हिजो आज विद्यालय, पठन पाठन र शिक्षक तालिमको बारेमा छलफल गर्दा, मैले विद्यालयहरुलाई भुत घर र शिक्षकहरुलाई भुत भन्ने गरेको छु ।
यो विज्ञानको युगमा भुतका कुरा ! त्यसमाथि समाजका चेतना वृद्धि गर्ने शिक्षा क्षेत्रमै काम गर्नेहरुबाट यस्ता अन्धविश्वासी कुरा !
मेरा कुरा सुन्दा कतिपय एकदमै आश्चर्यमा पर्छन् र अत्तालिएर जिब्रै टोक्छन् ! कतै कतै भने तिव्र प्रतिवादको सामना पनि गर्ने गरेको छु । हुन पनि हो प्रतिवाद किन नगर्ने ? जबकी म भन्दै छु विद्यालयहरु भुत घर र शिक्षक भुत ! यसरी प्रतिवादमा उत्रनेहरुलाइ म धैर्य साथ मेरा कुरा सुन्न आग्रह गर्छु ।
...
विद्यालय के हो ? शिक्षक के हुन् ? विद्यालय कस्तो हुनु पर्छ र शिक्षक कस्तो ? यी प्रश्नको उत्तर बालबालिकामा भरिदिने त हामी अभिभावक नै हौं । हामीले नै बालबालिकालाई विद्यालयप्रतिको उनीहरुको बुझाइ नकारात्मक बनाइरहेका छौं । त्यसबाट बालबालिकाले शिक्षक र विद्यार्थीलाई कसरी बुझिरहेका छन् भन्ने थाह पाउन कुनै कठिन छैन ।
भुत त एउटा बिम्ब मात्रै हो । म यही बिम्ब मार्फत् उक्त कुराका विषयका केही विषय उठान गर्छु । डर र भुतका कुरा नेपाली समाजका अधिकांश शिक्षित अशिक्षित बुझेका नवुझेका सबै अभिभावकहरु बच्चालाई डर देखाउनु पर्यो भने स्कुल र शिक्षकको कुरा गर्छौ । भनेको नमान्ने, तँ बदमाश, तँलाई स्कुल पठाइदिन्छु अनि ठिक होलास् । तँलाई सर मिससँग भन्दिन्छु । सरले र मिसले पिटनुहुन्छ अनि थाहा होला ! भनेर तर्साइरहेका हुन्छौँ ।
निजी विद्यालयमा पढाउनेले होस्टेल राखिदिन्छौं भन्छौ । कतिपयले त सर र मिसलाई भेटेर मेरो बच्चा बद्माश भयो, पिट्नु पर्यो समेत भन्न पछि पर्दैनौं । अनि कतिपयले सर र मिसले पिटेनन् र बच्चा वद्माश भयो भनेर गुनासो पनि गर्छौ । हाम्रो देशभरका करिब ९५ प्रतिशत विद्यालय बालबालिकालाई पिट्ने, डर देखाउने र तर्साउने केन्द्रको रुपमा रहेका छन् । बालबालिका स्कुल नजादैं र स्कुल र सर र मिसलाई नदेख्दै अभिभावकले स्कुल भनेकै सजायँ दिने र कुट्ने ठाउँ हो भनेर सिकाइ सकेका हुन्छौं । अर्थात् विद्यालय भुत घर हो भन्ने कुरा बालबालिकाहरुलाई विद्यालय र शिक्षक प्रति नकारात्मक धारणा बसालेरै शुरु गरिसकेका हुन्छौं ।
बालबालिकाले स्कुललाई त्यही रुपमा बुझेका हुन्छन् र उनीहरु स्कुल जान तयार हुँदैनन् । बालबालिका रुदै, चिच्याँउदै र अनुहार विगारेर विद्यालय पुग्छन् । विद्यालयमा पनि उनीहरुले सोचेजस्तै व्यवहार हुने गर्छ । हामी हरेक शहरका सडकमा गुडेका स्कुलका बस, बस चढाउन आएका अभिभावक, बसभित्र रोइरहेका र बस चढ्न नमानिरहेका बालबालिका देखेकै छौं । हाम्रा विद्यालयहरु बालबालिकाका लागि ज्ञानि बनाउने नाममा बोल्न, खेल्न नदिने जेल जस्ता छन् ।
घरमा बा आमासँग राम्रोसँग बोल्न नसिक्दै स्कुलमा नेपाली बोल्न प्रतिवन्ध लगाएका छौं । सकेसम्म उनिहरुका बोल्ने, खेल्ने, चल्ने, उफ्रने, दौड्ने स्वतन्त्रतामा सिक्रि लगाउन सक्यौं भने हामी शिक्षक सफल हुन सक्छौ भन्ने ठूलो भ्रममा बाँचेको छौँ ।
बच्चालाई सबैकुरा नगर मात्र भन्ने Stop Director भएका छौँ । अनि ठूलो गुनासो छ हाम्रो, बच्चा स्कुल जान मानेन, अथवा विद्यार्थी स्कुल आएनन् । बालबालिकाहरु २, ३ वर्ष नपुग्दै हामीले स्कुल भनेको सजायँ दिने, चल्न खेल्न, उफ्रन नदिने स्थानको रुपमा चिनाएका छौँ । त्यसैले बालबालिकाहरु विद्यालयसँग र शिक्षकहरुसँग डराउने भएका छन् । अनि त विद्यालय साना बालबालिकाहरुका लागि भुत घर र शिक्षकहरु भुत बनिरहेका छौँ ।
सामुदायिक विद्यालयको कुरा गर्ने हो भने करिब ९० प्रतिशत सामुदायिक विद्यालयमा कक्षा १, २ मा पनि विषय शिक्षण हुने गरेको छ । पाँच वटा विषय पढाउन बहुरङ्गी पाँचजना शिक्षक जान्छौं । प्रत्येक ४५ मिनेटमा अनि कक्षामा चुप लाग, हल्ला नगर, तँलाई, पख, अल्छी, भनेको नमान्ने, गृहकार्य नगर्ने जस्ता हेय र सबै नियन्त्रण मुखी आदेश दिदै भुतको रुपमा बालबालिकाहरुलाई तर्साउने गरेका छौ ।
एकहप्ता पहिलेमात्र १ जना अभिभावकले सुनाएको कुराले मेरो मथिङ्गल हलचल भएको छ । नर्सरीमा पढ्ने वहाँको ४ वर्षको छोरीले राती ३ बजे उठेर, मेरो होमवर्क सकिएको छैन, भोलि मिसले पिट्नुहुन्छ भन्दै चिच्याइन रे ! यो अवस्थामा त्यो चार वर्षे बच्चालाई राती ३ बजे तर्साउने ती मिस पनि त भुत नै हुन । होइन र ?
हामी विद्यालयहरुलाई अभिभावकसँगै मिलेर डरको केन्द्र बनाइरहेका छौं । दण्ड रहित शिक्षणका कुरा गर्दै बालबालिकालाई तर्साइरहेका छौं । बालमैत्रीका कुरा गर्दै नियन्त्रणमुखी शिक्षक मैत्री भएका छौं । आफुले मान्नु पर्ने, आफ्नो निर्देशन पालना गर्नुपर्ने । यसरी हामी बालबालिकालाई के सिकाउँदै छौं ? कस्तो शिक्षा दिइरहेका छौं ?
जानि नजानी हामीले विद्यालय तथा कक्षाकोठाहरुलाई Child Friendly भनि रहेर Child activity control center का रुपमा विकास गरिरहेका छौँ । स्वभाविक हो, सबै अभिभावकले बुझ्दैनन् । जो मेरो बच्चा वदमाश भयो पिट्नु पर्यो भनेर आँउछन् उनीहरुलाई सम्झाएर घरमा पनि दण्डित नगर्न र विद्यालयमा पनि दण्डित नगरिने कुरा सिकाउने भूमिका भएका शिक्षक, अभिभावकको मन जित्न बालबालिकाको डराउने वस्तु भुत र भुत घर बनिरहेका छौं, बनाइरहेका छौं ।
चिन्तन र वहस गर्नु पर्ने जरुरी भएको हो कि ! कहिलेसम्म विद्यालयलाई भुत घर बनाइरहने ।
अभिभावकका चाहना
बालबालिकाको सिकाइको सन्दर्भमा हाम्रो नेपाली समाज कुरुप भैसकेको छ जस्तो लाग्छ मलाई । अभिभावक बच्चा जन्मेर पहिलोपटक रुँदा नै क, ख, A, B, C, D भनोस भन्ने चाहना गर्न थाले जस्तो लाग्छ । अभिभावकको यही चाहना पूरा गर्न २ वर्ष नपुग्दैबाट निजी मन्टेसरीले A, B, C, D को रटान लगाउन थालेका छन् ।
सामुदायिक विद्यालयका बालविकास केन्द्रमा वर्षभरी क, ख र A, B, C, D पढाएर वार्षिक परीक्षा लिएर पास फेल गरेको देख्दा उदेक लाग्छ मलाई ।
देशभरका करिब ३० हजार सामुदायिक बालविकास केन्द्रमध्ये १०० वटा पनि छैनन् होला जहाँ तोकिएका क्रियाकलाप हुने गरेको होस् । हामी शहरमा व्यस्त हुने बाबु आमाका लागि १८ महिनाबाट नै मन्टेसरी र नर्सरी स्कुल खुलेका छन् । हाम्रा लागि खेल्न नखोज्ने, कोठामा बसिरहने, बाहिर जान नखोज्ने, झगडा नगर्ने, मूर्तिजस्ता चुपचाप छोराछोरी चाहिएको छ । त्यही चाहना बुझेर होला २ वर्षबाटै बालबालिकाले मन्टेसवरी स्कुलबाट घर आउँदा गृहकार्य बोकेर आउँछन् । हामी कसैलाई यी कुरा सहज लाग्लान्, स्वभाविक लाग्लान् तर यसले भोलि त्यो बच्चा कस्तो बन्ला भन्नेतिर हामीलाई ध्यान छैन । उसको विद्यालय प्रतिको दृष्टिकोण के बन्ला ?
म साना बालबालिकालाई गृहकार्य नदिने र परीक्षा नलिने भनेर लेख्दै, बोल्दै, कराउँदै हिँड्छु । तर जतिखेर मेरो नर्सरीमा पढ्ने ३ वर्षको छोरीले लामो विदा हुँदा ५ पानाको गृहकार्यको पोको बोकेर आउँछिन, अर्को हप्ताबाट परीक्षा छ, भन्ने सन्देश भएको सानो सूचना ल्याएर हातमा थमाँउछिन र केही दिनपछि उनको कक्षाभरिका १५ जनासँग तुलना गरिएको उनको परीक्षाको नतिजा हेर्न बाध्य हुन्छु, मलाई लाग्छ हामी कता जादैं छौं !
जब छोरीले पाँच पानाको गृहकार्य पोको लिएर आइन, मेरो विद्रोहभावले त्यो च्यातेर फाल्छु भन्यो, तर फेरी विदा पछि छोरी स्कुल जाँदा र गृहकार्य किन नगरेको भनेर सोध्दा उनको मनोदशा कस्तो होला ? उनले मेरो बाबाले च्यातेर फालिदिनु भयो, मैले गरिन त भन्दिनन् र त्यसो भने पनि सुख पाउदिनन् होला । अनि त म रुझेको विरालो जस्तै बनेर उनलाई गृहकार्य गर्न सघाए ।
हाम्रो शिक्षण सिकाइ पद्धति, हाम्रा विद्यालयका गतिविधि, त्यस्ता गतिविधिलाई प्रोत्साहित गर्ने पाठ्यक्रम र परीक्षा प्रणाली, हामी अभिभावकको मनोदशा सुधार नगरी भोलिको असल, निडर र आत्मविश्वासी छोराछोरी तयार गर्न असम्भव हुने छ ।
प्रतिक्रिया