भक्तपुर - शिक्षा ऐन आएको चार महिना सम्म पनि नियमावली निर्माण नभएको भन्दै आलोचना भईरहेका बेला शिक्षा मन्त्री धनिराम पौडेलले तोकिएकै समयमा शिक्षा नियमावली आउने बताएका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पुगेका बेला एडुखबरसंग कुरा गर्दै मन्त्री पौडेलले नियमावली नआउँदा गुनासो र ऐनको कार्यान्वयनमै शंका आएको आफूले पनि महशुस गरेको बताउँदै नियमावलीका बाँकी कामलाई टुङ्ग्याउन मन्त्रालय लागिपरेका उनले बताए ।
नियमावली निर्माण गर्न गठित कार्यदलले बुझाएको पहिलो मस्यौदालाई अन्तिम रुप दिन शुक्रबार गठित कार्यदल नियमावली निर्माणमा जुटिरहेकोले कात्तिक ९ गते (भोलि) साँझ सम्म नियमावलीले अन्तिम रुप पाउने उनले बताए ।
मस्यौदा निर्माण कार्यदलका संयोजक रहेका सहसचिव डा. हरी लम्साल नेतृत्वमै सहसचिवहरु लेखनाथ पौडेल, बैकुण्ठ अर्याल, अणप्रसाद न्यौपाने र मन्त्रालयकै कानून शाखाका एक जना प्रतिनिधि सहितको अर्को कार्यदल बनाईएको छ । उक्त कार्यदललाई मंगलबार सम्म मस्यौदालाई अन्तिम रुप दिने समय दिईएको छ ।
नियमावली निर्माणमा पेचिलो बनेका विषयहरु विद्यालय कर्मचारी, अस्थायी शिक्षक तथा प्रारम्भिक वाल विकासको जनशक्ति ब्यवस्थापनका मुद्धा कसरी सम्बोधन गर्ने भन्नेमा मन्त्रालय आन्तरिक छलफलमा रहेको श्रोतले जनाएको छ ।
सबैको चित्त बुझ्ने उपाय निकाल्न नसकेमा बिहीबार वा शुक्रबार बृहत छलफल गरेर सरोकारवालाहरुको राय लिने शुक्रबार नै तय भईसकेको छ ।
पढ्नुहोस् : अपजसको भयमा रुमल्लियो शिक्षा नियमावली, आउँदो हप्ता बृहत छलफल
आफ्नो ६ महिने कार्ययोजनामा कात्तिक २५ गते भित्र नियमावली ल्याउने उल्लेख गरेका मन्त्री पौडेलले उक्त मिति अघि परेको तिहार र छठ जस्ता चार्डका कारण पर्ने विदालाई ध्यान दिदैं काम गर्न निर्देशन दिएको श्रोतले जनाएको छ ।
प्रतिक्रिया