Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

डेंगुले विद्यालय बन्द

बुधबार, १० कार्तिक २०७३

काठमाडौं १० कात्तिक / डेंगु संक्रमण नियन्त्रणमा नआएपछि जिल्लाका रत्न नगरपालिका र कालिका नगरपालिकाका अधिकांश निजी तथा सामुदायिक विद्यालय बन्द गरिएका छन् । अधिकांश विद्यार्थी ज्वरोले सिकिस्त भएर आउन नसकेपछि त्यस क्षेत्रका विद्यालयले सहमतिमै पढाइ रोकेका हुन् ।

रत्ननगर नगरपालिका क्षेत्रमा डेंगुका बिरामी बढी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रत्ननगरमा मात्र ८० प्रतिशतभन्दा बढी संक्रमित छन् । ‘टाँडी क्षेत्रमा डेंगु जोखिम बढी छ,’ खोले सिमलस्थित सिद्धिविनायक सेकेन्डरी स्कुलका प्रअ विष्णु लामिछानेले भने, ‘विद्यालय आउने विद्यार्थी संख्या घट्दो छ, त्यसैले सबैको सल्लाहमा सोमबारबाट शुक्रबारसम्म विद्यालय बन्द गराएका हौं ।’ उनका अनुसार अब विद्यालय तिहारपछि मात्र खुल्नेछन् ।
‘विद्यार्थीलाई ज्वरो आएर अधिकांश विद्यालयमा अनुपस्थित भएको पायौं,’ उनले भने, ‘अभिभावकले बिरामी हुने डरले छोराछोरी विद्यालय पठाउन छाडेकाले सहमतिमै विद्यालय बन्द गरिएको हो ।’ उनका अनुसार रत्ननगर र कालिका नगरपालिका क्षेत्रका अधिकांश निजी तथा सामुदायिक विद्यालय बन्द छन् । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले डेंगुको जोखिम भएकाले बर्षे/हिउँदे बिदामा मिलाउने गरी विद्यालय बन्द गरिएको बताए । ‘विद्यालयले हिउँदे, बर्षे र स्थानीयसहित ५० दिन बन्द गर्न पाउँछन्,’ जिशिअ अर्यालले भने, ‘त्यही बिदामा कटौती गर्ने गरी अहिले विद्यालय बन्द गरिएको हो ।’
उनका नअुसार रनपा, भण्डारा, पिप्ले र खैरहनी क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द छन् । ‘बालबालिका बिरामी पर्ने, संक्रमित हुने समस्याले अभिभावकले विद्यालय पठाउन मानेनन्,’ उनले भने, ‘विद्यार्थी आउन छाडेपछि सबैको सल्लाहमा विद्यालय बन्द गरिएको हो ।’ पहिला भरतपुर उपमहानगरपालिका क्षेत्र बढी प्रभावित हुने गथ्र्यो । अहिले रनपामा डेंगु प्रकोप फैलिएको छ । इपिडिमियलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म देशभर ४ सय ५१ जना डेंगु संक्रमित भेटिएका छन् । सबैभन्दा बढी चितवनमा ३ सय ६७ जना फेला परेका छन् ।
जिल्ला जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार भदौयता डेंगु बिरामी हात्तै बढेका छन् । भदौमा ६ जना, असोजमा सबैभन्दा धेरै २ सय १७ जना र कात्तिक ५ गतेसम्म १ सय ४४ जना बिरामी फेला परेको उनले बताए । ‘पहिला रनपा क्षेत्रमा १/२ वटा केस मात्र फेला पथ्र्यो,’ केसीले भने, ‘अहिले सबैभन्दा धेरै ८० प्रतिशत बिरामी रनपाका छन् ।’ उनका अनुसार डेंगुका बिरामी बढे पनि कसैको मृत्यु भने भएको छैन ।
‘अहिले रनपा क्षेत्रमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ,’ उनले भने । डेंगुको जीवाणु संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो ग्रामिणभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ ।
यसबाट बच्न सावधानी अपनाउन जरुरी छ । राति र दिउँसो सुत्दा झुल टाँग्ने, घर छेउका पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झ्यालढोकामा जाली लगाउने, लामा बाहुला भएको लुगा लगाउनुपर्ने चिकित्सक सुझाव दिन्छन् ।
एक्कासि उच्च ज्वरो आए, आँखाको गेडी तथा टाउको दुखे, शरीममा विमिरा आए, वान्ता भए डेंगुको लक्षण हुन सक्ने चिकित्सक बताउँछन् । यसअघि ०६७/०६८ मा यहाँ डेंगुले महामारी रूप लिएको थियो । ३ हजार २ सय ९८ को रगत परीक्षण गरिएकोमा ७ सय ३९ मा डेंगु देखिएको थियो । ५ जनाको मृत्यु भएको थियो ।

विमल खतिवडाले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया