Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

हजार ४४ शिक्षक रिटायर्ड हुँदै

मंगलबार, ०९ कार्तिक २०७३

काठमाडौं - आउँदो माघ देखि ६ महिनाको बिचमा देशभरबाट १ हजार ४४ शिक्षकले उमेरहदका कारण अवकास पाउने भएका छन् । २०७३ माघ देखि २०७४ असार सम्म रिटायर्ड हुने शिक्षकका बारेमा विद्यालय किताबखानाले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ ।

यसरी रिटायर्ड हुने शिक्षकमा सबै भन्दा धेरै ४७ जना झापाबाट, सुनसरीबाट ३२, सप्तरी र धनुषाबाट ३१ तथा मोरङ्बाट ३० जना रहेको किताबखानाले जनाएको छ ।

यस्तै सबै भन्दा कम रिटायर्ड हुने जिल्लामा मनाङ्, मुस्ताङ् र हुम्लाबाट १–१ जना तथा ओखलढुङ्गाबाट २ र डोल्पाबाट ३ जना रहेको किताबखानाले जनाएको छ ।

उमेर हद कटेर पनि तलब खाँदै आएका शिक्षकलाई समयमै अवकासका बारेमा जानकारी दिन परिपत्र गरेको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताए ।

'हुन त शिक्षक आफैंले आफू कहिले सेवा प्रवेश गरेको हुँ, कहिले रिटायर्ड हुन्छु भन्ने ख्याल गर्नु पथ्र्यो तर हाम्रा केही शिक्षकहरु त्यति गम्भिर देखिएनन् र हामीले ३ महिना अघि नै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गरेका हौं' उनले भने, 'यसले अवकास भएपनि तलब खाईरहने तथा नयाँ शिक्षकलाई विद्यालय सम्म पुग्नै नदिने क्रममा नियन्त्रण त गर्छ नै यसका साथै राज्य कोषको दुरुपयोग हुन पनि रोक्छ ।'

किताबखनाले गत गत ३ आर्थिक बर्षमा त्यस्ता शिक्षकबाट ६ करोड १८ लाख २० हजार २ सय ३१ रुपैंया असुल गरि राजश्वमा जम्मा गरेको थियो ।

कुनै पनि शिक्षकले ६० बर्षे उमेर कट्नु भन्दा ९ महिना अघिनै अवकासका बारेमा जानकारी दिनु पर्ने ब्यवस्था छ । तर, अटेर गरी तलब खाँदै आएका शिक्षकको संख्या बढ्दै गएपछि राज्यलाई थप ब्ययभार परेको ठहर सहित किताबखानाले लगत तयार गरी रकम असुल गर्न थालेको थियो । समस्या परिसकेपछि समाधान गर्नु भन्दा पनि समस्यै आउन नदिने गरी यसपटक बेलैमा परिपत्र गरेको ढुङ्गानाले बताए । 

'६० बर्ष कटेका शिक्षकलाई विस्थापन गर्ने वित्तिकै नयाँ क्षमता भएका शिक्षक कक्षामा पुग्छन्न्, विद्यार्थीको सकाइ सुधार हुन्छ' उनले भने ।

प्रतिक्रिया