काठमाडौं ८ कात्तिक / पुतलीसडकस्थित अमन उच्च माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डलाई विद्यार्थी रजिस्ट्रेसन शुल्क बुझाउँदा किर्ते गर्दै आएको पाइएको छ । बैंकमा पाँच हजार रुपैयाँ जम्मा गरेर अगाडि दुई थपी २५ हजार तिरेको भौचर बोर्डमा बुझाउने गरेको पाइएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको काठमाडौं कार्यालयको बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेर भौचरमा २५ हजार बनाएर बोर्डको कार्यालयमा बुझाउने गरेको पाइएको हो । सो उच्चमाविले अघिल्लो वर्ष पनि पाँच हजार तिरेर २५ हजार बनाएको पत्ता लागेको छ ।
संस्थापक अली पक्राउ
किर्ते गर्ने अमन उमाविका फाउन्डर अनवर अलीलाई प्रहरीले पक्राउ गरेको छ । बोर्डको काठमाडौं कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले पक्राउ गरी महानगरिय प्रहरी वृत्त गौशालामा बुझाएका छन् । बोर्डले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत जानकारी गराइसकेको छ । महानगरीय प्रहरी वृत गौशालाका प्रमुख डिएसपी नवराज कार्कीले किर्ते गर्ने व्यक्ति पक्राउ परेको र आवश्यक अनुसन्धान भइरहेको बताए । अलीले आफूले किर्ते गरेको स्वीकार गरेको काठमाडौं कार्यालयका प्रमुख शर्माले बताए ।
सम्बन्धन खारेजसम्मको कारबाही
किर्ते गर्ने उमाविलाई सम्बन्धन खारेजसम्मको कारबाही हुन सक्ने शर्माले बताए । अघिल्लो वर्ष पनि यस्तै किर्ते गरेको आशंका लागेपछि बोर्डका अधिकारीले अमन उमाविप्रति ध्यान राख्दै आएका थिए । ‘रिकन्साइल’ गर्दा अघिल्लो वर्ष पनि किर्ते गरेको पत्ता लागेको थियो । प्रहरीको थप अनुसन्धानपछि कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ । बोर्डले सो उमाविको अवस्थाबारे पनि अनुगमन गर्ने तयारी गरेको छ ।
किर्ते गरेको बैंकबाट पुष्टि
अमन उमाविले किर्ते गरेको बैंकबाट समेत पुष्टि भएको छ । बोर्डका काठमाडौं कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले वाणिज्य बैंकबाट अमन उमाविको नाममा पाँच हजार जम्मा भएको पत्रसमेत प्राप्त भएको बताए । बोर्डले जानकारी मागेपछि गत ११ असोजमा बोर्डका नाममा अमन उमाविले पाँच हजार जम्मा गरेको चिठी पठाएको छ । अमन उमाविले बैंक भौचरमा उल्लेख गरेको पा“च हजारको अगाडि अंकमा दुई थपेर अक्षरमा ‘पाँच’लाई ‘पच्चिस’ बनाएको छ ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर ।
प्रतिक्रिया