काठमाडौं - भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणका समयमा दुई फरक शैक्षिक कार्यक्रममा उनको सहभागिता हुने भएको छ ।
नेपालका तीन पूर्व प्रधानमन्त्रीले पढेको बनारस विश्वविद्यालय (विएचयु) को शताब्दीयौं समारोहमा मुखर्जी सहभागि हुने तय भएको हो । उक्त कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति मुखर्जीले संयुक्त रुपमा गर्ने तय भएको छ ।
कार्यक्रमका लागि विएचयु अध्ययन गरेका नेपाली विद्यार्थीको नेपाल स्थित संस्था मालवीय मिसनले राजधानीको राष्ट्रिय सभागृह बुकिङ गरेको श्रोतले जनाएको छ । उक्त विश्वविद्यालयमा नेपालका तीन पूर्व प्रधानमन्त्री वीपी कोईराला, मनमोहन अधिकारी र कृष्ण प्रसाद भट्टराईले अध्ययन गरेको विगत छ । भारत प्रवासका क्रममा त्यही विश्वविद्यालयबाट उनीहरुले उच्च शिक्षा अध्ययन गरेका थिए ।
भारतीय राष्ट्रपति मुखर्जी भ्रमणको पहिलो दिन नै कात्तिक १७ गते उक्त कार्यक्रममा सहभागी हुने छन् । विएचयु सन् १९१६ मा भारतको बनारसमा स्थापना भएको विश्वविद्यालय हो । विश्वविद्यालयका संस्थापक महदमोहन मालवीय भारतीय कांग्रेसका संस्थापक नेता समेत हुन् । उक्त संस्था उनैको नाममा स्थापना भएको हो ।
नेपाल र भारतको सम्बन्ध तथा कालखण्डका हिसावले पनि उक्त विश्वविद्यालय ऐतिहासिक महत्वको शैक्षिक संस्था हो । उक्त विश्वविद्यालयमा शुरु देखि नै नेपाली विद्यार्थीले अध्ययन गर्दैं आएका छन् । नेपाली अध्यापकहरुले पनि विश्वविद्यालयमा अध्यापन गराउदै आएका छन् । अहिले पनि नेपाली विद्यार्थीका लागि विश्वविद्यालयले कोटा छुट्टाएर भर्ना लिने गरेको छ । सयौं नेपाली विद्यार्थी विएचयु अध्ययनरत छन् । त्यसैले पनि विश्वविद्यालयले आफ्नो शताब्दी कार्यक्रम अन्र्तगतको कार्यक्रम नेपालमा पनि गर्न लागेको हो ।
तीन दिने भ्रमण कार्यक्रम सहित नेपाल आउन लागेका भारतीय राष्ट्रपति मुखर्जी विएचयुको शताब्दी समारोहका अतिरिक्त काठमाण्डौं विश्वविद्यालयको विशेष सम्मान कार्यक्रममा पनि सहभागी हुने श्रोतले जनाएको छ ।
प्रतिक्रिया