काठमाडौं ७ कात्तिक / नेपालका लागि नर्वेका राजदूत स्येल टोर्मोड पेटर्सन र जर्मनीका राजदूत माथियास मेयर करिब पाँच घन्टा साँघुरो र उकालो बाटो हिँडेर धादिङ सेम्जोङ पुग्दा गाउँभरिका विद्यार्थी र अभिभावकको भीड लाग्यो ।
राजदूतको स्वागतका लागि डेढ वर्षअघि भूकम्पले भवन भत्काएपछि पाल र जस्ताको टहरोमा पढिरहेका शान्ति प्राथमिक विद्यालयका विद्यार्थीले परम्परागत नृत्य प्रस्तुत गरे । अभिभावक खानाको प्रबन्धमा जुटे । विद्यार्थी र अभिभावकको स्वागतले दंग परेका राजदूतले आफैं ढुंगा, बालुवा र सिमेन्ट तयार पारेर विधिवत् पूजा-आराधना र बाजागाजाबीच विद्यालय शिलान्यास गरे । सुरक्षित अध्ययनको आसमा रहेका विद्यार्थी छिट्टै त्यस्तो सुविधा पाउने विश्वासमा छन् ।
नर्वेको आर्थिक सहयोगमा जर्मन विकास सहयोग (जीआईजेड) को नेपाल जर्मन रिकभर प्रोग्रामले पुनर्निर्माण गर्न लागेको सेम्जोङको शान्ति प्राथमिक विद्यालयसँगै गैरा निम्न माध्यमिक विद्यालय, चौतारा उच्च माध्यमिक विद्यालय, बौद्ध प्राथमिक विद्यालय, थला प्राथमिक विद्यालय, इन्दिरादेवी प्राथमिक विद्यालय, जिल्लाकै जीवनपुर गाविसको कुलचन्द्र उच्च माध्यमिक विद्यालय र त्रिकुटेश्वरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी पनि त्यस्तै हर्षित भएका छन् ।
भूकम्पबाट ध्वस्त बनेका यी विद्यालयको पुनर्निर्माण तीव्र बनेको छ । उनीहरूलाई नयाँ विद्यालय बनाइदिन नर्वेली र जर्मन राजदूत आफैं उकालोओरालो गर्दै गाउँ धाउन थालेका छन् । विद्यालय पुनर्निर्माणको कामलाई सरकारका प्रतिनिधिले पनि साथ दिएका छन् । 'हामी यो ठाउँमा आएर पुनर्निर्माणमा जुट्न पाउनु गर्वको कुरा हो', नर्वेली राजदूत स्येलले खुसी व्यक्त गर्दै भने, 'हामी चाहन्छौं यो क्षेत्रका बालबालिकालाई अध्ययन गिर्न भौतिक पूर्वाधार बाधक नबनोस् । नेपाल सरकारले साथ नदिएको भए यहाँसम्म हाम्रो सहयोग आउने थिएन ।'
धादिङसँगै भूकम्पले ध्वस्त बनाएका रसुवाका चार र नुवाकोटका दुई विद्यालयको पुनर्निर्माणमा पनि नर्वे र जर्मनी जुटेका छन् । विद्यालय पुनर्निर्माणमा जुटेका जीआईजेडका सिनियर इन्जिनियर उद्धव नेपालका अनुसार तीन जिल्लाका १४ वटा विद्यालय पुर्निर्माणका लागि नर्वेले २३ करोड रकम छुट्ट्याएको छ । विद्यालय पुनर्निर्माणका लागि गत मार्चमा शिक्षा मन्त्रालय, जीआइजेटड र रोयल नर्वेजियन दूतावासबीच सम्झौता भएको थियो ।
कस्ता बन्दैछन् विद्यालय ?
पहाडको आडैमा ढुंगा, माटो र जस्तापाताले निर्माण गरिएका भवन भूकम्पले क्षतिग्रस्त बनाइदिएपछि कतिपय विद्यालयले जस्तापाताको टहरोमा पढाउँदै आएका छन् भने कतिपयले भत्किएकै भवनमा पढाइरहेका छन् । अहिले ती विद्यालयमा भूकम्पप्रतिरोधी भवन बनाइँदैछ । तिनमा कक्षाकोठा, खानेपानी, शौचालय, प्रशासन, पुस्तकालयलगायत सुविधा हुनेछ । विद्यार्थीका लागि खेल्ने ठूलो चौर, वरिपरि फूलबारी र पहिरो रोक्न बिरुवा रोपिनेछ ।
इन्जिनियर नेपालका अनुसार बालमैत्री, प्राकृतिक प्रकोप थेग्नसक्ने, लैंगिकमैत्री र स्वस्थ वातावरणमैत्री विद्यालय बन्न लागेका छन् ।
दीपा दाहालले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।
प्रतिक्रिया