Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

कक्षाकोठामा विविधता : अवसर र उमंग

सोमबार, ०८ कार्तिक २०७३

१. विषय प्रवेश

नेपालको संविधानमा र समाजमा अहिले समावेशीकरणलाई अग्रगमनको प्रमुख मुद्दाको रुपमा स्विकारिएको छ । असफल भएपनि विद्यालय क्षेत्र सुधार कार्यक्रम (२००९–२०१४) ले समावेशीकरणलाई सबैभन्दा महत्वपूर्ण रणनीतिको रुपमा अघि सारेको थियो । शिक्षा प्रशासन, विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक नियुक्तिमा समेत समावेशिकरणको लागि बिभिन्न रणनीतिहरु लागू गरिएका छन् ।

सर्वत्र समावेशिकरण स्थापित हुदै गैरहेको सन्दर्भमा नेपाली शिक्षकहरु माझ कक्षाकोठामा विविधता र तिनको समावेशीकरणको बारेमा जति वहस हुनुपर्ने हो, त्यति भइरहेको छैन । त्यसैले यहाँ हाम्रो कक्षाकोठाको विविधताको अवस्था के कस्तो छ ? तिनको समावेशीकरणको अवस्था के छ ? त्यो विविधता शिक्षणको लागि माथि उल्लेख गरिए जस्तै सिकाई वातावरणको लागि अभाग नै हो कि, अवसर हो ? विविधता युक्त कक्षाकोठामा पाठ योजना वा अध्यापन रणनीतिहरु कस्तो हुनसक्लान् त ? भन्ने बारेमा छोटकरीमा बहस निम्त्याइन्छ ।  

२. हाम्रो कक्षाकोठाको विविधताहरु                                

बहुजातीय, बहुभाषी र बहुसांस्कृतिक हाम्रो समाजमा र कक्षाकोठामा भाषिक फरकपना, घर र समुदायको चालचलनको फरकपना, पारिवारिक मूल्य मान्यताको फरकपना, महिला र पुरुषलाई बुझ्ने र व्यवहारमा गरिने फरकपना, औपचारिक शिक्षालाई कत्तिको महत्व दिने भन्ने फरकपना पनि फरक फरक पाइन्छ । त्यसका अतिरिक्त फरक फरक आर्थिक सामाजिक वर्गबाट हुर्केर आएका वालवालिकाको कक्षाकोठामा सामाजिक उचनीचको भावना समेत बोकेर आउनु अस्वाभाविक हैन ।

फेरि विभिन्न सिकाइको स्तर, पूर्व विद्यालयको संस्कृति, बिभिन्न विषय मन पराउने वा मन नपराउनेहरुको समेत समूह बनेको देखिन्छ । अझ रमाइलो त विद्यालय रहेको समुदाय वा नजीकका र टाढाबाट आउनेहरुको बिचमा समेत फरक देखिन्छ । यो बाहेक आभिभावकको सामाजिक आर्थिक पहिचान, आस्था समूह आदिले समेत कक्षाकोठामा एकापसमा फरक व्यवहार देखाउन सहयोग गरेको समेत देखिन्छ ।

हाम्रा अधिकांश कक्षाकोठामा विविधताको प्रकार हेर्न लायकको हुन्छ । प्राय कक्षाकोठामा हुने फरकहरु केही सामाजिक, केहि सांस्कृतिक र केहि मानव विकास कै क्रममा उत्पन्न भएका विविधताहरु हुन् । त्यसैगरी शैक्षिक विविधता त स्वाभाविक ढंगले हुने नै भयो । अर्थात कक्षाकोठामा हुने विविधता हाम्रो यथार्थता हो । यो स्वभाविक पनि हो ।

त्यसमाथि केही वैज्ञानिकहरुले हरेक वालवालिकाले सिक्ने तरिका समेत फरक फरक हुन्छ, त्यसैले धेरै तरिका, साधन र रणनीतिहरु प्रयोग गरेर सिकाउनुपर्दछ पनि भनेकाछन् । त्यसकारण वैयक्तिक भिन्नता युक्त हाम्रो कक्षाकोठाको बारेमा हुने गरेका बुझाई, सिकाई गतिविधिहरु एक खाले हुनु नै समस्या हो र सिकाइको वाधक पनि हो भन्न सकिन्छ ।

३. पाठयोजनामा विविधताको अभ्यास

शहरका विद्यालयमा शिक्षण गर्ने कतिपय शिक्षकहरुले आफ्नो कक्षाकोठामा भएका विद्यार्थी अनेक पृष्ठभूमीबाट आएकाले चाहेको जस्तो सिकाइ उपलव्धी हुन नसकेको गुनासो गर्छन् । आफ्ना कतिपय विद्यार्थी घरेलू कामदारहरु , गैह्र नेपाली मातृभाषी, अनेक संस्कार सस्कृति, भिन्दाभिन्दै चाल चलन युक्त पृष्ठभूमीबाट आएकोले सिकाई प्रभावकारी बनाउन नसकेको उनीहरुको तर्क रहन्छ ।

हामीले प्रयोग गर्ने र सुझाउने गरिएको पाठयोजनाको ५ बुँदे ढाँचा उद्धेश्य केन्द्रित छ । त्यसमा उद्धेश्यहरु, शिक्षण सामाग्रीहरु, कृयाकलाप, मूल्यांकन र गृहकार्यहरु क्रमश रहेका हुन्छन् । ऐतिहासिक विवेचना गर्दा यो ढाँचा सुरु हुँदाको कक्षाकोठामा अहिले जस्तो बहुआयामिक विविधता थिएन । पश्चिमाहरुले यो ढाँचा सुरु गर्दा कक्षाकोठामा विविधता थिएन वा नगन्य थियो । छात्रहरु मात्र पढ्थे, लिंगीय समस्या थिएन, अहिले जस्तो आप्रवाशी विद्यार्थी नरहेकोले बिभिन्न सांस्कृतिक रंगढंग थिएन ।

धार्मिक मूल्यमान्यताको हिसाबले समाजमा थोरै मात्र फरक थियो । शिक्षा मानव अधिकारको रुपमा लिइएको थिएन र अहिले जस्तो सबैले पढ्नै पर्ने खालको सामाजिक राजनीतिक आग्रह पनि थिएन । रोजगार बजारमा प्रतिस्पर्धा नभएकोले सबैले जान्नै पर्ने अहिलेको जस्तो दवाव पनि थिएन । अनि सिक्ने तरिका र रूची फरक फरक हुने भएकोले सिकाउने तरिकामा विविधता चाहिन्छ भन्ने सिद्धान्तको आविष्कार पनि भैसकेको थिएन ।

पश्चिमाहरुले त्यसरी एकोहोरो देखिने कक्षाकोठामा लागू गरेको पाठयोजना उपनिवेशकालिन भारत हुँदै  हाम्रो शिक्षामा छिर्यो। त्यसलाई विचार नगरिकनै हामीले “शिक्षाको आधुनिकिकरण” गर्दै भित्र्यायौं । यो खाले पाठयोजना मात्र हैन, गहिरिएर अध्ययन गर्दा सबैलाई एउटै युनिफर्म, कक्षाकोठामा एकैखालका समानान्तर डेस्कबेञ्च, व्ल्याकबोर्ड, शिक्षक–विद्यार्थी सम्बन्ध, शारीरिक दण्ड सजायँ, एउटै पाठ्यक्रम, एउटै खालको परीक्षा, पास फेल गर्ने विधि, कर्मचारीतन्त्रीय विद्यालय प्रशासन, कक्षाकोठामा विद्यार्थी (शिक्षक हैन) प्रवेश गर्दा अनुमति लिनुपर्ने चलन जताततै देखिन्छ । त्यसैले आलोचकहरुले, सबै खालका सिकारुहरुलाई राज्य निकायले तोकेको यस्तो निर्दिष्ट उध्देश्य पूरा गर्न परिचालित गर्ने यो विद्यालय प्रवन्धलाई “कारखाना मोडेल” भनेर धज्जी उडाउँछन् ।

यो ‘ऐतिहासिक’ पाँच बुँदे पाठयोजनामा रहेको उद्धेश्यलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । यो उद्धेश्यलाई विद्यार्थीको सम्पूर्ण “आफ्नोपना” भन्दा पनि माथि राखिन्छ । त्यो उद्धेश्यको सम्बन्ध विषयगत, तहगत र अन्तमा शिक्षाको राष्ट्रिय उद्धेश्यसंग गाँसिएको हुन्छ । अन्ततः शिक्षाको त्यो उद्धेश्य त्यो राष्ट्रको बृहत योजनालाई सेवा गर्ने हुन्छ । त्यो उद्धेश्य पूरा गर्न म सक्दिन भन्ने कुनै गुञ्जायस नै हुँदैन । यसो हुनाले सिकारुलाई सुरुमा नै एउटा दवावबाट हाम्रो पाठयोजना निर्माण गरिन्छ ।

दोस्रो बुँदामा केही शिक्षक सामाग्रीको विवरण सूचिकृत गरिएको हुन्छ । त्यो शिक्षण सामाग्रीको निर्माण वा डिजाइन गर्दा पनि उद्धेश्यतिर केन्द्रित भएको हुन्छ । कक्षाकोठामा हुने सबै खालको आवश्यकता त्यो सामाग्रीमा प्रतिविम्वित हुनको लागि सोहि प्रकारका विविध कृयाकलापहरुको निर्धारण हुनु पर्दछ । अवलोकनमा के देखिन्छ भने हाम्रा कक्षा कृयाकलापहरुमा छात्राहरुको लागि, सिक्ने गति कम भएकाहरुलाई, फरक भाषा भाषीलाई, कान नसुन्नेहरुलाई, फरक धार्मिक, सांस्कृतिक परिवेशबाट आएकाहरुको लागि भनेर शिक्षण सामाग्रीहरुको विविधता देखन पाइदैन ।

तेस्रो बुँदा तेस्रो र सबैभन्दा महत्वपूर्ण बुँदा, कक्षा शिक्षणमा गरिने कृयाकलापहरुमा पनि खासै “मेरो यो कक्षामा भएका विद्यार्थी सहभागीहरुमा यो यो खालका विविधताहरु रहेकोले मेरो अध्यापन रणनीतिहरुमा पनि निम्न प्रकारका हुनुपर्दछ , खास समूहको सिकारुहरुलाई यी कृयाकलापहरुमा संलग्न गराउँदा बाँकि अरुलाई यसरी व्यस्त गराउँछु र अझ सिक्न बाँकि रहने यो समूहको लागि औपचारिक कक्षा समय बाहिर यसरी सहयोग गर्छु” भनेर कृयाकलाप बनाएको पाउँदैना । अनि हाम्रा आम कक्षा शिक्षणको  मूल्यांकन  सामान्य प्रकारको हुने गर्दछ, जसमा त्यो कक्षामा जून उपसमूहको दबदबा रहन्छ उसैले भाग लिन्छ । उनीहरुको अनुहार पढेर, केहि “बुझ्यौं सर” भन्ने सुनेर बाँकिलाई छोडेर अघि बढिन्छ ।

नियमित कक्षाकोठामा हुने मूल्यांकन कार्यमा हामी खासै कुनै साधन प्रयोग गर्दैनौं जसले सबै किसिमको पृष्ठभूमीबाट आएका विद्यार्थीको अवस्था लेखाजोखा गर्न सकियोस् । अन्तमा, सबैलाई एकैखालको गृहकार्य गर है भनेर हामी पाठयोजनाको अन्तिम बुँदा पनि पूरा गर्दछौं । यसरी हामीले जम्माजम्मी बनाउने गरेको कपषा शिक्षणको पाठयोजनामा कक्षाभित्रको विविधताको लागि खासै तयारी हुने गरेको छैन, अर्थात हामीले योजना बनाउँदा हाम्रा सिकारुहरु एकै प्रकारका हुन्छन् भन्ने मान्यताबाट नै बन्ने गर्दछ । जून हाम्रो सन्दर्भमा पूर्णतया असत्य कुरा हो ।

४. विविधतायुक्त कक्षाकोठामा अवसर

पछिल्लो समयहरुमा शिक्षण र सिकाईका नयाँ नयाँ मूल्य मान्यताहरु स्थापित भएका छन् । विगतमा विद्वानहरुको प्रयोग, परिक्षणबाट बनाइएका सिद्धान्तहरुलाई महत्वपूर्ण कृतिमा, गुरुको विद्या र अनुभवमा संगठित भएको हुन्छ र त्यहाँबाट सिकारुले शिक्षक मार्फत सकेसम्म ग्रहण गर्नु नै ज्ञान हो भनेर बुझिन्थ्यो । त्यसैले घोक्ने, पढ्ने, श्रवण गर्ने र उतार्ने, वाचन गर्ने कृयाकलापहरु गरिन्थ्यो । सिकारुले सुनेको, जानेको, महशुस गरेको सूचनाहरुलाई खासै महत्व दिइँदैन थियो । त्यसकारण पुराना कक्षाहरुमा कि शिक्षकले बोल्थे कि विद्यार्थीले घोक्थे । गुरुहरुसंग सिकारूले राय बझाउँदैन थिए । विद्यार्थी विद्यार्थीको बहस वर्जित जस्तै थियो । त्यसैले कक्षाकोठामा “पिनड्रप साइलेण्ट” खोजिन्थ्यो ।

औद्योगिक क्रान्ति पछि, पश्चिमा समाजमा जसरी शिक्षाको माग जति बढ्दै गयो त्यसरी नै  कक्षा शिक्षणको प्रभावकारिता कसरी वृद्धि हुनसक्छ भन्ने बारेमा अध्ययन अनुसंधान पनि बढ्न थाल्यो । ती अनुसंधानहरुको सिफारिस बमोजिम एउटा निश्चित सिकाई वातावरणमा हुने कृया अन्तर्कृयाबाट सिकाई हुने र सो सिकाईलाई टिकाउन उक्त अन्तर्कृया निरंतर दोहोर्याउनुपर्ने भन्ने खालका सिद्धान्तहरु पनि जन्मिए । यसै अनुसारका पाठयोजना र रणनीतिहरु बन्दै गए । त्यो वातावरण भित्र सिकारुहरुको अनुभवहरुलाई खासै महत्व थिएन । अझ तिनीहरुको फरक फरक पृष्ठभूमीको अनुभवलाई त हुने कुरै भएन । त्यहि सिकाई सिद्धान्त र मान्यताले अहिले हाम्रा कक्षा शिक्षणमा घर गरेकोछ ।  

तर हिजो आज वालवालिकाले आफ्नो भौतिक पारिवारिक र सामाजिक वातवारणबाट केहि न केहि अनुभव लिएर कक्षाकोठामा आउँछन्, शिक्षण भनेको त ती जानकारी र अनुभवहरुलाई नै विस्तार र व्यवस्थित गर्दै ज्ञान निर्माण गर्दै जाने हो भन्ने मानिन्छ । त्यसैले अहिले शिक्षक, विद्यार्थी संगसंगै छलफल गर्दै सिक्छन् । विद्यार्थीको ज्ञान, अनुभव र सीपलाई कक्षा शिक्षणको प्रस्थान विन्दु मानिन्छ ।

उनीहरुको रोजाई, भोगाई फरक फरक हुने भएकोले कक्षा शिक्षणको रणनीतिहरु पनि  स्वभाविक रुपमा लचिलो हुनपर्दछ । त्यसैले शिक्षण कृयाकलापमा जति धेरै बालबालिकाको जानकारी र अनुभव भित्र्याउन र प्रकट गराउन सकियो त्यति नै बढि प्रभावकारी बनाउन सहयोग पुग्नेभयो । त्यसो भएकोले अबको कक्षा शिक्षण हिजोको लेक्चर विधिबाट छलफल, परियोजना, कार्यशाला तिर प्रस्थान हुँदैछ । यी नयाँ विधिहरुमा सिकारुहरुको आफ्नो अनुभव तथा जानकारी राखन यथेष्ट अवसर मात्र हैन प्रेरित नै गरिन्छ । त्यसैले गर्दा कक्षाकोठामा “पिनड्रप साइलेण्ट” हैन, योजनावध्द हल्ला हुन्छ र हुनुपर्दछ त्यै पनि शिक्षकको भन्दा बढी सिकारुको ।

५. समावेशी पाठयोजनाको मोडेल

सामान्यतया जस्तोसुकै विविधता भए पनि समावेशीकरणको नाममा त्यो पाठको उद्धेश्य चाहिँ परिवर्तन गर्नुहुँदैन । उद्धेश्यहरुको किटानी गरिसके पछि, उक्त उद्धेश्य प्राप्तिको लागि बनाइने रणनीतिहरु निर्माण गर्नु अघि आफ्ना सिकारुहरुको विश्लेषण गर्नुपर्ने हुन्छ । उनीहरुमा भएको विविधताको प्रकार, सबल पक्षहरु, चुनौतिहरुको बारेमा जानकारी हुनु जरुरी हुन्छ । सो जानकारीको आधारमा कृयाकलापहरुको निर्धारण गरिन्छ । सो कृयाकलापको लागि आवश्यक पर्ने शिक्षण सामाग्री र प्रविधिहरुको पहिचान र संकलन, प्रशोधन र तिनको संचालन प्रकृयाको बारेमा स्पष्ट हुनुपर्दछ ।

कक्षामा विविधताको कारणले प्राप्त हुनसक्ने अवसरहरुलाई विषयवस्तु वा प्रकृयाको रुपमा पनि कसरी प्रयोग गर्ने भन्ने बारेमा सचेत हुनुपर्दछ । सिकारुलाई आफ्ना नीजि अनुभवहरु व्यक्त गर्न प्रोत्साहित गर्नुपर्दछ तर वाध्य पारिनुहुन्न । फरक फरक पृष्ठभूमीबाट आएका बालबालिकाहरुले व्यक्त गरेका विचारहरुलाई सम्मान गर्नुपर्दछ, गराउनुपर्दछ । सबै तहका सिकाई भएका सिकारुहरुलाई न्याय हुने गरी योजना बनाउनु पर्दछ । मध्यम खालको सिकाई भएकाहरुलाई लक्षित गरी कृयाकलाप गर्ने र ढिलो जान्नेलाई शिक्षकले थप समय दिने र छिटो जान्नेहरुलाई थप वा नेतृत्व लिने खालको कार्यमा प्रेरणा दिनु पर्दछ ।

मूल्यांकनको धेरै विधि र साधनहरु बनाउनु पर्दछ । सबैलाई एकै खालको ढाँचामा मूल्यांकन गराउँदा सिकेका सबै कुरा व्यक्त हुँदैन । उनीहरुको अभिव्यक्तिको लागि फरक फरक विधा छान्न पाउने बाटो खोलिदिनु पर्दछ । अर्थात तपाईंले कुनै मामिला प्रष्ट्याउन  वादविवादको विधि अपनाउनुभएको छ भने सिकारुले मूल्यांकनको कार्यमा “मलाई वादविवादमा भन्दा दोहोरी गाएर भन्न सजिलो लाग्छ” भन्न पाउनु पर्दछ । त्यहि पाठमा वोधको लागि उनीहरुले चित्र पोस्टर वा स्लाइड  बनाएर पनि व्यक्त गर्न पाउनुपर्दछ ।

वादविवाद नै सिकाउने बेलाको कुरा चाहिँ अलग हो । ज्यामितिको प्राविधिक शव्दावली भएको लामो लामो वाक्यहरुलाई कसैले कविता वा गीतमा व्यक्त गर्न सकेमा किन प्रोत्साहन नगर्ने ? यसले सिमित विधामा अभ्यास गरेको कारणले वालवालिकाको अभिव्यक्तिमा हुने क्षतिलाई सृजनशील ढंगले बढाउन मद्दत गर्दछ । धेरै विधाबाट हुने अभ्यास र मूल्यांकनको कृयाकलापले फरक फरक सिकाई पृष्ठभूमी भएकाहरुलाई समेत यथेष्ठ फाइदा पुग्ने गर्दछ । मूल्यांकनले दिशा निर्देश गरे अनुसार आवश्यकता अनुसार थप कृयाकलाप गर्नुपर्दछ ।

सबैले उत्तिकै सिक्ने त हैन, तर जो जहाँ थिए त्यहाँबाट अपेक्षित सिकाई भएको ठहर र प्रमाण जुटेपछि सो सिकाइलाई दिगो बनाउन थप कृयाकलापहरुको बारेमा बालबालिकाहरुसंग छलफल गर्नुपर्दछ । हाम्रा पाठ्यपुस्तकहरुमा भएका अभ्यास सूचीबाट नै गृहकार्य दिने हो भने पनि त्यसमा आफ्ना सिकारुमा आधारित भई थप परिमार्जन र विविधताको लागि अवसर श्रृजना गर्नुपर्दछ ।

सारमा नेपाली समाजमा जस्तै हाम्रा कक्षाकोठामा सामाजिक विविधता छ । अझ सिकाइ स्तर, शैली, रूची, पृष्ठभूमीमा समेत विविधता छ । त्यसैले हाम्रो कक्षाकोठाको सबै योजना र कृयाकलाप ती विविधतायुक्त सिकारुहरुलाई सम्मान गर्ने, प्रेरणा दिने तथा दीगो र जीवन उपयोगी सिकाई हुने प्रकारको हुनुपर्दछ । त्यसकारण अबको पाठयोजनामा ढाँचामा समावेशी प्रकारको मात्र नभै निर्माणको चरणमा समेत ती सिकारुहरुको सहभागिताद्वारा निर्माण गर्नेे तिर अघि बढ्नुपर्दछ ।

(शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हुन्, उनको यो आलेख संगठनको सुर्खेत शाखाद्धारा प्रकाशित मुखपत्रबाट साभार गरिएको हो ।)         

 

प्रतिक्रिया