काठमाडौं– नेपालका मेडिकल कलेजको नियामक निकाय नेपाल मेडिकल काउन्सिलको नियमित बैठक पनि बस्न नसकेका वेला विश्वविद्यालयहरुले ‘एमबीबीएस’ तहमा आफुखुशी सिट निर्धारण गरेर विद्यार्थी भर्ना शुरु गरेकोमा काउन्सिलले आपत्ती जनाएको छ । त्रिभुवन विश्वविद्यालयले यसअघि नै आफु अन्र्तगतका मेडिकल कलेजहरुको सिट निर्धारण गरिदिएको थियो भने काठमाडौं विश्वविद्यालय अन्र्तगतका कलेजमा पनि विश्वविद्यालयले निर्धारण गरेको सिटका आधारमा कलेजहरुले विद्यार्थी भर्ना शुरु गरेका छन् ।
नियामक निकाय काउन्सिलले भने प्राबिधिक कारणले बैठक बस्न ढिलाई भएको जनाउँदै तत्काल बैठक बसेर कलेजहरुको सुपरिक्षण गरेर अनिमात्र सिट निर्धारण गरिदिने जनाएको छ । विश्वविद्यालयले काउन्सिललाई ‘वाईपास’ गरेर आफुखुशी निर्धारण गरिएको जनाउदैं कलेजहरुका निर्धारित सिट मान्य नहुने जनाएको छ ।
काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले विश्वविद्यालयहरुले आफुखुशी सिट निर्धारण गरेको जानकारी गराउदै त्यसलाई जस्ताको तस्तै अनुमोदन गर्नुपर्छ भन्ने वाध्यता नरहेको बताए । उनले विश्वविद्यालयहरुले आफुखुशी निर्धारण गरेको सिट थप नहुने र काउन्सिलले घटाउन सक्ने बताए । उनले भने ‘कलेजहरुको अहिलेको सिटमा थप हुदैन अझै घट्न सक्छ ।’ रजिष्ट्रार शर्माले उनीहरुले गरेको सिफारिसलाई काउन्सिलले मान्नु पर्ने वाध्यता नरहेको बताए ।
रजिष्ट्रार शर्माले काउन्सिल बैठक बसेर कलेज सुपरिवेक्षणमा जाने जानकारी गराए । अनिमात्र कलेजहरुको बास्तविक सिट निर्धारण हुने उनको भनाई छ । रजिष्ट्रार शर्माले मन्त्रालयबाट सोमबार पत्र आएको जानकारी गराउदै वैठक बस्ने जानकारी गराए ।
काउन्सिल सदस्यको नियुक्तिको विषयमा अख्तियारले प्रश्न उठाए पछि जेठमा बस्न लागेको यसबर्षको पहिलो बैठक स्थगित भएको थियो । त्यसपछि काउन्सिलले भदौको ७ र ८ गतेका लागि बैठक बस्ने भन्दै दोस्रोपटक मिति तोकेको थियो । बैठकले कलेजहरुको सिट र शुल्कका तोक्ने उनले जानकारी गराए ।
मेडिकल कलेज संचालकहरुले भने विश्वविद्यालयले निर्धारण गरेको सिटमा धमाधम विद्यार्थी लिएका छन । यस बर्षका लागि सरकारी शुल्क निर्धारण समितीले न्युनत्तम ३२ देखि ७३ लाख रुपैयाँसम्म शुल्क निर्धारुण गर्न सिफरिश गरेको छ । त्यसै आधारमा कलेजहरुले विद्यार्थीहरुसँग अधिक शुल्कका लागि बार्गेनिङ गर्दै विद्यार्थी भर्ना शुरु गरेका छन् ।
त्रिबि अन्र्तगतका ९ मेडिकल कलेजमा विद्यार्थी भर्ना समपन्न भएको छ । केयुले पनि गत आईतवार लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेर विद्यार्थी भर्ना लिन शुरु गरेको छ । केयु अन्र्तगतका १० मेडिकल कलेजलाई विश्पविद्यालयले न्युनतम् २४ देखि १ सय १५ सिटसम्म निर्धारण गरिदिएको छ । त्यसै अनुसार कलेजहरुले विद्यार्थी भर्ना शुरु गरेका छन् । १० कलेजमा एमबिबिएसका लागि विश्वविद्यालयले कुल ९ सय ६१ सिट तोकिदिएको छ । त्यस मध्ये न्युनतम् ९ देखि ५७ सिट प्रति कलेज विदेशी विद्यार्थीका लागि निर्धारण गरिदिएको छ । केयु अन्र्तगतका १० कलेजले ३ सय ८५ विदेशी र ५ सय ७६ नेपाली विद्यार्थी भर्ना लिन पाउनेछन् ।
निजी मेडिकल कलेज आवद्ध एशोसियनका अध्यक्ष डा. शुरेस कनोडियाले काउन्सिलले बैठक बसेर सिट निर्धारण गर्न ढिला गरेकोले विश्वविद्यालयले आफै सिट निर्धारण गरेको जानकारी गराए । विश्वविद्यालयले गरेको सिट निर्धारण हचुवाका भरमा नरहेको उनले स्पष्ट पारे । विश्वविद्यालयले दुई बर्ष अघिसम्म १ सय ५० सिट क्षमतामा संचालित कलेजहरुलाई अहिले १ सय १५ सिटमा सिमित गरिदिएको उनले बताए । डा. केसीको आन्दोलनका कारण मापदण्ड विना नै १ सय ५० सिट क्षमतामा सञ्चालन भएका मेडिकल कलेजलाई केदारभक्त माथेमा कमिटीको सिफारिशलाई कार्यन्वयन गर्दै विश्वविद्यालयले मापदण्ड विनाका कलेजहरुको सिटमा कटौती गरर सिट निर्धारण गरेको जनाएका छन् ।
प्रतिक्रिया