काठमाडौं - नयाँ शिक्षा ऐनले पनि आफूहरुलाई न्याय नगरेको भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले रिले अनसन शुरु गरेका छन् । मकवानपुरका रामप्रसाद गौतम र झापाका नारायणप्रसाद दाहाल पहिलो दिनको अनसनमा सहभागि छन् । २४ घण्टा पछि अर्को टोलीले अनसन शुरु गर्ने छ र उनीहरु उठ्ने छन् । यो क्रम ३ दिन जारी रहने छ । यो विचमा आफ्ना मागहरुका बारेमा कुनै पनि सुनुवाई नभए बिहीबार र शुक्रबार देशभरका सामुदायिक विद्यालयमा पठन पाठन बन्द गराउने अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिको पूर्वघोषित कार्यक्रम यथावत रहेको अध्यक्ष निरेन्द्र कुवँरले बताए ।
बुधबार प्रधानमन्त्री निवास अघिल्तिर धर्नामा बसेका कुवँर सहित अस्थायी शिक्षकका प्रतिनिधि र शिक्षा मन्त्री धनिराम पौडेलविच भएको छलफलमा अस्थायी शिक्षकका मागका बारेमा शिक्षक महासंघको रोहवरमा छलफल गर्ने सहमती भएको थियो ।
पढ्नुहोस् : अस्थायी शिक्षकको मागबारे महासंघको रोहवरमा छलफलको तयारी
तर, बुधबार दिउँसो सम्म कुनै छलफल शुरु भएको छैन ।
'कि भने हाम्रो माग नाजायज हो भन्नु पर्यो हैन भने यस बारेमा महासंघले पनि छलफल गर्नु पर्यो' कुवँरले भने, 'हामीसंग मन्त्रालय जहिले पनि महासंघसँग भएको सहमती देखाउँदै पन्छिने, महासंघ चाँही अघि नसर्ने हुनु भएन भन्ने हाम्रो भनाई हो ।'
बुधबार मन्त्री संग भएको छलफल पछि मन्त्रालय र महासंघ कसैसँग पनि कुनै कुरा नभएको उनले बताए । उनीहरु छलफलमा भए थाह भएन तर हामीलाई अहिले सम्म वास्ता गरिएको छैन उनले भने ।
अस्थायी शिक्षकलाई अवकास र प्रतिस्पर्धा मध्ये एक रोज्ने गरी शिक्षा ऐनमा भएको ब्यवस्थामा परीक्षा रोज्ने अस्थायी शिक्षकले परीक्षाको नतिजा पछि पनि गोल्डेन ह्याण्डसेक पाउनु पर्ने समितिको माग छ ।
प्रतिक्रिया