Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

झूटो विवरण पेस गरेर स्थायी शिक्षक

सोमबार, ०८ कार्तिक २०७३

काठमाडौं ८ कात्तिक / शिक्षक सेवा आयोगले दुई वर्षअघि माध्यमिक तहका लागि लिएको खुला परीक्षामा झूटो विवरण पेस गरेर स्थायी शिक्षक बनेको पाइएको छ । विद्यालयमा कार्यरत शिक्षकलाई आयोगले अन्तर्वार्तामा एक वर्षको एक नम्बर दिने प्रावधान सदुपयोग गर्न झूटो विवरण पेस गरेको पाइएको हो ।

शिक्षक सेवा आयोगका अनुसार जिल्ला शिक्षा कार्यालय कालिकोटबाट नवराज शाही र डमरराज शाहीले धेरै अवधि अस्थायी शिक्षकका रूपमा काम गरेको झूटो विवरण पेस गरेको पाइएको छ । उनीहरूले कार्यावधि बढाएर शिक्षा कार्यालयबाट प्रमाणित गराएको छानबिनमा भेटिएको हो । शिक्षा कार्यालय कालिकोटका अनुसार नवराज र डमरराजले एक/एक वर्ष अवधि बढाएको झूटो विवरण सिफारिस गरेर आयोगमा बुझाएका थिए । आयोगले माध्यमिक तहमा खुलाएको विज्ञापनमा प्रतिस्पर्धा गर्दा अन्तर्वार्तामा उनले ०६० भदौ २८ देखि ०७२ असोज १ गतेसम्म माध्यमिक तृतीय श्रेणी अंग्रेजी विषयमा अस्थायी शिक्षकका रूपमा काम गरेको सिफारिस बनाएका थिए । शिक्षा कार्यालयका अनुसार उनी ०७१ साउन १३ सम्म मात्रै माविमा कार्यरत थिए ।
कालिकोटकै अर्का शिक्षक डमरराजले ०६७ मंसिर १ देखि ०७२ भदौ १८ सम्म अर्थात् चार वर्ष ९ महिना १७ दिनसम्म माविको राहत दरबन्दीमा काम गरेको शिक्षा कार्यालयको सिफारिस आयोगमा पेस गरेका छन् । आयोगले छानबिन गर्दा ०६७ मंसिर १ देखि ०७१ साउन १३ सम्म मात्रै कार्यरत रहेको पाइएको थियो । त्यसयता उनी प्राथमिक स्थायी शिक्षक भएको पाइएको छ ।
आयोगबाट सिफारिस गरेर शिक्षा कार्यालयले नियुक्ति दिइसकेपछि मात्रै उनीहरूले झूटो विवरण पेस गरेको खुलेको थियो । झूटो विवरण पेस गरेको पाइएपछि आयोगले विभागीय कारबाही गर्न शिक्षा विभागलाई सिफारिस गरेको छ । विभागले क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिइसकेको छ । शिक्षक सेवा आयोग नियमावलीको नियम १३५ को ‘घ’ अनुसार कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधे पनि नबुझाएर आलटाल गरेको निर्देशनालय स्रोतले जनाएको छ ।
क्षेशिनिले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘झूटो विवरण पेस गरेकाले किन कारबाही नगर्ने ? कारबाही गर्नर्ु नपर्ने कारण भए एक साताभित्र स्पष्टीकरण पेस गर्नु ।’ स्पष्टीकरणको जवाफ दिनुको सट्टा झूटो विवरण दिने शिक्षकले जागिर जोगाइदिन भन्दै शिक्षामन्त्री धनीराम पौडेललाई निवेदन दिएर हारगुहार गरेको र मन्त्रीले कारबाही नगर्न निर्देशन दिएको क्षेशिनि स्रोतले जनाएको छ ।
नियमअनुसार झूटो विवरण पेस गर्नेलाई हटाएर वैकल्पिक शिक्षकलाई अवसर दिनुपर्छ । मन्त्री, शिक्षा विभागका महानिर्देशकको संरक्षणमा झूटो विवरण पेस गर्नेलाई कारबाही गर्न पछि हटेको वैकल्पिक उम्मेदवारको आरोप छ ।
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया