Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

अस्थायी शिक्षक व्यवस्थापन नीतिमै खोट !

विहीबार, २० असोज २०७३

भक्तपुर – लामो समय देखि उल्झनमा रहेको अस्थायी शिक्षक समस्या समाधानमा शिक्षा ऐन सकारात्मक रहेको विश्लेषण भईरहँदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उक्त नीतिमा खोट रहेको दावी गरेका छन् ।

उक्त नीतिमा शिक्षा मन्त्रीदेखि सरकारमा सहभागी हुने राजनीतिक दलहरुका कार्यकर्ताहरुलाई मात्र स्थायी गर्ने नियत लुकेको उनको तर्क छ । सांसद समेत रहेका विजुक्छेले अस्थायी शिक्षकहरुलाई बिदाई र अयोग्य घोषणा गर्नुको पछाडि शिक्षामन्त्रीकै स्वार्थ लुेकेको बताए ।

नेमकिपा आवद्ध शिक्षकहरुको संगठन नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुरको चौथौं जिल्ला सम्मेलनमा बोल्दै उनले नियमावली नै नआईकन अस्थायी शिक्षकको सन्दर्भमा लिएको निर्णय अपूर्ण रहेको बताए । अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्ने नाममा सरकारले लिएको निर्णयमा शिक्षा मन्त्रीका आफ्ना मान्छेलाई स्थायी गर्ने षड्यन्त्र भएको उनको दावी छ ।

‘अस्थायी शिक्षकहरुको सन्दर्भमा परीक्षा कस्तो लिने ?’ प्रतिप्रश्न गर्दै उनले भने,  ‘शिक्षा मन्त्रालयको कर्मचारीमात्र होइन कि शिक्षा मन्त्रीलाई समेत म फेल गराउँछु ।’

शिक्षा ऐनको आठौं संसोधनमा अस्थायी शिक्षकहरुलाई स्वेच्छिक अवकास रोजेर गोल्डेन ह्यान्डसेक लिने वा प्रतिस्पर्धामा सहभागि हुने  भन्ने दुई विकल्प राखिएको छ । प्रतिस्पर्धामा सहभागि हुन चाहने शिक्षकले पनि गोल्डेन ह्यान्डसेकमा सहभागि हुन पाउन पर्ने भन्दै अस्थायी शिक्षक आन्दोलनरत छन् ।

‘आफ्नो मान्छे भर्ना गर्न यस्तो किसिमको जालझेल गर्छ, गरिआएको पनि यही हो, शिक्षा मन्त्रीको काम भनेको आआफ्ना मान्छेलाई स्थायी गर्ने हो ।’ बिजुक्छेंको भनाइ छ ।

उनले शिक्षकहरु समाजका सबैभन्दा सचेत वर्ग भएको कारण शिक्षकहरुले राजनीति गर्नुपर्नेमा जोड दिँदै शिक्षकहरुले गर्ने राजनीति विद्यार्थीको लागि, विद्यालयको हितको लागि हुनुपर्नेमा जोड दिए ।
‘राजनीति गरेको आधारमा कक्षा नै नलिइकन तलबमात्र खानु भनेको राजनीति होइन, ठगी काम हो, त्यसको हामी विरोधी हौं ।’ उनले भने ।

अर्को प्रसंगमा हालै मात्र शिक्षा अधिकारीहरुलाई गरिएको सरुवाका सन्दर्भमा बिजुक्छेंले शिक्षा मन्त्रीले पैसा कमाउने बाटो रोजेको आरोप लगाए । ‘शिक्षा मन्त्री शिक्षा अधिकारीहरु परिवर्तन गरेर, शिक्षा अधिकारीहरु स्कुल स्कुलका प्रिन्सिपल र सञ्चालकहरुसँग पैसा माग्छन् ।’

उनले अहिलेसम्ममा आफूमात्रै शिक्षा मन्त्रालय र शिक्षा मन्त्रीको आलोचक रहेको उल्लेख गर्दै अहिलेसम्मका शिक्षा मन्त्रीहरु शिक्षालाई कसरी गुणस्तरीय बनाउने, शिक्षकलाई कसरी राम्रो बनाउने, शिक्षकका समस्यालाई कसरी समाधान गर्ने भन्ने चिन्तनमा नलाग्दा समस्या अझ बल्झिएको बताए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, नेमकिपाका रमेश थापाले पनि शिक्षकहरुको भूमिका बारेमा बोलेका थिए ।

प्रतिक्रिया