काठमाडौं ४ कात्तिक / त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालय (केयू) ले विस्तारित कार्यक्रमको नाममा एक निजी मेडिकल कलेजलाई ‘षड्यन्त्रपूर्वक चोर बाटो’ बाट सम्बन्धन दिने अन्तिम तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । सम्बन्धन दिएबापत केयूमा विगतमा विवादमा मुछिएका पदाधिकारीलाई पुन: अर्को पदावधिका लागि नियुक्ति गर्ने गरी सौदाबाजी हुन लागेको दाबीसमेत केसीको छ ।
डा.केसीले बुधबार विज्ञप्ति जारी गर्दै नयाँ चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा नआएसम्म मुलुकमा नयाँ मेडिकल शिक्षण संस्थालाई कुनै पनि रूपमा खुल्न नदिने राज्यको घोषित नीतिविपरीत प्रक्रिया सुरु भएको उल्लेख गरेका छन् । चिकित्सा शिक्षा ऐन हाल संसद्मा विचाराधीन छ ।
औपचारिक रूपमा आफूसँग भएका सम्झौता कार्यान्वयन गर्ने वचन दिइरहेको राज्यले यस्तो छलछाम गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको डा.केसीको भनाइ छ । उनले विज्ञप्तिमा विश्वविद्यालयजस्ता प्राज्ञिक निकायका पदाधिकारीको नियुक्ति लेनदेन, प्रलोभन र भ्रष्टाचारको जगमा हुँदा तिनको कार्य सम्पादन अवरुद्ध तथा तेजोवध हुने उल्लेख गरेका छन् । गम्भीर अनियमिततामा संलग्न भइसकेका पदाधिकारी पुन: निहित स्वार्थका लागि कुनै निजी संस्थाको सम्बन्धन जस्तो काममा राज्यको समग्र नीति नियम कुल्चन अग्रसर हुनु स्वाभाविक भए पनि आफूले त्यसो हुन नदिने डा.केसीले उल्लेख गरेका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया