Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

विदेशी डिग्रीका नाममा ५ सय विद्यार्थी ठगिए

आइतबार, ०७ कार्तिक २०७३

काठमाडौं ७ कात्तिक / विदेशी डिग्री स्वदेशमै सस्तोमा अध्ययन गराउने झुटो सूचनाका आधारमा राजधानीको एक कलेजमा अध्ययन गरेका सयौं विद्यार्थीको शैक्षिक योग्यताले मान्यता नपाउने भएको छ । मान्यता नपाएपछि विद्यार्थीको मिहिनेत खेर गएको छ भने उनीहरूको शैक्षिक भविष्यसमेत अन्योलमा परेको छ । पढाइ सकिए पनि प्रमाणपत्रले मान्यता नपाएपछि सयौं विद्यार्थी ठगिएका छन् ।

भारतको कर्नाटका स्टेट ओपन युनिभर्सिटीको कार्यक्रम सञ्चालन गर्ने राजधानीको इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आईसीएचएम) मा स्नातक तहमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरूको प्रमाणपत्रले मान्यता नपाएको हो । यसबाट विद्यार्थीहरू माथिल्लो तह अध्ययन गर्नबाट वञ्चित भएका छन् ।

भारतको विश्वविद्यालय अनुदान आयोगले कर्नाटका स्टेट ओपन युनिभर्सिटीलाई २०१२ देखि नै विद्यार्थी भर्ना गर्न रोक लगाएको थियो । तर, आईसीएचएमले दुई वर्षअघिसम्म उक्त विश्वविद्यालयको कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेको थियो । यो कलेजले ६ वर्ष अघिदेखि स्नातक तहमा बीएस्सी एचसीएमको कार्यक्रम चलाउन थालेको हो । कलेजले यो कार्यक्रमका लागि ३ लाखदेखि ५ लाख रुपैयाँसम्म लिएको विद्यार्थीहरूले जनाएका छन् । मन्त्रालयका अनुसार यो कलेजबाट पाँच सयभन्दा बढी विद्यार्थीले अध्ययन गरेका छन् । कलेजले आफूलाई ठगेको भन्दै विद्यार्थीहरूले कलेजविरुद्ध छानबिन गर्न प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका छन् ।

यो विश्वविद्यालयलाई अन्य देशका विश्वविद्यालयले मान्यता नदिएकाले विद्यार्थीहरूको भिसासमेत अस्वीकृत हुने गरेको छ । विद्यार्थीहरू अनन्तराज अधिकारी र विजय तिमल्सिनासहितले अस्ट्ेरलिया जाने प्रयास गर्दा भिसा अस्वीकृत भएको कागज पेस गर्दै प्रहरी कार्यालयमा गुहारेका छन् । ‘मैले अध्ययन गरेको विश्वविद्यालयको डिस्ट्यान्स मोडललाई मान्यता नदिएपछि अस्ट्रेलियाको विश्वविद्यालयले अफरलेटर समेत दिएन,’ एक वर्षअघि अध्ययन सकाएका विजय तिमल्सिनाले भने । अध्ययन सकाएको महिनौं हुँदा पनि कतिपय विद्यार्थीले प्रमाणपत्रसमेत पाएका छैनन् ।

भारतको विश्वविद्यालय अनुदान आयोगले राज्यस्तरका विश्वविद्यालयले आफ्नो राज्यभन्दा बाहिर अध्ययन केन्द्र खोल्न प्रतिबन्ध लगाएको छ ।

आफ्नो कार्यक्षेत्रभन्दा बाहिर केन्द्र खोलेकै कारण यसलाई अनुदान आयोगले कारबाही गरेको छ । ‘विश्वविद्यालय नै खारेज भएपछि यहाँ पढेका विद्यार्थीको प्रमाणपत्रले समेत मान्यता पाउन
छाड्यो,’ आईसीएचएममा होटल म्यानेजमेन्ट सकाएका सुशोभित नेपालले भने, ‘यही विश्वविद्यालयमा अध्ययन गरेका म जस्तै पाँच सय विद्यार्थीहरूको सर्टिफिकेट पनि काम नलाग्ने भयो ।’ विद्यार्थीहरूले आफूहरू ठगिएको भन्दै छानबिन गर्न अपराध अनुसन्धान महाशाखालाई पनि गुहारेका थिए । तर महाशाखाले वास्ता नगरेपछि अनुसन्धान गरिदिन भन्दै प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा निवेदन दिएका छन् । उजुरीका विषयमा छानबिन भइरहेको सीआईबीले जनाएको छ ।

विद्यार्थी र अभिभावकहरूले आईसीएचएमले ठगी गरेको भन्दै उजुरी दिएपछि अख्तियारले छानबिन गर्न मन्त्रालयलाई सुझाव दिएको थियो । मन्त्रालयले उपसचिव राधाकृष्ण घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेकोमा त्यसले मन्त्रालयमा प्रतिवेदन समेत बुझाइसकेको छ ।

आईसीएचएमले मन्त्रालयबाट अनुमतिसमेत नलिएको जर्जियाको गोगरशाली विश्वविद्यालयबाट अनुमति लिएरसमेत विद्यार्थी भर्ना लिएको छानबिन समितिले औंल्याएको छ । यो तथ्यले आईसीएचएमले विद्यार्थीसँग लाखांै ठगी गरेको प्रस्ट हुन्छ । मन्त्रालयको अनुमति नलिएको विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेको उल्लेख भए पनि कारबाहीको सिफारिस गरिएको छैन । प्रतिवेदनअनुसार सन् २०१३ मा ९२ जना र ०१४ मा ९५ जना गोगरशालीमा क्रेडिट ट्रान्सफर गरेको देखिएको छ । यो कलेजले हंगेरीको बुढापेस्ट विश्वविद्यालयबाट मात्रै सम्बन्धन लिएको मन्त्रालयले जनाएको छ । सन् २०१५ र ०१६ मा बुढापेस्टमा ४२ जनाको क्रेडिट ट्रान्सफर गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । समितिमा घिमिरे, लेखा अधिकृत भोला पौडेल र शाखा अधिकृत वंशी सापकोटा थिए ।

कर्नाटका स्टेट ओपन विश्वविद्यालयको पाठ्यक्रमको छैटौं सेमेस्टरका विद्यार्थीले २०१५ मा अन्तिम परीक्षा दिएका थिए । अहिलेसम्म नतिजासमेत नआएपछि उनीहरू चिन्तित छन् । ‘२०१४ मा दिएको पाँचौं सेमेस्टरको रिजल्ट पनि अझै भएको छैन,’ सन्देश राजभण्डारीले भने, ‘विश्वविद्यालय बन्द भएपछि विद्यार्थीहरूले नतिजाको आस मारिसकेका छन् ।’

बुढापेस्ट विश्वविद्यालयबाट सम्बन्धन लिएको भनिए पनि त्यसको पाठ्यक्रमअनुसारसमेत पढाइ नभएको विद्यार्थीको आरोप छ । कलेजले २०१५ देखि एलसीसीआईको एडभान्स डिप्लोमा कोर्स पढाउन सुरु गर्‍यो । यो कोर्स एसएलसी फेल भएकाले पनि अध्ययन गर्न पाउने कोर्स हो । तर, प्लस टु पास भएकालाई भर्ना गरेर डिप्लोमाको कोर्स पढाइरहेको विद्यार्थीको आरोप छ । ‘दुई वर्षे यो कोर्स पूरा गरेपछि युनिभर्सिटीमा क्रेडिट ट्रान्सफर गरिदिने आश्वासन कलेजले दिएको थियो,’ एक विद्यार्थीले भने, ‘अझै पूरा गरेको छैन ।’

कलेज सञ्चालक शिवकुमार श्रेष्ठले विश्वविद्यालय बन्द भएपछि कलेजमा अध्ययन गर्ने ९२ जनालाई अन्यत्र क्रेडिट ट्रान्सफर गरिसकेको बताए । ‘यो समस्या मैले निम्त्याएको होइन । विश्वविद्यालय नै समस्यामा परेपछि यस्तो भएको हो,’ उनले भने, ‘यहाँ पढेको डिग्रीको मान्यता नहुने भन्ने हुँदैन । अस्ट्रेलियाबाहेक अन्यत्र अध्ययन गर्न गइरहेका छन् ।’ उनले भने, ‘कुनै समस्या भएको छैन ।’

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया