार्थीलाई कोटा निर्धारण गरेर परीक्षाको व्यवस्था गरिनु पर्छ ।’ परीक्षाको व्यवस्था न्यायिक नभएको उनले गुनासो गरे । रिटोटलिङ गरेर पास हुने भन्ने कुरामा आफुलाई विश्वास नरहेको उनले बताए । परीक्षामा फेल भएका विद्यार्थी कलेजले कसैगरी भर्ना लिन नमिल्ने उनको भनाई छ ।
त्रिबि अन्र्तगतका युनिभर्सल भैरहवा,चितवन मेडिकल कलेज चितवन, गण्डकी पोखरा, किष्ट काठमाडौमा भारत लगायतका अन्य देशमा विद्यार्थीको चाप हुने गरेको छ ।
नेपाली विद्यार्थीको तुलनामा विदेशी विद्यार्थीसँग करिब दोब्वर शुल्क लिएर एमबीबीएस अध्यापन गराउदै आएका नेपाली मेडिकल कलेजलाई यसबर्ष देखि अनिवार्य ‘ईन्ट्रान्स इक्जाम’ को व्यवस्था गरिएको थियो । उक्त ब्यवस्था पछि कलेजहरुले भारतीय विद्यार्थीबाट शुरुमै एडभान्स लिएका थिए । तर तीनीहरुनै अनुत्तीर्ण भएपछि उत्तरपुस्तकिा ‘रिटोटलिङ’ को खेल शुरु भएको श्रोतले जनाएको छ । त्यस्ता विद्यार्थीलाई सम्बन्धित मेडिकल कलेजहरुले रिटोटलिङको आश्वासन दिएका हुन् ।
विगतमा विदेशी विद्यार्थीलाई कलेजले सिधै वा आन्तरिक परीक्षा मार्फत भर्ना लिने गरेको भएपनि डा. गोविन्द केसीको आन्दोलनका कारण विश्वविद्यालयको संयुक्त प्रवेश परीक्षा उत्तीर्ण नभईकन विद्यार्थी भर्ना लिन नपाईने नियम बनेको छ । उक्त नियम बने पनि मेडिकल कलेजले त्यस्ता विद्यार्थीलाई जसरी पनि पास गराउने भन्दै एडभान्स लिएका थिए ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगतका कलेजमा यसअघि नै विश्वविद्यालयले आफै सिट निर्धारण गरी परीक्षा संचालन गरेर विद्यार्थी भर्ना गरिसकेको छ । काठमाडौं विश्वविद्यालयले पनि गत महिना परीक्षा सञ्चालन गरेर परीक्षाफल प्रकाशित गरिसकेको छ ।
नेपालमा विदेशबाट चिकित्सा विज्ञान अध्ययन गर्न आउने देशमा भारत पहिलो नम्बरमा पर्छ । त्यसपछि मालदिभ्स, श्रीलंका, बंगलादेश, पाकिस्तान, भुटान, अमेरिका लगायतका देशबाट विद्यार्थी आउने गरेको तथ्यांक छ ।
यसअघि १ सय ५० सिटमा सञ्चालन हुदै आएका नेपालका मेडिकल कलेज डा. केसीको आन्दोलन पछि बढीमा १ सय १५ सिटमा खुम्चिन पुगेका छन् । त्यसैले पनि उनीहरुले विदेशी विद्यार्थीसँग महंगो शुल्क लिन पाईने भएकोले उनीहरुलाई टिकाइराख्न जसरी भएप्नि भर्ना गराउन चाहन्छन् ।
प्रतिक्रिया